मैथिली रंगमञ्चको रङ
दशकअघि मधेसको गाउँहरूमा कुनै समारोहमा हिन्दी सांस्कृतिक कार्यक्रम गर्ने वा आर्केस्ट्रा मगाउने चलन थियो। अहिले आएर भने मैथिली रंगमञ्चले निकै प्रभाव जमाएको छ। मैथिली रंगमञ्चमा जनकपुरकोे स्थान विशिष्ट छ। यहाँका कलाकारले देशमा विदेशमा राम्रो प्रसिद्धि पाएका छन्।
मैथिली रंगमञ्चको इतिहास
मैथिली नाटकको सुरुवात मिथिला क्षेत्रमा कर्णाटक वंशीय राजाहरूले शासन गरेको समयदेखि नै सुरु भएको मानिन्छ। त्यसपछि मल्ल र सेनवंशी राजाहरूले पनि मैथिली नाटकलाई मलजल गरे। मैथिली नाटकको रूपमा पहिलो पटक १४औं शताब्दीमा ज्योतिरीश्वर ठाकुरद्वारा लेखिएको ‘धूर्त समागम’ मञ्चन भएको बताइन्छ।
आधुनिक मैथिली नाटकको सुरुवात भने वि.सं २०१५ सालमा मञ्चन भएको पण्डित जीवनाथ झाको नाटक ‘दुर्गाविजय’ बाट भयो। भारतबाट आएका पण्डित झाले लामो समयसम्म जनकपुरमा अध्यापन गरेका थिए। उनका अतिरिक्त लालदास, मुन्सी रघुनन्दन दास, हर्षनाथ झा, तेजनाथ झा, त्रिलोचननाथ मि श्र, आनन्द झा, ठाकुरप्रसाद झा, शम्भुनाथ झा, शिवाकान्त ठाकुर, दामोदर झा, डा. बज्रकिशोर बर्मा, राधाकृष्ण चौधरी, गोविन्द झालगायतले मैथिली रंगमञ्चको भण्डारलाई अझ बढी फराकिलो बनाए।
मैथिली रंगमञ्चको फड्को
२०२० सालतिर जनकपुरमा कमरिया नाट्यकला, आधुनिक नाट्यकला परिषद् नामका केही संस्था थिए। तर, तिनले लामो समय हिन्दीमा नाटक मञ्चन गरे। यसै क्रममा राजदेव मि श्रको अध्यक्षतामा मैथिली भाषाको नाटक मञ्चनका लागि एक संस्था जन्मियो तर गति लिएन। २०३६ सालमा आएर मात्र सुदर्शन लालको अध्यक्षतामा मिथिला नाट्यकला परिषद (मिनाप) को गठन जनकपुरमा भयो। मिनापको स्थापनाकालदेखि नै यसका सहयात्री बनेका कलाकारहरू मदन ठाकुर, रामआशिष ठाकुर, भरतलाल दास, जोगेन्द्र साह नेपाली यस क्षेत्रका चर्चित नाट्यकर्मी हाल पनि सक्रिय छन्।
मिनापको गठनपछि मैथिली रंगमञ्चको कायापलट भएको हो। मिनापले भाषिक आन्दोलनसँगै रंगमञ्च, संगीत, साहित्य, नृत्य र मैथिली भाषासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ। सुरुमा मैथिली नाटकका गुरु महेन्द्र मलंगियाद्वारा लिखित मौलिक मैथिली नाटकहरू मिनापले मञ्चन गर्यो। उनको पहिलो नाटक ‘लक्ष्मणरेखा खण्डित’ हो। धनुषाकै वभनगामास्थित कन्टिर झा माध्यमिक विद्यालयमा वर्षौंसम्म अध्यापनरत मलंगियाले मैथिली नाटक निर्देशनलाई निकै उचाइ दिए।
२०३६ सालमा मिनापको गठनपछि मैथिली रंगमञ्चको कायापलट भएको हो।
धनुषाको देउरी परवाहामा रामरेखा पण्डितले रमेशरञ्जन झासँग मिलेर २०४२ सालमा युवा नाट्यकला परिषद् (युनाप) स्थापना गरे। यसैगरी आकृति नाट्य समूह (२०४९), रामानन्द युवा क्लब (२०५०), रंगदर्पणलगायतका संघसंस्थाहरूको पनि ठूलो योगदान छ। युनापले ‘देह पर कोठी खसादीय’, फटफटिया काका, काठक लोक, पुस जाढ कि माघ जाड, ओरिजनल कामलगायत दर्जनौं नाटक मञ्चन गरेको छ। आकृति नाट्य समूह हाल जीवन्त छैन। यस समूहका एकटा आओर वसन्त, पेटक खातिर, महिषसुर मुर्दावाद, आदर्श कुटुम्बजस्ता नाटकले मैथिली रंगमञ्चमा निकै चर्चा कमाएका छन्।
वर्तमान अवस्था
