५५ वर्षमा एसईई
स्याङ्जा : पढ्ने चाहनालाई उमेरले छेक्दैन भने झैं ५५ वर्षीय पदमप्रसाद श्रेष्ठ माध्यमिक शिक्षा परीक्षा (एसईई ) दिँदै छन्।भीरकोट नगरपालिका १ निवासी श्रेष्ठले पुतलीबजार नगरपालिका १३ स्थित मातृभूमि माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एसईई पहिलो दिनको अंग्रेजी विषयको परीक्षा दिएका हुन्।
उनी कालिका माध्यमिक विद्यालयमा कक्षा ८ बाट नियमित पढ्दै आएका छन्। उनले झण्डै डेढ दशक वैदेशिक रोजगारमा काम गरी फर्केपछि अध्ययनलाई निरन्तरता दिएका हुन्।
स्याङ्जाबाट एसईई परीक्षामा ५ हजार ८ सय ९ नियमित तथा २ सय २८ एक्जाम्टेड गरी ६ हजार ३७ जना परीक्षार्थी परीक्षामा सहभागी रहेको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए।
परीक्षाका लागि ३३ वटा केन्द्र तोकिएका छन्। परीक्षालाई शान्त र मर्यादित ढंगले सम्पन्न गर्नका लागि ३३ केन्द्राध्यक्ष, ३५ सहायक केन्द्राध्यक्ष, २ हजार ९२ निरीक्षक, १ हजार एक सय ४२ सहयोगी र तीन सय ३० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।