करोडौं खर्च व्यर्थ
चन्द्रपुर : चन्द्रपुर नगरपालिका क्षेत्रका दर्जनौं पार्क तथा बाल उद्यान प्रयोगविहीन बनेका छन्। नगरपालिकाले पार्क संरक्षणमा ध्यान नदिएको स्थानीय बताउँछन्। नगरपालिकाले पछिल्लो दुई वर्ष अवधिमा बाल उद्यान तथा पार्क बनाएको थियो। बाल उद्यान तथा पार्कका संरचना भत्किन थालेका छन्। आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ मा पार्क तथा बाल उद्यान बनाउँदा उपभोक्ता समितिमार्फत दुई करोडभन्दा बढी रकम खर्च भएको थियो। कमजोर निर्माण सामग्रीको प्रयोग भए पनि नगरपालिकाका कर्मचारीले कमिसन लिएका कारण पार्क तथा उद्यान भत्किन थालेको आरोप स्थानीयले लगाउन थालेका छन।
मुख्य चोकको सुन्दरता बढाउन निर्माण गरिएको पार्क पनि प्रयोगविहीन छ। पडहरियामा २५ लाखभन्दा बढी खर्चेर बनाइएको पार्कका संरचना भत्किन थालेका छन्। मर्मत गरिएको पोखरीको डिलसमेत भत्किन थालेको छ। मोथियाहीमा बनाइएको पार्कको तारबार भत्किएको छ। बालबालिका खेल्न बनाइएका संरचनासमेत भत्किएका छन्। ब्रह्मस्थान, कुसुमगाछी, कोटीहोम, रैयाटोल, मरधरलगायत दर्जनभन्दा बढी स्थानमा बनाइएका पार्कको संरक्षण हुन सकेको छैन। एउटा स्थानमा पार्क, पोखरी मर्मत र बाल उद्यान निर्माणका लागि नगरपालिकाले पाँच लाखदेखि १४ लाखसम्म एक आर्थिक वर्षमा खर्च गरेको थियो।
करोडौं रकम खर्चेर बनाइएका पार्क संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग स्थानीयबासिन्दाले उठाउन थालेका छन्। नगरपालिकाले वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गतको बजेटले पोखरी, पार्क, उद्यान, फूलबारी निर्माण र मर्मत गरेको थियो। जनप्रतिनिधि नभएका बेला निर्माण भएका भौतिक संरचनालाई अहिले ध्यान दिन नसकेको चन्द्रपुर-५ का युवा रोशन काफ्लेको भनाइ छ।
नगरपालिकाको पूर्वाधार विकास हेर्ने अधिकारी काजीमान माझीले पहिले निर्माण भएका पार्कलाई योजना बनाएर संरक्षण र प्रयोगमा ल्याउन लागेको बताए। १० वटै वडामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत दुई आर्थिक वर्षमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बजेट उपलब्ध गराएको थियो।