आमाले आगो लगाउँदा दुई सन्तानको मृत्यु
रामेछाप : जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुमको पन्नेचौरमा आफ्नै आमाले लगाएको आगोमा जलेर एक छोरा र एक छोरीको ज्यान गएको छ।
आइतबार राति साढे १० बजे स्थानीय दिलबहादुर खत्रीकी जेठी श्रीमती तारा केसीले कटेजमा सुतिरहेको अवस्थामा आगो लगाउँदा ४ वर्षिय छोरा बिपिन खत्री र २ वर्षकी छोरी रमिता खत्रीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
आगो लगाउने तारा केसीलाई पनि सामान्य जलेको अवस्थामा प्रहरीले नियन्त्रण लिएको छ। आगो लगाउने केसीले श्रीमानले कान्छी श्रीमती ल्याएपछि छुट्टै बसोबास गरी आफूहरूलाई बेवास्ता गरेकाले आगो लगाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए।
थापाका अनुसार अहिले आगो लगाउने तारा केसी तथा उनका श्रीमान दिलबहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। घटनामा मृत्यु भएका २ बच्चाको शव पोस्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको प्रहरीले जनाएको छ।
आगो लगाउने तारा केसी श्रीमान दिल बहादुर खत्री र उनकी कान्छी श्रीमती बसेको भन्दा १ सय मिटर पर बाँसको कटेजमा एक छोरा र एक छोरीका साथमा बस्दै आएकी थिइन्।