कर्मचारीलाई प्रधानमन्त्रीको चेतावनी: गलत गर्ने कसैलाई छोड्दिन
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रतिको दायित्वबोध गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आइतवार सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरु र उच्च पदस्थ कर्मचारीहरुलाई करिब डेढ घण्टासम्म निर्देशन दिँदै अब काम गर्नु बाहेक विकल्प नरहेको जोड दिए ।
'अब काम गर्नुको विकल्प नै छैन, अहिलेको असाधारण अवस्थालाई बुझेर तपाईँहरुले काम गर्नुस्', प्रम ओलीले भने, 'यो सरकार पहिलेको जस्तो साधारण होइन, असाधरण दायित्वसहित बनेको छ, त्यसैले अब देश र जनताप्रतिका असाधरण दायित्व बुझेर काम गर्नुस् ।'
कर्मचारीलाई निर्देशन दिँदै कडा रुपमा प्रस्तुत भएका ओलीले अब गलत काम गर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए । 'अब सरकारले गलत काम गर्ने कसैलाई पनि छाड्दैन, सरकारले पहिलो प्रयासस्वरुप राजस्व चुहावटविरुद्ध अभियान सुरु गरिसकेको छ', ओलीले भने, 'राजस्व संकलनसहित सरकारका काममा अवरोध गर्ने जोसुकैलाई हामी कानुनी दायरामा ल्याएर छाड्छौँ ।'
प्रम ओलीले निर्देनात्मक सम्बोधन गरेको कार्यक्रममा मन्त्रिपरिषद्का सदस्यहरु पनि सहभागी थिए । ओलीले एक महिनाकोबीचमा तीन पटक मन्त्रिमण्डल विस्तार गरेपछि कर्मचारीलाई 'एक्सन' मा जान भन्दै निर्देशन दिएका हुन् ।