उद्योग-व्यापारमा बुवाछोरा

उद्योग-व्यापारमा बुवाछोरा

एक नम्बर प्रदेशमा स्थापित व्यापारीहरूलाई तिनका छोराहरूले नै नयाँ उद्योगीका रूपमा साथ दिइरहेका छन्। केही सफल उद्योगीको व्यावसायिक सफलताको कथा यहाँ प्रस्तुत छ :

पवनकुमार शारडा र सरोज शारडा

पवनकुमार शारडाले आफ्ना पितापुर्खाको व्यापार जिम्मा लिँदा उनी २३ वर्षका थिए। त्यतिखेर सिरहा र सप्तरीका विभिन्न ठाउँमा उनका बुवाको कपडा पसल, धान मिल, पेट्रोल पम्पहरू थिए। एक दर्जन मिल थिए।

२०४० सालमा उनको भागमा पशुपति र शंकर राइस मिल पर्‍यो। सात वर्षपछि उनी विराटनगर आएर तारको उद्योग सुरु गरे। अहिले बिजुलीको तार, बिस्कुट, चाउचाउ, घिउ, सिमेन्टलगायत सात उद्योगमा उनको लगानी छ। कुल चार हजार मजदुरले रोजगारी पाइरहेका छन्।

पितापुर्खाको विरासत बोकेर लाखौंलाई रोजगारी दिएका शारडाको उद्योगमा काम गर्ने मजदुर र कर्मचारीका छोराछोरीहरू यतिखेर विदेशमा पढिरहेका र काम गरिरहेका छन्। तर, शारडाका आफ्नै छोरा सरोज भने नेपालमै छन्। उनले चाहँदा कुनै पनि देशमा सम्पत्ति जोडेर बसीबसी खान नसक्ने होइनन् तर उनी नेपालको प्रतिकूल औद्योगिक वातावरणसँग जुधेर बसेका छन्। किन त ? ‘सबै पढ्न अनि काम गर्न भन्दै विदेश जाने हो भने देशमा के नै बच्छ र ? ’ यही प्रश्नले उनलाई दिल्लीबाट एमबीए पढेपछि नेपाल तान्यो। भन्छन्, ‘नेपालमै बसेर केही गरौं। युवाहरूलाई रोजगार दिऊँ भनेर आएँ।’

छोराले आफ्नो व्यापार सम्हाल्न चासो देखाएपछि बुवा पवनकुमारले उनलाई उद्योगभित्रै तालिम दिलाए। तर, एकैपटक हाकिम बनाएनन्। ‘एक वर्ष आफैंले तालिम दिएँ, त्यसपछि क्यासियर, एकाउन्टेन्ट, मार्केटिङ, प्रोडक्सनको कर्मचारीसँग पठाएँ’, उनको अनुभव छ, ‘ग्राउन्ड रियालिटी नबुझी हाकिम बन्न सकिँदैन।’

सांसदसमेत भइसकेका व्यापारी शारडाको व्यापार साम्राज्य उनका छोराले हेर्छन्। बुवाको अनुभव अनि छोराको नयाँ सोच, प्रविधिप्रतिको आकर्षण र सुझबुझका कारण व्यापार वृद्धि भइरहेको छ। ‘प्रत्येक वर्ष ग्रोथ छ, नयाँ केही छ’, पवन भन्छन्।

महेश जाजू र आशीष जाजू

रमपम चाउचाउ उत्पादन गर्ने एसियन थाई फुड्सलगायत धेरै उद्योगमा लगानी गरेका महेश जाजू आफ्नो बुवाको पदचाप पछ्याउँदै व्यापारमा आए। महेशले उद्योगको सपना देखे। २०४४ सालमा पहिलो उद्योग स्थापना गरे, ‘क्वालिटी बिस्कुट।’

लगातार सात वर्ष उद्योग नाफामा गएन तर महेशले हार खाएनन्। असफलता र घाटालाई उनको निरन्तरता र दृढताले माथ दियो। उनले नेपालीहरूलाई चाउचाउ प्रयोग गर्न प्रोत्साहित गरे। चौधरी ग्रुपको वाईवाईको एकछत्र राजको बेलामा उनले रमपम चाउचाउ ल्याएर टिकाए। अहिले महेश जाजूका चारवटा उद्योग छन्। उनले आफ्नो व्यवसायको भरपर्दो सहयात्री छोरा आशीष जाजूलाई पाएका छन्।

