उत्तर कोरिया र अमेरिकाको वार्ता फिनल्यान्डमा
हेलसिन्की : अमेरिका र उत्तर कोरियाका अधिकारीहरू आइतबार फिनल्यान्डको हेलसिन्कीमा भेट्ने भएका छन्।
गत मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा शुरु भएको हो। सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरू अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
उत्तर कोरियाली विदेशमन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुईदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की आइपुगेको यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ। साथै आइतबार नै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि यहाँ आइपुगेका छन्। उनीहरूबीच आइतबारै साँझ यहाँ अनौपचारिक भेटघाट भएको दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ।
यो कुराको पुष्टि फिनल्यान्डको विदेश मन्त्रालयले पनि गरेको छ। उक्त दैनिकका अनुसार विदेशमन्त्रालयले यी दुई अधिकारीहरूको भेटवार्ताको चाँजो मिलाएको हो।
फिनल्यान्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूतावासमा शुरु भएको जानकारी गराएको छ। फिनल्यान्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले उक्त वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्यान्डले गरेको पुष्टि गरे। साथै उनले यस वार्ता अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले र त्यसका लागि व्यवस्थापनको काम गरिएको जानकारी दिए।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका गएका थिए। उनको भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले प्योङयाङको वार्ता प्रस्ताव स्वीकार गर्दै उत्तर कोरियाली नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको स्पष्ट पारेका थिए।
उत्तर कोरियासँग गर्न लागेको वार्ता सफल हुनेछ र यसले हामीबीचका सबै कुरामा पनि खुलेर कुरा गर्ने अवस्था आउने ट्रम्पले जानकारी दिएका थिए। उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने वाचा गरेकाले वार्ताका लागि आफू उत्साहित भएको अमेरिकाले खुलासा गरेको थियो।
यसबीचमा राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनसँग सम्पर्क गरेका थिए। ती देशहरूबाट वार्तालाई समर्थन र सहयोग रहेको उनको दाबी थियो। उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो। उक्त वार्ताको तयारीका लागि यी अधिकारीहरू अगावै भेट्न खोजेको र हेलिसिन्की वार्ताले त्यसलाई गति दिने अनुमान गरिएको छ।