पोलियो थोपा खुवाउने टोलीमाथि आक्रमण, दुईको मृत्यु
इस्लामावाद : अफगानिस्तानको सीमानासँग जोडिएको पाकिस्तानको आदिवासी इलाकामा आतंकवादीले पोलियोको औषधि खुवाउने टोलीमाथि आक्रमण गरेका छन् ।
यो आक्रमणमा २ जनाको ज्यान गएको छ। आतंकवादीको टिमले ३ जनालाई बन्धक पनि बनाएका छन् । अघिल्लो महिना पनि कराँचीको एक स्कुलमा पनि पोलियोको औषधि खुवाउने टोलीमाथि आक्रमण भएको थियो ।
एजेन्सीका अनुसार सफी तहसिलमा पोलियोको औषधि खुवाउने सात सदस्यीय टोलीमाथि आतंकवादीले हमला गरेका हुन् ।
आतंकवादीहरुले २ जनालाई गोली हानी हत्या गरेका छन् भने तीनलाई बन्धक बनाएका छन् । अन्य दुईजना भने आतंकवादीको कब्जाबाट भाग्न सफल भएका छन् । भागेकाहरुले घलानईमा आफ्नो हेडक्वार्टर पुगेर हमलाको जानकारी दिएका थिए ।
पाकिस्तानमा पोलियोको टोलीमाथि हमला गरेको यो पहिलो घटना भने होइन । अघिल्लो महिना कराचीमा एक स्कुलमा बच्चालाई सुई लगाउन गएको पोलियोको टोलीमाथि पनि आक्रमण भएको थियो ।
कराँचीमै आतंकवादीहरुले एक महिला कर्मचारीमाथि पनि हमला गरिदिएका थिए । कराची, पेशावर समेत पुरै देशभरी पोलियोको टोलीमाथि हमला हुने गरेको छ ।
पाकिस्तानमा कयौँ कट्टरपन्थी संगठनले पोलियको थोपा खाँदा या सुई लगाउन मुस्लिमहरुलाई बाध्य पारेको आरोप लगाउने गरेका छन् । साथै उनीहरुले पोलियको टोलीले जासुसी पनि गर्ने गरेको आरोप लगाएका छन् ।