एसईईको अवधिमा देशभर लोडसेडिङ नगर्न कुलमानलाई ऊर्जामन्त्री पुनको निर्देशन
काठमाडौं : ऊर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ले बिहीबारदेखि देशभर सञ्चालन भएको एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्ने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
पूर्वी तराईका केही जिल्लामा परीक्षाको समयमा लोडसेडिङ हुँदा विद्यार्थी मर्कामा परेको गुनासो आएपछि मन्त्री पुनले घिसिङलाई बिहीबार दिउँसो टेलिफोन गरेर यस्तो निर्देशन दिएका हुन् ।
परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई असर पर्नेगरी देशभर लोडसेडिङ नगर्न निर्देशन दिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । घिसिङले मन्त्री पुनलाई लोडसेडिङ नहुने व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।