युवालाई नवीना लामाका 'सात टिप्स'
एमाले निकट विद्यार्थी संगठन अखिलको राजनीतिबाट चर्चामा आएकी हुन्- नवीना लामा। संगठनको केन्द्रीय अध्यक्ष उनी अहिले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य छिन्। जन्मस्थल काभ्रेबाट राजनीतिक करियर सुरु गरेकी उनी जिल्ला उपाध्यक्ष हुँदै २३ वर्षको उमेरमा बानेश्वर क्याम्पसको स्ववियु सभापति बनिन्। युवालाई आफ्नो उद्देश्यमा सफलता हासिल गर्न लामाले सात टिप्स दिएकी छिन्-
१. नेतृत्व दिन सक्ने बन्नुस
अहिले युवामा देखिएको सबैभन्दा ठूलो समस्या नेतृत्वदायी क्षमताको अभाव हो। नेतृत्वका लागि राजनीतिमा नै लाग्नुपर्छ भन्ने होइन। तपाईं जुन क्षेत्रमा लाग्नु भएको छ, त्यसैमा निरन्तर भएर लाग्नुस्। विद्यार्थी हुनुहुन्छ भने सधैं अघिल्लो बेन्चमा बस्नुस्, विस्तारै नेतृत्वको विकास हँदै जान्छ। अघिल्लो बेन्चमा बसेको नाताले शिक्षकको नजर तपाईंमा नै जान्छ र तपाईंलाई पढ्नुपर्छ भन्नेतर्फ जिम्मेवार बनाउछ। समूहमा बसेर कुनै काम गर्नुभएको छ भने पनि त्यसको नेतृत्व आफैंले लिने प्रयास गर्नुपर्छ।
२. उद्यमशील बन्नुस
नेपाली समाजमा अहिले सबैभन्दा ठूलो समस्याको रूपमा बेरोजगारीलाई लिइँदै आएको छ। तर अलिकति फरक तरिकाले सोच्न सक्ने क्षमता भएको युवाका लागि यो कुनै समस्या हो जस्तो मलाई लाग्दैन। हामीकहाँ प्रशस्त प्राकृतिक स्रोतसाधन छन्। कृषि प्रधान मुलुक भन्छौं, तर कृषिमा खासै चासो दिएका छैनौं। गाउँगाउँमा गएर विभिन्न प्रकारको फार्महरू खोल्ने, आफ्नो संस्कृतिअनुसार होम स्टेहरू खोल्ने, ‘इन्डिजिनियस फुड’ को प्रवद्र्धन गर्ने लगायतका काम गर्ने हो भने यहाँ प्रशस्त बजार र सम्भावना छन्।
३. अरूको भर नपर्नुस्
मानव जीवनमा अरूको भर पर्ने बानी सबैभन्दा खतरनाक हुन्छ। कतिपय अवस्थामा अरूको भर पर्नुपर्ने पनि हुन सक्छ, तर आफूले गर्न सक्ने कामको लागि अरूको भर पर्नु हुँदैन। सकेसम्म आफ्नो जीवनलाई कसरी अघि बढाउने भन्नेमा आफैं सोच्नुपर्छ, निर्णय लिनुपर्छ। जे कामका लागि पनि अरूको सहयोग माग्ने बानी त्याग्नु पर्छ।
४. रचनात्मक बन्नुस‘
डाइनामिक’ युवाले हरेक कुरालाई रचनात्मक तरिकाले हेर्न सक्नुपर्छ। एकै कामलाई पनि मैले अरूभन्दा कसरी फरक तरिकाले गर्न सक्छु भन्ने सोच्नुपर्छ। अरूभन्दा फरक तरिकाले सोच्न सक्नेको पहिचान पनि अरूको भन्दा फरक नै हुन्छ। यो नै सफलताको कडी हो।
५.पदको मोह नगरौं
कुनै पनि काम गर्नुछ भने यसमा मेरो भूमिका के हो भन्नेमा स्पष्ट हुनुपर्छ। तर काम नै नगरी पदको मोहमा मात्र लाग्नु हुँदैन, जसले युवाको क्षमतालाई नै अप्ठ्यारोमा पार्छ। पद भनेको क्षणिक हो। तर क्षमता मुख्य कुरो हो। क्षमतावान् मानिस जहाँ पनि बिक्न सक्छ।
६. इमानदार बन्नुस
हरेक नागरिकका लागि परि श्रमी र इमानदार सबैभन्दा ठूलो गहना हो। इमानदार नागरिक जहाँ पनि, जहिले पनि बिक्न सक्छ। तर नैतिक आचरण बिग्रेको, सामाजिक मर्यादाको ख्याल गर्न नसक्ने, कानुन नमान्ने मानिस कतै पनि टिक्न सक्दैन। त्यस्ता मानिसले केही दिन राज गरे पनि एक न एक दिन फन्दामा पर्छ नै।
७.सानो कुरालाई प्राथमिकतामा राख्नुस
सफल मानिसले सानो कुरालाई पनि सधैं दिमागमा राख्न सक्नुपर्छ। कुनै काम गर्नुअघि वा निर्णय लिनुअघि यो त सामान्य विषय हो, यसले केही अप्ठ्यारो पार्दैन, यसलाई जसरी पनि मिलाई हालिन्छ नि भन्ने कुरा कहिल्यै पनि दिमागमा राख्नु हुँदैन। किनकि इतिहासलाई पल्टाउँदै जाने हो भने सानो गल्तीले पनि ठूल्ठूला समस्या निम्तिएका थुप्रै उदाहरण देखिन्छ।
प्रस्तुति : सूर्यप्रसाद पाण्डे