काश्मीरमा भिडन्त, कम्तिमा पाँचको ज्यान गयो
श्रीनगर: जम्मु-काश्मीरको भारत-पाकिस्तान सीमानजिकै बालाकोट क्षेत्रमा दुई देशका सेनाबीच भिडन्त हुँदा एकै परिवारका पाँच सर्वसाधरण मारिएका छन् ।
भारतीय सञ्चारमाध्यमले पाकिस्तानले गरेको मोटार्र आक्रमणमा एकै परिवारका पाँचजनाको ज्यान गएको दाबी गरेका छन् । यो घटनामा कम्तिमा २ जना घाइते भएका छन् ।
एक पुलिस अधिकारीका अनुसार भिडन्तका क्रममा सीमासँगै जोडिएको देवता धार गाउँमा चौधरी मोहम्मद रमजानको घरमै मोटार्र खस्दा एक महिला र एक बालिकासहित पाँचको ज्यान गएको हो ।
भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दका अनुसार पाकिस्तानी पक्षले आइतवार बिहान पौने आठ बजे भिम्बर गली क्षेत्रमा गोलाबारी गरेको थियो । त्यसपछि दुई पक्षको भिडन्तमा यो हताहती भएको हो ।
जम्मु-काश्मीरमा डीजीपी एसपी वैदले ट्वीट गर्दै पुन्छ जिल्लास्थित पाकिस्तानसँग सिमाना जोडिएको क्षेत्रमा ५ जनाको ज्यान गएको र २ घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।