खानेपानीको मुहानमै विषादी
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ। कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए।
पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिए।विषादी मिसिएको पानी परीक्षणका लागि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए।
मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।मुहानसम्बन्धी विवादका कारण स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदनसमेत दिएका छन्। रासस