अनुगमनका क्रममा म्याद नाघेका सामान नष्ट
भोजपुर : जिल्ला प्रशासन कार्यालय भोजपुरले मंगलबार बजार अनुगमनका क्रममा सदरमुकामका २८ किराना पसलबाट म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरेको छ । मंगलबार सदरमुकामको डाँडागाउँदेखि चारभञ्जाङसम्म गरिएको अनुगमनमा म्याद गुज्रिएका खाद्यान्न, तेल, पेय पदार्थ लगायत १२ हजार दुइ सय २० रुपैयाँ मुल्य बराबरको सामान नष्ट गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका प्रतिनिधी साथै सरोकारवाला निकायको संयुक्त अनुगमनका क्रममा खाद्यान्न तथा मदिराजन्य सामान एकै ठाउँमा राखेर विक्री गरिएको एवं कतिपय पसल दर्ता नै नगरी सञ्चालन भइरहेको पाइएको छ ।
जिल्ला प्रशासनले सदरमुकामका ज्ञानेश किराना पसल, कान्तिपुर गेष्ट हाउस तथा किराना पसल, विद्याधरी किराना तथा सब्जी पसल, कुमकुम स्वीट हाउस, दुर्गा किराना पसल साथै नाम चलेका अन्य २८ किराना पसलमा अनुगमन गरेको थियो ।
तीन महिनाको समय अन्तरमा अनुगमन गर्नुपर्ने भएपनि स्थानिय तह, प्रदेश र प्रतिनिधी सभाको निवार्चनका कारण केहि ढिलाई भएको न्यौपानेले बताए । उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार अनुगमन गरिएको उनको भनाइ छ ।