आशीषले अहिले बुवालाई व्यापारमा सघाउन थालिसकेका छन्। ‘बुवाले गरेको काम गर्न मेरो रुचि पनि थियो’, उनी भन्छन्, ‘फेरि यहाँ वातावरण पनि थियो।’ आशीष बजारमा आएको परिवर्तनलाई छिटो अनुभूत गर्छन्। सूचनाप्रविधिसँग धेरै नजिक भएकैले उनी प्रविधिको प्रयोगबारे जान्दछन्। त्यसैले बुवाको चिनजान, नेटवर्क र अनुभवलाई छोराको जाँगर र नयाँ आइडियाले प्रतिस्पर्धाको समयमा पनि उत्पादनलाई बजारमा स्थापित गराउन सहयोग गरेको छ।

शिवशंकर चौधरी र सन्तोष चौधरी

विराटनगरका शिवशंकर चौधरी उमेरले ५९ लागे। उनले व्यापार गरेकै ४० वर्ष भइसकेको छ। बाबुले गरेको किराना दोकानको व्यापार छाडेर छोरा सन्तोषले उद्योग सुरु गरे र सफल भए। स्वरूप परिवर्तन गरे पनि उनले बुवाको व्यापार शैलीलाई छाडेनन्। अझै नयाँ कामहरू गर्ने सोचाइमा छन् उनी।

सप्तरीबाट विराटनगर आएका हुन् सन्तोष। उनलाई केही नयाँ गर्न मन लागेको थियो। उनले हार्डवेयर पसल खोले। पसलमा आउने मिस्त्रीबाट सामानको भाउ र उपयोगिताबारे सिके। जानकी पोली ट्यांक उद्योग चलाइरहेको चौधरी परिवारका अहिले पाँचवटा उद्योग छन्। सिमेन्ट, पोलिमर्स, लेट्रिक्स, हार्डवेयर, स्कुल। सबै सन्तोषले हेरिरहेका छन्।

सन्तोषले व्यापार थाल्दा नेपालको राजनीतिक तथा आर्थिक स्थिति त्यति राम्रो थिएन। बन्द हडताल, लोडसेडिङ चुनौती खेप्दै अघि बढे।

भीम पौडेल र विनोद पौडेल

२० वर्षको उमेरमै निकै संघर्षपूर्ण व्यवसाय सुरु गरेका इटहरीका भीम पौडेल चर्चित व्यवसायी हुन्। ढुंगागिटीको कारोबार गर्दै आएका पौडेलको लगानी अहिले होटल, जुस उद्योग, अटो ट्रेडिङलगायत विभिन्न क्षेत्रमा बढ्दै गएको छ। पछिल्लो तीन वर्षमा उनको व्यापार र लगानी निरन्तर बढ्दो छ। त्यसको कारक उनका २६ वर्षीय छोरा विनोद पौडेल हुन्।

डाक्टर बन्ने लक्ष्य लिएर बायोलोजीमा प्लस टु सकेका विनोदले दिल्लीमा कमर्स विषयमा ग्राजुएसन गरे। लगत्तै इटहरी फर्केका उनले तीन वर्षअघि बुवाको व्यवसाय सम्हाले। ‘मलाई आफन्तले आफ्नै बुवाको व्यवसायलाई बढाउनुपर्ने कुरामा कन्भिन्स गर्नुभयो’, उनले भने, ‘त्यसपछि मैले कमर्स पढेँ। अहिले व्यवसायमै भिजेको छु।’

उनले विभिन्न सफल व्यक्तिहरू चारपाँच पुस्तापछि मात्र व्यवसायमा स्थापित भएको देखेका छन्। ‘बुवाले बनाइदिएको ठाउँ त मेरो लागि अवसर हो भन्ने लाग्यो’, उनी भन्छन्। अहिले सबैतिर गरेर उनका व्यवसायहरूमा सात सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

