महिला दर्शकलाई छुट्टै प्यारापिट
विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगितामा महिला दर्शकका लागि छुट्टै प्यारापिटको व्यवस्था गरिने भएको छ । दिवा÷रात्रि (डे-नाइट) प्रतियोगिता हुने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी महिला दर्शकका लागि फुटबल हेर्न छुट्टै प्यारापिट व्यवस्था गरिएको हो । प्रतियोगिता आयोजना हुने सहिद रंगशालाको पश्चिमतर्फको प्यारापिट फुटबलप्रेमी महिलालाई छुट्याइएको जानकारी गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजालले दिए ।
‘रातको समयमा पनि प्रतियोगिता आयोजना गरिने भएकाले फुटबल हेर्न आउने महिलाको सुरक्षालाई विशेष ध्यान दिइएको हो,’ उनले भने, ‘महिलाका लागि भनेर छुट्याइएको प्यारापिटमा पुरुष दर्शक प्रवेश गर्न पाउने छैनन् ।’ परिवारसहित खेल हेर्न आउने दर्शकका लागि पनि बस्न अलग्गै स्थानको व्यवस्था गरिएको जानकारी उनले दिए । उनले भने, ‘प्रतियोगितामा सीमित मात्रामा सिजनल टिकटको पनि व्यवस्था गरिएको छ ।’ एक हजार पाँच सय रुपैयाँ तिरेर यो टिकट लिने दर्शकका लागि प्यारापिटमा छुट्टै व्यवस्था गरिएको रिजालले बताए ।
विराटनगरको सहिद रंगशालामा १० हजार दर्शक अट्ने प्यारापिट छ । प्रतियोगिताको पाँचौं संस्करण चैत १७ देखि २६ गतेसम्म आयोजना हुँदैछ । मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना हुन लागेको हो । अध्यक्ष रिजालका अनुसार फ्लड लाइटमा म्याच खेलाएर ऐतिहासिक गोल्डकपलाई नयाँ ढंगले सञ्चालन गर्न लागिएको हो । रात्रिकालीन खेल खेलाउन टावर लाइट जडानको काम भइरहेको उनले बताए । ‘प्रतियोगिताका लागि ६ वटा बत्ती आवश्यक पर्छ,’ रिजालले भने, ‘शुक्रबारसम्ममा चारवटा जडान गरिसकिएको छ ।’ उनले सुरक्षाका लागि सहिद मैदान र वरपरका स्थानमा सीसी क्यामेरा जडानको कामलाई पनि तीव्रता दिइएको बताए ।
गोल्डकप आयोजक समितिका उपाध्यक्ष सन्तोष बानियाँले प्रतियोगिताका लागि मैदान व्यवस्थापनको ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । गोल्डकपमा उद्घाटनको दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइनेछ । आयोजकले यसपटक दर्शकलाई आकर्षित गर्नका लागि रात्रिकालीन खेल खेलाउन लागिएको जनाएको छ । गोल्डकपलाई व्यवस्थित रूपमा सम्पन्न गर्न २६ वटा उपसमिति गठन गरिएका छन् । उपाध्यक्ष बानियाँले प्रतियोगिताका लागि मूल आयोजक समिति र उपसमितिहरूले सक्रियता बढाएको जानकारी दिए ।
प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरी १० वटा टिमले सहभागिता जनाउनेछन् । पूर्वघोषित बंगलादेशी टिम भने नआउने भएको छ । ‘नेपालमा यूएस—बंगला जहाज दुर्घटना भएपछि बंगलादेशी खेलाडी त्रसित भएको बुझ्यौं,’ अध्यक्ष रिजालले भने, ‘अन्तिम समयमा आएर त्यहाँका खेलाडीले नेपाल प्रवेशका लागि प्रवेशाज्ञा पनि पाउन सकेनन् ।’ बंगलादेश नआउने भएपछि भारतकै दुईवटा टिम गोल्डकपमा आउने भएका छन् । भारतको सिक्किम युनाइटेड क्लब, मोहमदन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब विदेशी टिम हुन् ।
प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्बल, त्रिभुवन आर्मी क्लब, रमपम झापा—११ र आयोजक रिजालको मोरङ-११ टोली सहभागी हुँदैछन् । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । म्यान अफ दी टुर्नामेन्टले मोटरसाइकल पुरस्कार पाउनेछ । यसदेखिबाहेक विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिताबाट एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।