खुमबहादुरको स्वास्थलाभको कामना गर्दै दाङमा पूजापाठ
दाङ : नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै दाङमा पुजापाठ गरिएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ को सक्रियतामा तुल्सीपुरको सिद्वेश्वरी (कालिका) मन्दिरमा पुजापाठ गरिएको हो । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष एकराज खड्काले बिरामी रहनुभएका खड्काको स्वास्थ्य लाभको कामना गर्दैै पुजापाठ गरिएको बताए । पुजापाठमा जिल्लाका धेरैजसो नेताहरु, शुभेच्छुकहरु उपस्थित भएका छन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि खड्काको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । मृगौला र बाथसम्बन्धी समस्याका कारण नेता खड्का गम्भीर बिरामी परेका हुन् । पत्नी शिला गौतम खड्कासहित भारतको राजधानी नयाँदिल्लीमा उपचाररत खड्का छन् ।
खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्का मिर्गौला प्रत्यारोपण गरिए पनि निरन्तर कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी अहिले पनि कांग्रेसको एउटा गुटको नेतृत्व गर्दै पार्टीमा राम्रो प्रभाव छाडिरहेका छन् ।