तराईमा चैते छठको रौनक (फोटो फिचर)
राजविराज/वीरगन्ज : तराईका जिल्लाहरुमा श्रद्धालु भक्तजनले शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै धार्मिक सहिष्णुता र सद्भावका लागि प्रसिद्ध चैते छठ पर्व मनाएका छन्।विभिन्न गाउँमा रहेका पोखरीमा ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि र दीघार्युको कामना गरे।
शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई र शनिबार बिहान उदाउँदो सूर्यलाई विभिन्न परिकार र फलको अर्घ दिएपछि चैते छठ सम्पन्न हुन्छ। बिहीबार ब्रतालुहरुले शुद्ध चोखो भई प्रसाद ग्रहण गरेका थिए। कार्तिक महिनामा पर्ने छठ पर्व मुख्य मानिए पनि यहाँ केही बर्षदेखि चैते छठ मान्ने ब्रतालुको संख्या बढदै गएको छ।
भाकल गरेकाले मात्र मनाउने गरेको चैते छठ मनाउनेहरु केही वर्ष यता तराईमा बढ्दै गएका छन्। तराईका अन्य जिल्लामा भन्दा बढी चैते छठको रौनक सप्तरी, जनकपुर, पर्सामा देखिन्छ। सँगै अहिले राजधानी काठमाडौंमा समेत चैते छठ मनाइन्छ। सुरुमा तराईबासीले मात्रै मान्दै आएको यो पर्व विभिन्न जिल्लामा लामो समयदेखि पहाडी समुदायले पनि विधि र श्रद्धापूर्वक मान्न थालेका छन्। यो पर्व मधेशी र पहाडी समुदायको धर्म, संस्कृति, चाडपर्व, रहन सहनलाई जोडने, सम्मान र श्रद्धा गर्ने सेतु तथा समावेशी पर्वका रुपमा स्थापित हुँदै गएको छ।
हिन्दु धर्ममा यहि मात्रै एउटा यस्तो पूजा हो जसमा उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउन लागेको सूर्यलाई पूजा गरिन्छ। यस पूजामा प्रायः सवै समुदायका मानिस बडो श्रद्धापूर्वक सहभागी हुने गर्छन्। छठको व्रत लिँदा चर्म रोग नलाग्ने, पुत्रलाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख समृद्धि आउने र परिवारका सदस्य सम्भावित दुर्घटनाबाट जोगिने धार्मिक विश्वास छ।
राजविराजमा चैते छठ मनाउँदै ब्रतालु। तस्बिर : मनोहर पोखरेल
वीरगञ्जमा छठको रौनक
वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैयालगायतका स्थानमा रहेका छठघाट (जलाशय)मा शुक्रबार साँझ सूर्य भगवान र छठीमातालाई अर्घ दिन ब्रतालुको भिडभाड थियो। सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ।
छठ पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन (शनिबार) बिहान ब्रतालुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत रुपमा समापन हुन्छ। यसअघि बिहिबार देखि निर्जला ब्रत लिएका ब्रतालुले बिहीबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए।
शुक्रबार साँझ वीरगन्जको घडीअर्वा पोखरी छठघाटमा छठीमाताको पूजा गर्दै ब्रतालु । तस्बिर : क्रान्ति शाह
महोत्तरीको बर्दिबासस्थित कामेश्वरनाथ महादेव मन्दिर नजिकै पोखरी किनारमा चैत्री छठ मनाउन पूजा समाग्रीसहित जम्मा भएका वर्तालु । तस्बिर : राजकरण महतो