काकाकुल छ राष्ट्रपतिको जन्मथलो
मानेभञ्ज्याङ : रामप्रसाद राई गाउँपालिका मानेभञ्ज्याङ गडाकी ८ वर्षीया निशा खत्री हरेक बिहान झिसमिसेमै साउनेपानीस्थित धारामा पानी लिन आउनुपर्छ। तर, ५०–६० घरधुरीको घुइँचोमा गाग्री, चार–पाँचवटा बोतल भर्न पालो पर्खिंदा उनको स्कुल समय नै छुट्छ।
आउजाउ डेढ–दुई घण्टा, पानीको लाइनमा एक–डेढ घण्टा बस्दा उनी प्रायः स्कुल ढिला पुग्छिन्। कहिलेकाहीं त स्कुल जान नै भ्याउँदिनन्। ‘पानी लिन आउँदा–जाँदा ढिलो हुन्छ। समयमै स्कुल पुगिँदैन। पुगे पनि सर, मिसको गाली खानुपर्छ’, उनले भनिन्।
उनी मात्र होइन, मानेभञ्ज्याङवासी खानेपानी समस्याले पिरोलिइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी जन्मिएको मानेभञ्ज्याङका करिब पाँच सय १७ घरधुरीले सुक्खा र गर्मी मौसममा खानेपानी अभाव झेल्दै आएका छन्। यहाँका धेरैजसो बासिन्दा खानेपानीकै समस्याले विस्थापित भइसकेका छन्। विशेषगरी अर्चले, भोर्लेनी, आम्बोटे, गडा, अगौटे, रानागाउँ, गुराँसेलगायत गाउँवासीलाई बर्सेनि खानेपानी संकटले सताउने गरेको छ। अर्चले, भोर्लेनी र अगौटेका कतिपय बस्ती नै रित्तिसकेका छन्। गत वर्ष मात्र अर्चलेका नौ परिवार बसाइँ गएको स्थानीय कालुमान विकले बताए।
०७२ सालको भूकम्प र खडेरीका कारण मुहान सुकेपछि खानेपानी अभावले मानवीय संकट पैदा भएको स्थानीय तिलोचन तामाङको भनाइ छ। खानेपानीकै कारण बस्तीका बासिन्दा विस्थापित भएको र बाँकी परिवारलाई पनि जीवनस्तर चलाउन गाह्रो हुने गरेको उनले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारी जन्मिएको मानेभञ्ज्याङका करिब पाँच सय १७ घरधुरीले खानेपानी अभाव झेल्दै आएका छन्।
स्थानीयको दैनिकी पानी जोहो गर्नमै बित्ने गर्छ। साउनेपानी, भञ्ज्याङ र जुकेपानीका मुहानमा बिहान–बेलुकी महिलाको घुइँचो लाग्ने गरेको छ। एक गाग्रो पानी थाप्न बिहान ४ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको साउनेपानीकी ६६ वर्षीया लीलामाया निरौलाले बताइन्। ‘बिहानै आएर घण्टौं कुरेर लगेको खानेपानीले खाना बनाउन पनि भ्याइँदैन’, उनले भनिन्, ‘नानीलाई स्कुल पठाउन पनि भ्याइँदैन। बूढाबूढीलाई लाइनमा बस्दा समस्या पनि हुन्छ।’
घरपालुवा पशुपन्छीका लागि पनि समस्या भएको स्थानीयको भनाइ छ। ‘मान्छेका लागि त जहाँबाट भए पनि एक गाग्रो पानी जुटाइएला तर गोठका वस्तुभाउलाई कहाँबाट ल्याएर पु¥याउने ? ’, स्थानीय दीपक तामाङले भने, ‘वस्तुभाउ नै बचाउन कठिन भएको छ।’ खानेपानी अभावका कारण धेरै वस्तुभाउ पाल्नेहरू खोला किनारतिर सरिसकेका छन्।
बाँकी स्थानीयलाई विस्थापित हुनबाट रोक्न पिखुवा खोलाको पानी लिफ्टिङ प्रविधिमार्फत पु¥याउने उद्देश्यले योजना बनाइए पनि काम अघि बढ्न सकेको छैन। गत वर्ष खानेपानी योजनाका लागि वडा नम्बर ५ का प्रत्येक घरधुरीबाट दुई हजार ६ सय २० रुपैयाँ उठाइएको थियो। तर, योजनाले गति लिन नसकेको वडा सदस्य दलबहादुर खत्रीले जानकारी दिए। योजनाअन्तर्गत पिखुवा खोलाको पानी निकाल्न सके दुर्गम बस्तीका जनतालाई सेवा पुग्ने उनको भनाइ छ।
०००
मानेभञ्ज्याङको साउनेपानी धारामा खानेपानी थाप्नेको भीड। प्रदीपचन्द्र राई