अहिले उनले आर एन्ड बी जुस उद्योग, फाइभ स्टारका लागि प्रस्तावित गरिमा होटलसँगै झन्डै आधा दर्जन व्यवसायको तयारी गरिरहेका छन्। त्यसबाहेक पूर्वका विभिन्न पाँच ठाउँमा चेन होटल खोल्ने तयारी छ। बुवाको लगानी र सल्लाहमा आफूले नयाँनयाँ काम सुरु गरिरहेको विनोद बताउँछन्। उता विनोदका बुवा भीम पनि छोरामा व्यवसायीमा हुने गुण देखेरै व्यवसायमा लाग्न प्रेरणा दिएको बताउँछन्। ‘छोरा हिसाबकिताबमा दक्ष, डिलिङ गर्नसक्ने र गम्भीर छ’, उनी भन्छन्, ‘लगानी मैले गरिदिए पनि सबै नयाँपुराना कामहरू छोराले नै हेरिरहेको छ।’

शिव घिमिरे र सुदीप घिमिरे

इटहरीका शिव घिमिरेले २०४५ सालतिर गाडी र गल्ला किरानाबाट व्यवसाय सुरु गरेका थिए। उनले केही पेट्रोल पम्पसमेत सञ्चालन गरे। पछि छोरा सुदीपलाई उनले व्यवसायमा ताने।

‘एसएलसी दिएपछिको खाली समयमा मैले उसलाई व्यवसायका सामान्य काम जिम्मा दिन थालेँ’, उनले भने, ‘त्यसको तीन वर्षपछि मैले उसलाई विश्वास गर्न सक्ने पाएँ।’ २०६४ सालदेखि फुल टाइम व्यवसायलाई दिएका सुदीपले बुवाको व्यवसायलाई मात्र सम्हालेनन्, १० वर्षको अवधिमा व्यवसायलाई १० गुणा बढाए पनि।

उनी आएपछि कत्था फ्याक्ट्री, एलपीजी ग्याँस उद्योग, हाइड्रो पावर, इन्जिनियरिङ कन्सल्टेन्सी लगायतका व्यवसायमा समेत लगानी विस्तार भयो। ‘सबै ग्रुप मेनेज गर्ने काम म गर्छु’, सुदीप भन्छन्, ‘बुवाले हाइड्रोपावर हेर्नुहुन्छ।’

सुदीपका भाइले समेत अटोमोबाइल थालेका छन्। सुदीप बुवाको सकारात्मक सोचबाट प्रभावित छन्। अनि बुवाचाहिँ छोराको छिटो निर्णय लिने क्षमताबाट। ‘काम गर्दा गल्तीहरू भए पनि क्विक डिसिजन लिनुपर्छ’, शिव भन्छन्, ‘व्यवसायीमा हुनुपर्ने गुणहरू छोरामा विकास भयो र मैले विश्वास गरेँ।’

बुवाको प्रेरणा नै दर्शन

यीबाहेक पूर्वमा धेरै यस्ता व्यवसायी तथा उद्योगी बाबुहरू छन्, जो छोराहरूलाई व्यापार सिकाउँदैछन्। छोराहरूले पनि बाबुलाई भर दिएका छन्। नयाँनयाँ व्यवसाय थालेका छन्। धरानका नवीन राजभण्डारीलाई बुवा नीरकुमार राजभण्डारीले व्यवसाय सिकाएका थिए। किराना पसलबाट बुवाले थालेको व्यावसायिक सीपलाई विकास गरेर नवीनले अहिले ६ वटा फर्म चलाइरहेका छन्। इलेक्ट्रोनिक्स पसलदेखि आरएमसीसमेतको व्यापार गरिरहेका छन्। ‘बुवाले व्यापार नगरेको भए म पनि व्यापारी बन्ने थिइनँ होला’, उनले भने।

यस्तै बाबुको पदचाप पछ्याएर हिँड्ने छोरा व्यवसायीहरू पनि धेरै छन्। बराह ज्वेलरी इन्डस्ट्रिज धरानमा सुन पसलबाट सुरु भएको कम्पनी हो। कम्पनी स्थापना गरेर कामविशेषले विदेश गएका बेलामा बुवाको मृत्यु भएपछि छोरा शिव लामिछानेले व्यवसाय सम्हाले। ज्वेलरी, डिपार्टमेन्ट स्टोर, यातायात, रेकर्डिङ स्टुडियोलगायत विभिन्न व्यवसाय हङकङ, बेलायत लगायतका देशमा विस्तार गरेको कम्पनीलाई उनले बुवाको मार्गदर्शन अनुसार चलाउँदैछन्।

