सामाजिक दिवस मनाइयो
काठमाडौं : ‘विश्व सामाजिक कार्य दिवस २०१८’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस वर्षको विश्व सामाजिक कार्य दिवसको नारा ‘दिगो समुदाय र वातावरणको प्रवद्र्धन’ रहेको छ। काठमाडौंका गोल्डेन गेट कलेज, केएनके कलेज, वर्न हर्ट कलेज लगायतका कलेजहरुले संयुक्त रुपमा दिवस मनाएका छन्।
किर्तिपूरमा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाले देश बनाउने सपना बुन्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले पसिना चुहाएर, श्रम गरेर के गर्यौ भन्ने विषयमा गम्भीरतापूर्वक समिक्षा गर्न आजको आवश्यकता छ ।’
उपाध्यक्ष ढुंगेलले शिक्षामा भएको विभेद हटाउन गुणस्तरमा ध्यान दिनुपर्ने भन्दै समाज रुपान्तरण, देशको उन्मुक्तिका लागि सामाजिक कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। आधुनिक कृषिले मात्रै देश विकास हुने उनको भनाइ थियो।
त्रिविका प्राध्यापक डा.टिकाराम गौतमले विश्वविद्यालयले सरकारसँग समन्वय गरी सामाजिक कार्यलाई पेसागत रुपमा विकास गर्नुपर्ने बताए ।सिनासका कार्यकारी निर्देशक डा. मिगेन्द्र बहादुर कार्कीले हामीले विदेशका लागि नभई नेपालका लागि आवश्यक गर्ने सामाजिक कार्यकर्ता निर्माणमा लाग्नुपर्ने बताए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी तथा सामाजिक विज्ञान संकायका डिन कोपिराम लम्सालले उक्त विश्वविद्यालयले पनि सामाजिक कार्य पठनपाठन गर्दै आएको भन्दै सामाजिक कार्यकर्तालाई एनजिओ, आइएजिओमा भन्दा समाज परिवर्तनतिर लाग्न प्रोसाहित गर्नुपर्ने बताए ।
त्रिविका उप–प्रध्यापक सरोज गिरीले सामूहिक एकता सुदृढ गर्नका लागि र नेपालको सामाजिक कार्यकर्तालाई विश्वका सामाजिक कार्यकर्तासँग समन्वय गर्न दिवसले थप टेवा पुग्ने बताए ।समाज परिवर्तन गर्न सामाजिक कार्यकर्ता आफै परिवर्तन हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सामाजिक कार्यकर्ता अग्नि खनाल, त्रिचन्द्र पौडेल, रमेश हमाल लगायतले मन्तव्य राखेका थिए। प्रतिक शर्मा लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सुदिप लामाले गरेका थिए ।