वीरगन्जलाई सुरक्षित राख्न जताततै सिसिटिभी
वीरगन्ज : अपराधिक घटनाबाट सुरक्षित बनाउन आर्थिक एंव औद्योगिक नगरी वीरगन्ज महानगरलाई आगामी एक वर्ष भित्र सिसिटिभी क्यामेरा युक्त महानगर बनाउने अभियान थालिएको छ। सेफर वीरगन्ज नामक संस्थाले वीरगन्ज महानगरका ३२ वडालाई आगामी एक वर्ष भित्र सिसिटिभी क्यामेरा युक्त बनाउने अभियान थालेको हो।
वीरगन्ज उद्योग वाणिज्य संघको पहलमा २०६७ सालमा स्थापना गरिएको सेफर वीरगन्जले त्यसको एक वर्षपछि २०६८ सालमा २० लाख रुपैयाँ संकलन गरेर महानगरका विभिन्न सार्वजनिक स्थानमा १० वटा सिसिटिभी क्यामेरा जडान गरेको थियो।
‘वीरगन्जको सुरक्षा हाम्रो चासो, सेफर वीरगन्ज सबैको खाँचो’ भन्ने नारा दिएर थालिएको अभियान अन्तर्गत २०७० सालसम्म नगरमा ७४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको थियो। तर २०७१ सालको मधेस आन्दोलनका क्रममा ७२ वटा सिसिटिभी क्यामेरा तोडफोड भए। त्यसपछि सेफर वीरगन्जले फेरि २० वटा क्यामेरा जडान गरेर अभियानको थालनी गरेको हो।
अभियान अन्तर्गत अहिले नगरका ४४ स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। जसमध्ये चार वटा पिटिजेड (जुम गरेर दृश्य हेर्न मिल्न सक्ने) र बाँकी ४० वटा आइभी क्यामेरा हुन्। १७ लाख रुपैयाँको लगानीमा ४४ वटा क्यामेरा जडान गरिएको सेफर वीरगन्जले जनाएको छ।
अभियानलाई अझ विस्तारित रुप दिई वीरगन्ज महानगरलाई अपराध मुक्त शहर बनाउने उदेश्यले आगामी एक वर्ष भित्र नगर भित्र दुई सयदेखि दुई सय ५० वटा सिसिटिभी क्यामेरा जडान गर्न थालिएको सेफर वीरगन्जका संयोजक एंव वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठले जानकारी दिए।
अभियान अन्तर्गत आगामी तीन महिना भित्रै मकालु होटल चोकदेखि इनर्वा स्थित वीरगन्ज भन्सारसम्म, घण्टाघर चोकदेखि नयाँ बसपार्कसम्म, रानीघाटदेखि रामगढवा पुलसम्म र जिल्ला प्रहरी कार्यालयदेखि कलैया जाने चोकसम्मका सार्वजनिक स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने काम सम्पन्न हुने लाठले जानकारी दिए।
अहिले जडान गरिएका सिसिटिभी क्यामेराको सहयोगमा नगर क्षेत्रमा भएका सवारी सधानको चोरी, गोली प्रहार, लुटपाट जस्ता घटनाका अपराधीलाई समात्न प्रहरी सफल भएको, अपराधिक घटनामा कमी आएको र अपराध अनुसन्धानमा प्रहरीलाई सहजता आएकाले सेफर वीरगन्ज आगामाी वर्ष भित्र महानगरका ३२ वटै वडामा सिसिटिभी क्यामेरा जडान गर्ने योजना बनाएर अगाडि बढेको लाठले बताए।
सिसिटिभी जडानमा लाग्ने आर्थिक श्रोत जुटाउन सेफर वीरगन्जले अहिलेसम्म चार चलचित्र र चचर्चित हास्य कलारको जोडी धुमुश सुन्तलीको गरी पाँच वटा च्यारिटी शो तथा वीरगन्ज उद्योग वाणिज्य संघ र बैंकर्सबाट गरी २९ लाख ३५ हजार तीन सय २९ रुपैयाँ संकलन गरिसकेको छ। नगरमा सिसिटिभी जडानका लागि वीरगन्ज महानगरपालिका कार्यालयले पनि १५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरिसकेको छ।
‘वीरगन्ज महानगरलाई अपराधिक घटनबाट मुक्त राख्न सेफर वीरगन्जको अभियानमा जस्तो सुकै सहयोग र साथ दिन महानगरपालिका कार्यालय तयार छ’, मेयर विजय सरावगीले भने ,‘वीरगन्जलाई पूर्ण रुपमा सुरक्षित शहर बनाउन करिब दुई अढाइ करोड खर्च लाग्ने देखिन्छ , त्यसमा महानगरपालिका साथ दिन तयार छ।’
वीरगरगन्ज उद्योग वाणिज्य संघले महानगरको टोलका सार्वजनिक स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न ३० प्रतिशत रकम अनुदान दिने भएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले भने ,‘यदि वीरगन्जलाई अपराधिक घटनाबाट मुक्त शहर बनाउने हो भने यहाको हरेक टोल टोल सिसिटिभी क्यामेरामय बनाउनु पर्छ, किन कि एउटा प्रहरीले दिनमा आठ घण्टा काम गर्छ तर एउटा क्यामेराले २४ सै घण्टा तीन जना प्रहरीको बराबर काम गर्छ।’ प्रहरीले बैंक र बित्तीय संस्थालाई सिसिटिभी जडान गर्न आग्रह गरेको पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए।