मुद्धा मिलाइदिने बहानामा ठगी गर्ने जेल चलान
सन्धिखर्क : ‘मुद्धा मिलाइ दिन्छु’ भन्दै नेपालका करिब ६४ जिल्लामा लाखौं रुपैयाँ ठगी गरेका एक जना जेल चलान भएका छन् । प्रहरीको लामो अनुसन्धानपछि बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं.७ लालपुर निवासी लोकबहादुर खाँण ठकुरी पक्राउ पछि जेल चलान भएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।
विभिन्न जिल्लामा पुगेर कारागारको थुनामा रहेका र जिल्ला अदालतमा मुद्दा परेका व्यक्तिहरुको समस्या र फोन नम्वर पत्ता लगाई आफू न्यायाधीश, सरकारी वकिल, वकिल, विभिन्न कर्मचारीको पदमा छु भन्दै मुद्दा मिलाउने व्यक्ति छुटाउने भन्दै लाखौ रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।
उनले बैंकको खातामा रकम राख्न लगाई मोबाइल अफ गर्ने गरेका थिए ।
पुन अर्को जिल्लामा पुगेर त्यही प्रकारणको योजना बनाई ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । निजले अहिलेसम्म ६४ जिल्लामा पुगेर विभिन्न व्यक्ति ठगेको स्वीकार गरीसकेका छन् ।
उनले अर्घाखाँची जिल्लाको एक मुद्दामा थुनामा रहेका एक पुरुषलाई छुटाउने बाहानामा अभियुक्तकी श्रीमतीसँग ७० हजार रुपैयाँ माग गरेका थिए । निज महिलाले १७ हजार भन्ने सुनेर उनले भने अनुसारको खातामा रकम राखिदिएकी थिइन् ।
पैसा पठाएपछि मोबाइल अफ गरेको र मुद्दा मिलाउनुको सट्टा कानुन अनुसार फैसला भएको थियो । जिल्ला सरकारी वकिल रोमाकान्त ज्ञवालीले ठगी मुद्दा दायर गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
जिल्ला अदालतका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलासबाट थुनछेकको फैसलापछि जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानाकारी दिए ।