सन्तान अर्थात् बिजनेस पार्टनर

सन्तोषको विचारमा अब उनका बुवा पुस्ता उद्योग र व्यापार विस्तार गर्दैनन्। ‘जति चलेको छ, त्यसैलाई चलाऊँ भन्ने सोँच उहाँहरूमा छ। चुनौती लिन चाहनु हुन्न’, तर उनको सोँच ठीक उल्टो छ। भन्छन्, ‘हामीमा केही जाँगर छ, अझै उद्योग खोलौं, धेरैलाई रोजगार दिऊँ भन्ने छ।’

उता शिवशंकर पनि छोराको सोँच र प्रगति देखेर खुसी छन्। ‘मैले किराना पसल गरेर छाडेँ। जोगाउने त उनीहरूको कर्तव्य हो, जोगाएनन् भने उनीहरूलाई गाह्रो हुन्छ’, उनी भन्छन्।

पवनका अनुसार बाबुछोराको काम गराइमा पुस्तान्तरणको समस्या देखिन्छ। ‘म यथास्थितिमा कहिलेकाहीँ जान रुचाउँछु। तर छोरा अघि बढ्न चाहन्छ’, यसै विषयमा कहिलेकाहीँ डिस्कस हुने गरे पनि छोराले जस्टिफाई गरेपछि पवन सहमत हुन्छन्। ‘हामीले बुझाउनुचाहिँ पर्छ, नयाँ प्रविधि अपनाऔं भन्दा मान्नुहुन्छ’, सरोज भन्छन्।

उता आशीष जाजू बुवा महेशले बनाएको सिस्टम फलो गर्छन्। तर, सँगै केही फरक पनि गरिरहेका छन्। आशीषले भनेका कुराहरू महेश पनि सुन्छन् र गुन्छन्। आफ्ना बुवाको सोचाइ पनि युवाको झंै भएको बताउँदै आशीष भन्छन्, ‘जुन मलाई मन पर्छ, बोलिहाल्छु, उहाँले मान्नुहुन्छ।’

व्यवसाय थाल्ने वा बढाउने क्रममा शिव र सुदीपबीच पनि मतभेद हुन्छ। तर, ती मतभेद व्यवसायको विकासकै लागि हुने गर्छ। छोरा आफ्नो बिजनेस पार्टनरसमेत भएको बताउँदै शिव भन्छन्, ‘मतभेद स्वाभाविक हो तर छलफलबाटै निर्णय लिन्छौं।’

पुस्ता हस्तान्तरण

व्यापार, उद्योगमा नयाँ पुस्ता नयाँ सोँच र जाँगरका साथ आइरहेको छ। तर देशको नीति र वातावरण त्यति सकारात्मक हुन सकिरहेको छैन। नीतिमा सुधारको खाँचो छ, त्यसका लागि नेतृत्वमा तदारुकता आवश्यक छ। देशमा विदेशी लगानी भित्रिँदा स्वदेशमा भएका उद्योगहरू मारमा परेको गुनासो महेशको छ। ‘बहुराष्ट्रिय कम्पनीलाई तीन वर्ष कमाइ नगर्दा पनि हुन्छ तर हामीलाई फरक पर्छ’, उनी भन्छन्, ‘त्यसैले हामी जुन चिजमा आत्मनिर्भर छौं, कम्तीमा त्यो उद्योगमा विदेशी लगानी नभिœयाऔं।’

पवन आफूले १६ वर्षअघि उठाएका समस्याहरू अहिले पनि ज्यूँकात्यूँ भएको बताउँछन्। स्थिर सरकार नभएकाले पनि लामो समय देशमा उद्योग, व्यापार समस्याग्रस्त बनेको उनको भनाइ छ। ‘एकजना मन्त्रीलाई बुझाउँथ्यौं, काम गर्ने बेलामा अर्को व्यक्ति सरकारमा आइसक्थ्यो’, उनी भन्छन्, ‘राजनीतिक स्थिरता भयो भने उद्योग, व्यापार पनि फस्टाउँछ र त्यसको लागि नयाँ सोच र पुस्ता चाहिन्छ।’ उनी नयाँ सोच र पुस्ताको खाँचो व्यापारमा मात्र होइन, राजनीति र सिस्टममा पनि देख्छन्। भन्छन्, ‘एउटा उमेरमा आएर मैले छोरालाई व्यापार हस्तान्तरण गरेँ, अब राजनीतिमा पुस्ता हस्तान्तरण आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.