गाउँपालिका कार्यालय सार्ने निर्णयको विरोधमा तालाबन्दी
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका कार्यालय सार्ने निर्णयको विरोध गर्दै स्थानीयले तालाबन्दी सँगै विरोध जारी राखेका छन् ।
सोमबार बसेको सानीभेरी गाउँ कार्यापालिकाको बैठकले हाल कार्यालय रहेको ठाउँभन्दा अन्य ठाउँमा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।
बैठकले गाउँपालिकाको भवनका लागि वडा नम्बर ७ द्वारेज्युलामा जग्गा खरिद गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यालय हालसम्म वडा नम्बर ९ स्थित सिम्ली बजारमा रहेको छ । तालाबन्दीसँगै स्थानीयले आम हड्ताल गरेका छन् ।
गाउँपालिकाका केही पदाधिकारीको स्वार्थका लागि कार्यालय सार्ने निर्णय भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । गाउँपालिका कार्यालय हाल रहेकै स्थानमा कायम नगरेसम्म आन्दोलन जारी रहने उनीहरु बताउँछन् ।