नक्कली प्रहरीको भेषमा ठगी गर्ने महिला पक्राउ
काठमाडौं : महानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई सोमबार पक्राउ गरेको छ । वृत्तले सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ ठगी गर्ने सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने कोपिला बोहरालाई बालाजुबाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाएको फोटो देखाएर ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ । बोहराले झण्डै सात लाख रुपैयाँ ठगी गरेको पोखरेलले बताए ।
बोहराले दैलेख घर भएका राधा शाहीसँग एक लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार, मीना सुनुवारसँग १९ हजार ठगेकी छन् ।
त्यस्तै, ठगिएका अन्य व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको वृत्तले जनाएको छ ।