अस्पताल ल्याएको बिरामीलाई झाँक्री लगाउँन भन्दै घर फर्काइयो
गोरखा : बारपाक स्वास्थ्य चौकीका प्रमुख अनील शाहको मोबाइलमा राति नौ बजे घण्टी बज्यो । केशबहादुर घलेले फोनमा आफ्नो परिचय दिए । नौ महिनाको बच्चा बिरामी भएपछि उपाय जान्न फोन गरेको व्यहोरा घलेले सुनाए । स्वास्थ्य सहायक शाहले बिरामी बच्चालाई तत्काल हेल्थ पोस्टमा ल्याउन आग्रह गरे । तर, बच्चाको बाआमा हेल्थ पोस्टमा जानै नमानेको दुखद् खबर शाहलाई सुनाए ।
‘बच्चालाई जसरी पनि उपचार त गर्नुपर्छ भनेर करबल गरें’, शाहले भने, ‘बल्लतल्ल राति साढे नौ बजेतिर स्वास्थ्य चौकीमा झिकाएँ । नौ महिनाकी सबिना गुरुङलाई निमोनियाले ग्रस्त पारेको रहेछ । यस्तो हुँदा पनि आमाबुबाले झाँक्री लगाएर बसिरहेका रहेछन् । मलाई त अचम्म लाग्यो ।’ उनले उपलब्ध हुने सामान्य उपचार सेवा दिए र तुरुन्त गोरखा जिल्ला अस्पताल लैजान सुझाव दिए ।
‘अझै पनि अभिभावकले बच्चालाई अस्पताल लैजान अटेर गरे,’ शाहले भने, ‘राति नै वडाध्यक्ष र अरू छरछिमेकलाई उठाएर राति नै अस्पताल दौडाउन आग्रह गरे । जति कराए पनि उनीहरूले भोलिपल्ट गत शनिबार गोरखा अस्पताल लगे ।’ तर, उनको उपचार गोरखा अस्पतालमा पनि सम्भव नभएपछि काठमाडौंको कान्ति बाल अस्पताल लैजान सिफारिस गर्यो ।
गम्भीर प्रकृतिको निमोनिया भएकाले यथाशीघ्र कान्ति बाल अस्पताल लैजान सिफारिस गरेको गोरखा अस्पतालकी डा. सुचिता अमात्यले बताइन् । ‘बारपाकमा पनि सामान्य उपचार गरेर यहाँ ल्याइएको रहेछ’, जिल्ला अस्पताल गोरखाकी डा.सुजिताले भनिन्, ‘हामीले पनि यहाँ प्राइमरी उपचारहरू गर्यौं, यहाँ पूरै उपचार गर्न सम्भव नहुने भएपछि कान्ति लैजान भनेका थियौं । यस्तो सिरियस केस थियो । कान्ति नलगी नहुने बिरामी थियो तर एम्बुलेन्समै राखेर बारपाक नै फर्काउनुभयो रे भन्ने सुनिएको छ ।’
कान्ति बालमा रिफर भएकी सबिनालाई उनका परिवारले घर पो लगे । धामीझाँक्री लगाउने भन्दै उनका परिवारले बारपाकै फर्काएको वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रोशन विकले बताए । ‘गोरखा अस्पतालबाट थप उपचारका लागि कान्ति बालअस्पतालमा लैजानु भन्नुभएको रहेछ’, विकले भने, ‘उहाँहरूबाट रुढिवादी सोच हटाउनै सकिएन । भीरबाट लड्नेलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन । धामीझाँक्री लगाउन भनेर गाउँ नै फर्काउनुभएछ ।’ बिरामीका बाबुआमाले यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।
सबिनाको बुबाआमा मात्र होइन, भूकम्पअघि र पछि नाम चलेको बारपाक गाउँमा अहिले पनि अधिकांश मान्छे बिरामी हुँदा धामीझाँक्रीकै भर पर्छन् । धेरै संघसंस्था आएर जनचेतना जगाउने भनेर लाखौं, करोडौं सिध्याए तर गाउँको चेतनास्तर परिवर्तन नभएको उनले बताए । झारफुकमै विश्वास गर्ने गरेका कारण बेलाबेला बारपाकमा स्वास्थ्यसम्बन्धी समस्या खेपिरहनुपरेको उनले बताए ।
केही महिनाअघि बारपाकमा भाइरलको प्रकोप फैलिएको थियो । बिरामीहरू स्वास्थ्यचौकीको साटो झारफुकमै भुलेपछि चिकित्सकको टोली घरघरमा पुगेर प्रकोप नियन्त्रण गरेको थियो । ‘बिरामी भएपछि बेलामै स्वास्थ्य उपचार गर्न जानुपर्छ भन्ने चेतना नहुँदा हामी त हैरान भयौं’, स्वास्थ्य सहायक शाहले दुःख व्यक्त गरे ।