पारस भन्छन्ः खेलाडीले जिम्मेवारी पुरा गरे, अब पूर्वाधार चाहियो
काठमाडौँः नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताएका छन् । जिम्बाब्वेमा भएको विश्वप छनोट प्रतियोगितामा सहभागी भएर सोमबार काठमाडौँ ओर्लेपछि पारसले पुर्वाधार र सुविधाको अभावबीच पनि खेलाडीहरुले देशका लागि सक्दो मेहनत गरेर खेलेको बताएका हुन् ।
‘हामीले पूर्वाधार र सुविधाको कमी हुँदा हुँदै पनि नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो उपलब्धि वान डे इन्टरनेशनल मान्यता पाउन सकेका छौँ’, पारसले भने, ‘अब सरकार र खेलका जिम्मेवार पक्षले पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्छ ।’
वान डे इन्टरनेशनल मान्यता पाएपछि फन्डिङदेखि सबैका कुरामा नेपाललाई फाइदा हुने बताउँदै पारसले धेरै वर्षदेखिको सपना पुरा हुँदा आफ्नो टिमका सदस्यदेखि क्रिकेट प्रेमी पनि हर्षित भएको उल्लेख गरे ।
‘धेरै वर्षदेखिको सपना पुरा भएको छ । नेपाली क्रिकेट टोलीका लागि खुसीको क्षण हो’, पारसले भने, ‘अझै राम्रो प्रदर्शन गरेर हामी टेस्ट मान्यता पनि लिन चाहन्छौँ, त्यसका लागि राज्यले क्रिकेटलाई विशेष लगानी गर्नुपर्छ ।’
पारसले अझै काम गर्नुपर्ने धेरै रहेको बताउँदै राम्रो योजना बनाएर अघि बढ्ने हो भने अझै धेरै सफलताको स्वाद चाख्न सकिने बताए । ‘अब टी–२० विश्वकको छनोट आउँदैछ’, उनले भने, ‘हामीमाथि अब चुनौती पनि बढेका छन्, त्यसका लागि सबै पक्ष तयार हुनुपर्छ ।’
कप्तान पारसले क्रिकेट संघ र खेल क्षेत्रमा रहेको विवादतर्फ लक्षित गर्दै मैदान बाहिरको नराम्रो पक्षलाई सुधार्नुपर्नेमा जोड दिए । ‘मैदान बाहिरको नराम्रो पक्षलाई सुधार गर्नुपर्छ’, उनले भने, ‘सफलतालाई जोगाइराख्नु सबैभन्दा चुनौती हो, अब हामीमाथि नयाँ अभिभारा थपिएको छ ।’