निजामती कर्मचारी युनियनमा गोपालप्रसाद पोखरेल
चितवन : नेपाल निजामती कर्मचारी युनियन (संघ) को अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्। रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्। मंगलबार राति ३ बजे सकिएको महाधिवेशनमा उनले बुढाथोकीभन्दा ३० मत बढी ल्याइ विजयी भएका हुन्।
कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ। प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गरेका थिए।
अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भएका छन्।महासचिवमा सुवास कोइराला निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए।
उनका अनुसार बुधबार सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ।मंगलबार राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ। पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिए। तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सातजना निर्वाचित भएका छन्।
यही चैत ४ गतेदेखि चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए। महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। रासस