मैथिली रंगमञ्चलाई रमेशरञ्जन झाले दरिलो काँध दिइरहेका छन्। उनले २०३७ सालमा हिन्दी नाटक ‘चम्बल घाँटीके लुटेरे’ मा पहिलो पटक अभिनय गरेका थिए। त्योबेला हिन्दी नाटकहरू मात्रै बढी रुचाउने गरिन्थ्यो। २०३८ सालमा गाउँमै ‘विद्यापति’ मैथिली नाटक खेलेका झा ती दिन सम्झिन्छन्, ‘आफ्नै भाषामा नाटक हेर्न पाउँदा दर्शक निकै उत्साहित थिए।’ झाले धनुषास्थित आफ्नो गाउँ परवाहामा युवा नाट्यकला परिषदको स्थापना गरी युवाहरूलाई मैथिली रंगमञ्चमा आबद्ध गराउन पहल थालेका थिए। उनको मैथिली रंगमञ्चको यात्रा हालसम्म निरन्तर रहेको छ। नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको सदस्य सचिव रहेका झा भन्छन्, ‘मैथिली नाटक निकै सबल र सशक्त छ।
नाटकको विकल्पको रूपमा अरू कुनै मनोरञ्जनको साधन हुन सक्दैन।’ नयाँ विषयवस्तुसहित नाटक र प्रस्तुत गर्ने दायित्व पनि रंगकर्मीहरूको छ। हालको अवस्थामा जनकपुरबाट मैथिली रंगमञ्चमा निरन्तर नयाँ नाटक उत्पादन उत्साहजनक हुन नसक्दा दर्शकको रुझान पनि कम भएको झाको बुझाइ छ। उनी भन्छन्, ‘नाटकको प्रदर्शनका साथै योजना र व्यवस्थापन पनि निकै आवश्यक छ। व्यवस्थापनको पाटोमा मैथिली रंगमञ्च केही कमजोर भएकै हो।’
मैथिली रंगमञ्चको अर्का चर्चित पात्र हुन् परमेश झा। महोत्तरीको बथनाहा निवासी झा बाल्यकालदेखि नै अभिनय क्षेत्रमा क्रियाशील थिए। उनी गाउँमै हुने नाटक र सांस्कृतिक कार्यक्रमहरूमा पनि अभियन गर्थे। परमेशलाई ‘हिरो’ बन्ने ठूलो सौख थियो। मैथिलीको पहिलो चलचित्र मानिएको ‘दहेज’ मा अभिनेताको भूमिका पाएका झालाई उनको अभिनयकै कारण मिनापमा प्रवेश गर्ने अवसर मिल्यो। हाल मिनापका अध्यक्ष रहेका झा भन्छन्, ‘मैथिली रंगमञ्चको विकास तथा संवद्र्धनका लागि सरकारी प्रयास शून्य छ। यसमा लाग्नेहरू सौखको रूपमा लागिरहेका छन्।’
मैथिली रंगमञ्चमा हाँसोको पर्याय मानिने रामनारायण ठाकुरले महेन्द्र मलंगियाको सानिध्यमा मिनापमा प्रवेश पाए। ठाकुर मलंगियाले पढाउने विद्यालयकै विद्यार्थी थिए। उनी एकल अभिनयले हँसाउन माहिर छन्। मैथिली रंगमञ्चकै मोहको कारण सरकारी र अन्य जागिरसमेत छाडेका ठाकुर अहिले आएर जुन प्रकारको सम्मान मैथिली रंगमञ्चले पाउनुपर्ने हो, त्यो पाउन नसकेकोमा दुःखित छन्। भन्छन्, ‘मैथिली कलाकारप्रति सरकार उदासीन छ।’
नाटकघर निर्माण
मैथिली रंगमञ्चलाई अझ व्यावसायिक बनाउने योजनाका साथ हाल जनकपुरमा मिनापको पहलमा विद्यापति मैथिली सांस्कृतिक भवन नाटकघरको निर्माणकार्य अघि बढेको छ। जनकपुर उपमहानगरपालिका— ४ मा गुठी संस्थानको लिजमा प्राप्त दुई कठ्ठा पाँच धुर जग्गामा दुई करोडको लागतमा नाटकघर बन्न लागेको हो।
मिनापको नाटकघर निर्माण कार्यमा सहयोगस्वरूप नेपाल सरकारले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मार्फत २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नाट्यप्रेमी तथा मैथिली भाषा अनुयायीहरूसँग सहयोग लिएर काम अघि बढाइएको अध्यक्ष झाले बताए। यो नाटकघर बनेपछि मैथिली नाटक मञ्चनलाई व्यावसायिक रूपमा अघि बढाउन थप टेवा पुग्नेछ।