एक लाख घुससहित पक्राउ परेका दुई प्रहरी जवान निलम्बित
खाँदबारी : सङ्खुवासभाका दुई प्रहरी जवान मंगलबार निलम्बनमा परेका छन् । दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न व्यक्तिबाट लिएकोे एक लाख घुससहित पक्राउ परेका प्रकास कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष खड्काले बताए ।
जिल्लाको भोटखोला गाउँपालिकामा रहेको स्याक्सिला गोला प्रहरी चौकीमा कार्यरत कार्की र बस्नेतले दुर्लभ वन्यजन्तु सालकको खपेटा चोरी निकासी गरेका व्यक्तिबाट गैह्रकानुनी रुपमा रकम असुलेका थिए ।
निलम्बनमा परेका प्रहरीले सालकको खपेटा लैजान दिने सर्तमा चोरीमा संलग्नबाट उक्त रकम असुलेको प्रहरीको भनाइ छ । उनीहरुलाई गोप्य सुचनाका आधारमा पक्राउ गरेर निलम्बन गरिएको प्रमुख खड्काले बताए ।
चोरीमा संलग्न व्यक्ति फरार रहेकाले उसको खोजी भइरहेको र निलम्बनमा परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।