नेपाललार्इ जितेर अघि बढेको अफगानिस्तान विश्वकपमा
हरारे : समूह चरणको खेलमा तीन खेलमा हार व्यहोरेको र नेपालमाथि जित पारेकै आधारमा सुपर सिक्समा स्थान बनाउन सफल अफगानिस्तान अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकप छनोटअन्तर्गत शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा आयरल्यान्डलाई रोमाञ्चक खेलमा पाँच विकेटले पराजित गर्दै अफगानिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । अफगानिस्तानले आयोजक जिम्बावे र स्कटल्यान्डलाई अंकका आधारमा पछि पार्दै विश्वकपमा स्थान बनाएको हो ।
आयोजक जिम्बावे र स्कटल्यान्ड रन रेटमा अगाडि भए पनि पाँच खेलबाट ६ अंक बटुलेको अफगानिस्तान छनोट भएको हो । जिम्बावे र स्करल्यान्डले पाँच खेलबाट पाँच पाँच अंक बटुलेका छन् । सुपर सिक्सको पाँच खेलबाट आठ अंक जोडेको वेस्ट इन्डिजलेले यस अघि नै इङ्ल्यान्डको टिकट काटेको थियो । एसोसिएट राष्ट्र यूएईसँग जिम्बावे पराजित भएपछि अफगानिस्तान र आयरल्यान्डको भाग्य खुलेको थियो । अन्तिम खेलको विजेताले विश्वकपमा स्थान बनाउने अवस्थामा अफगानिस्तानले बाजी मारेको हो । छनोट चरणमा सहभागी नेपालले भने आठौं स्थानमा खुम्चिए पनि एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।
दुई सय १० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पाँच बल बाँकी छँदै लक्ष्य भेट्टायो । अफगानिस्तानलाई पहिलो पटक विश्वकपमा पुर्याउन विकेटकिपर ब्याट्सम्यान मोहमद साहजादले सर्वाधिक ५४ रन बनाए । यस्तै अर्का प्रारम्भिक ब्याट्सम्यान गुल्बादिन नइबले ४५ रन जोडे । यसैगरी कप्तान असगर स्टेनिकजाईले अविजित ३९ रन बनाए । आयरल्यान्डका सिमी सिंहले तीन विकेट लिए पनि टोलीलाई विश्वकपमा पुर्याउन सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट विकेट गुमाउँदै दुई सय नौ रनको योगफल खडा गरेको थियो । आयरल्यान्डको पालिमा पाउल स्टर्लिङले सर्वाधिक ५५ रन बनाए । यसैगरी केभिन ओ ब्रायनले ४१, निल ओ ब्रायनले ३६ तथा कप्तान विलियम पोटरफिल्डले २० रन जोडे । अफगानिस्तानका बलरले कसिलो बलिङ गरेपछि आयरल्यान्डले सुस्त गतिमा रन जोडेका थिए । अफगानिस्तानका रसिद खानले तीन तथा दौलत जाड्रनले दुई विकेट लिए ।