आगलागीले ४६ परिवारको बिचल्ली
इटहरी : बराहक्षेत्र नगरपालिका-११ स्थित इक्राई बस्तीकी आगलागीपीडित ४५ वर्षीया आशादेवी चौधरी आइतबार राहतको लाइनमा रोइरहेकी थिइन्। अरूले सोधेका प्रश्नको जवाफसम्म दिन उनलाई गाह्रो परिरहेको थियो। शनिबार राति आगलागी हुँदा उनको घरसँगै पाँच लाख नगद र तीन तोला सुन पनि जलेको थियो। ‘शरीरमा लगाएका लुगाबाहेक केही सामान निकाल्न पाइनँ’, उनी भन्दै थिइन्।
दुबई गएका उनका पतिले ऋण तिर्न र घर बनाउन पठाइदिएको पैसा जलेपछि उनी बेहोस नै भइन्। पछि सम्हालिए पनि उनी सम्झी-सम्झी रोइरहेकी थिइन्। एक छिमेकी भन्दै थिइन्, ‘गाउँभरिमा सबैभन्दा धेरै क्षति उसकै भयो।’
४६ परिवारको घर खरानी बनाएको आगलागी राति ८ बजे चौधरीकै घरबाट सुरु भएको थियो। उनको गोठबाट सुरु भएको आगलागीले फुसको छाना भएका घर जल्न थालेका थिए। ऐलानी जग्गामा बसेको बस्तीका घर हेर्दाहेर्दै खरानी भए।
राहत बोकेर हिँड्दै एक बालक
सुरुमा केहीले आगो निभाउने प्रयास गरे पनि ग्यास सिलिन्डर पड्किन थालेपछि कसैले हिम्मत गरेनन्। स्थानीय सबै रमिते बन्न बाध्य बने। ‘सुरुमा त एक-दुई घरमा मात्र आगो लागेको थियो’, स्थानीय रमानन्द चौधरीले भने, ‘ग्यास सिलिन्डर पड्किन थालेपछि एकैपटक धेरै घरमा आगो फैलियो।’
कम्तीमा पाँचवटा सिलिन्डर पड्केको उनले बताए। भने, ‘सिलिन्डर पड्किन थालेपछि छेउछाउ जान सबै डराए।’
आफ्ना मामामाइजू र दाजुको घर जलेको बताउने स्थानीय देवकीदेवी सरदारले पनि सिलिन्डर पड्केकै कारण कसैले पनि आगो निभाउन आँट नगरेको बताइन्। ‘नत्र लौकहीसम्मका मानिस आएका थिए’, उनले भनिन्, ‘बमजस्तै पड्किन थालेपछि को जाओस्।’
फागुन २१ गते मात्र बिहे गरेकी २० वर्षीया राधिका सरदारको घरमा बिहेकै सामान थिए। ‘टीभी, दराज, कुर्सी, टेबल सबै खरानी भयो’, उनकी आमा मीना सरदारले भनिन्, ‘सवा लाख रुपैयाँको त फर्निचर मात्र थियो।’
अढाई वर्षअघि विदेश गएर कमाएको पाँच लाखमध्येको तीन लाख रुपैयाँ घरमै राखेका देवचन्द सरदारको अनुहार पनि फुंग उडेको देखिन्थ्यो। विदेश जाँदादेखि घर बनाउँदा लिएको ऋण तिर्ने र घर मर्मत गर्ने भन्दै पैसा बोकेर बिदामा आएका उनी अब डेढ महिनामै फेरि साउदी अरब जान लागेका छन्। ‘अढाई वर्षको मेहनत आगोमा जल्यो’, उनले भने।
आगलागीको आधा घण्टापछि इनरुवाको दमकल पुगेको थियो। पछि इटहरीबाट पनि दमकल आइपुगेको स्थानीयले बताए। बेलुकी ११ बजे आगलागी नियन्त्रणमा आएको जनाइएको छ। आगलागीमा प्रभु सरदार घाइते भएका छन्।
४६ परिवारको ७० घर जल्दा एक करोड ३७ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए। १५ बाख्रा, एक गाई र दुई बाच्छा जलेर मरेका छन्।
आगलागीको खबरसँगै पुगेको क्विक भोलेन्टियर, नेपाल रेडक्रस सोसाइटीलगायतले राहत वितरण थालेका थिए। पीडितलाई खाद्यान्न, लत्ताकपडा, थाल, बटुकालगायत सामग्री दिइएको थियो। जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रतिपरिवार पाँच हजारका दरले नगदसमेत वितरण गरेको थियो।
पीडितका लागि दुई कोठा र एउटा चर्पीसहितको घर बनाउने प्रदेश उद्योगमन्त्री जगदीश कुसियतले बताए। आगलागी भएको गाउँ उनले चुनाव जितेको क्षेत्र हो। ‘पानी पर्ने मौसम पनि आउँदै छ, त्यसअघि नै तपाईंहरूका लागि बस्ने व्यवस्था भइसक्छ’, उनले भने।
आगलागी क्षेत्रको निरीक्षण र राहत वितरणका लागि पुगेका गृहमन्त्री हिक्मत कार्कीले पीडितका लागि बनाइने घर पक्का हुनुपर्नेमा जोड दिए। ‘तत्काल जे जस्तो हुन्छ, छिटो गरौं’, उनले भने, ‘तर, अब बनाइने घर दह्रा हुन्।’ पीडितको पुनःस्थापनाका लागि बराहक्षेत्र नगरपालिकालाई प्रदेश सरकारको सहयोग रहने उनको भनाइ थियो।