स्थानीय तहसँग सहकार्य बढाउँदै साझा
ललितपुर : साझा यातायातले स्थानीय तहसँगको सहकार्य बढाएको छ ।
साझाले यसअघि नै काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको छ । आगामी दिनमा अरु स्थानीय तहसँग सहकार्य बढाउँदै जाने योजना रहेको साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेय बताए ।
काठमाडौं महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरिद गरिसकेका छन् । काठमाडौं उपत्यका र उपत्यका बाहिरका धेरै नगरपालिकासँग पनि सहकार्य गर्न चाहेको उनले बताए ।
उनले भने, ‘हामीले अहिले दुईवटा निकायसँग सहकार्य गरिसकेका छौं आगामी दिनमा अरुसँग बढाउँदै जाने लक्ष्य छ ।’ साझा सरकारका विभिन्न निकाय, संघसंस्था र सर्वसाधारण नागरिकको लगानीमा सञ्चालित छ ।
सबैभन्दा बढी शेयर सरकारी क्षेत्रको रहेको छ । ९० प्रतिशत शेयर स्थानीय निकायलगायत सरकारी कार्यालयको छ । निजी क्षेत्रको तुलनामा सरकारी क्षेत्रको लगानी अझै बढ्न सक्ने उनले बताए ।
साझा यातायातका उपत्यकाभित्र र बाहिर गरेर जम्मा ४७ वटा बस सञ्चालनमा छन् । अघिल्लो महिनाबाट साझाले अपांगतामैत्री ‘सेमी लो–फ्लोर’ बस समेत सुरु गरेको छ । रासस