न्याय छैन जुरेलीलाई

न्याय छैन जुरेलीलाई

बाटोमुन्तिर सिस्ने हिमाल हुँदै बगेको खोला हतारहतार भेरी भेट्न हान्निँदै थियो। त्यै खोलालाई साक्षी राखेर वारिपारि पहाड ठिंग उभिएका थिए। पारिपट्टि पहाड पहरामय थियो। पहरामा घरिघरि झारल, घोरल, नाउर तलमाथि गर्थे। वारिपट्टि फाटेको लुगा लगाएर ठिंग उभिएको मानिसजस्तै पातला जंगल र त्यसको छेउछाउमा दुब्लाएका गाउँ थिए। तिनै जंगल, भीर र गाउँ हुँदै जति हिँड्यो उति दुब्लाएको बाटो कान्छो जिल्ला पूर्वी रुकुमको अन्तिम गाउँ सिस्ने जाँदै थियो।

सिस्ने हिमालछेउ भएर डोल्पासमेत पुग्ने दुब्लो बाटो आधा वर्ष भने हिउँले पुरिएर माइत आउने÷जाने डोल्पाली र सिस्ने चेलीका माइत आउजाउ रोकिन्थ्यो।

Nabin_bibhasहिँड्दाहिँड्दै टाउको ठोकिएलाजसरी सिस्ने नजिकियो। लालीगुराँस फुलेको बोटमा अडेसिएर मोबाइलको क्यामेरा फेरि खुल्यो। त्यसपछि सुद्रीमा खाना खाएर हिँडेका लखतरान पाइला बाटो मास्तिर थापिएको पसलमा सुस्ताए।

खासमा चिया पसल थियो।

सुद्री गाउँ थियो, सांसद कमला रोका मगरको माइती गाउँ। सुद्री पुग्नुअघि भेटिने नायगाड काटेपछि भङ, भट्टेचौर, पाखापानी गाउँ, चार÷पाँचवटा भीर र जंगल काटेपछि भेटिएको यो नै पहिलो चियाखाना थियो।

फुलैफूल भएको कुर्तासुरुवाल लगाएकी एक महिला चियाखानामा राखिएको खाटमा पल्टेकी थिइन्। उनैसित अडेसिएका थिए, एक बालक। लाग्यो उनी नै हुन् चिया पसले। कारण थियो, हामी पस्नेबित्तिकै उठेर कपाले गुथेकी थिइन्। त्यस बेला तिनको गलामा झुन्डिएको चाँदीको मालामा उनिएका दुईवटा सेता दाह्रा हल्लिए।

दाह्राले जेई (आमा)को माला सम्झाए। पच्चीस पैसे ढ्याक उनेर बनाएको आमाको माला

(जसलाई चवानी माला भन्थे)मा दुईवटा दाह्रा थिए। कस्तुरीको दाह्रा भन्थे। सक्कली थिए कि नक्कली ? थाहा भएन।

रोल्पा-रुकुमेली ग्रामीण भेगमा यस्ता माला पुरानो पुस्तासँगै बाटो लागिसकेको थियो। तिनको गलामा देखेपछि जेईको मालाको हरर तिर्खा लाग्यो। थाहा भएन, उनको गलाको दाह्रा पनि सक्कली हो या नक्कली।

चिया तातो र चिसो दुवै थियो भने खाजाको रूपमा बिस्कुट र चाउचाउ।

'सिस्नेको लोकल खाजा छैन ? '

'चाउचाउबाहेक अरू छैन त।'

पसलमा स्थानीय खाजा नदेखेपछि सोध्यौं, 'कुन चाउचाउ ? '

प्रश्नसँगै बजारमा चल्तीका चाउचाउ नाउँ झरे।

'यता त यस्ता चाउचाउ पाइन्छ', हाइ काढ्दै चाउचाउका अनुहार देखाइन्। दुई÷तीन जातका चाउचाउ।

गएको वर्ष भेरी-कर्णालीका गाउँ घुम्दा पनि यस्तै चाउचाउ देखेथेँ। नौला। बिस्कुट नौला। नौला चाउचाउ। मेडिकलमा 'हाई डोजे' औषधि थिए। तिनले गाउँका सर्वसाधारणलाई पत्थरी, पखाला, प्यारालाइसिस थपेका थिए। तर, प्रशासन मौन थियो। राजनीतिक दल चुप थिए। विकासे संस्थाका के कुरा !

गुणस्तरहीन उनै चाउचाउ उमाल्न उनले सिल्भरको ताप्केमा पानी भरिन्। जुन ताप्के चुल्होको ओदानमा मोसो दलेर चोसो न मोसे भई बसेको थियो।

लगत्तै बालकले चाउचाउमा आँखा अल्झाएर पुलुक्क हेरे। उनको आँखाले भन्थ्यो, 'एउटा चाउचाउ मेरो लागि पनि !'

'बाबुचाहिँ तपाईंको छोरा ? '

'हजुर।'

'कति वर्ष ? '

'११'

'कहाँ पढ्छौ ? '

'यही गाउँ, भट्टेचौर।'

'घर कहाँनेर हो ? '

घर सोधेपछि उनले आमालाई पुलुक्क हेरे। त्यसपछि हामीलाई।

'न घर न गृहस्थी', छोरालाई सोधेको उत्तर उनले नै दिइन्।

'माइत ? '

'यै गाउँ हो।'

संयोग ! चिया पसलमै पुगे, ठूला सिस्ने हिँडेका एक आगन्तुक। उनको जीउ तीनपाने हावाले बेतालसित हल्लाइरहेको थियो।

पहिलो पालि सिस्ने जाने हो भन्ने थाहा पाउनेबित्तिकै उनले तीनपाने तालमा सिस्नेपुराण लाए। खासमा उनी रहेछन्, जडीबुटी व्यापारी। ठूला सिस्ने उनको ससुराल। दाबी गरे, 'सिस्नेबाट बिहे गर्ने म नै पहिलो डोल्पाली हुँ।'

त्यसपछि ?

चिया पकाइरहेकी महिलाबारे जानकारी गराउन अघि सरे।

'जुरेली', डोल्पालीले नाउँ भने। उनले रिसाएर डोल्पालीलाई आँखा तरिन्। लगत्तै भनिन्, 'कुमारी बूढा।'

उनका आँखा जुरेलीको जस्तै गाजले थिए। सायद यसैले कुमारीलाई जुरेली भने कि !

'बाबु, जेठा छोरा हुन् ? '

छोरोलाई पुलुक्क हेरिन्। त्यसपछि भनिन्, 'कान्छो।'

'कति छन् त बच्चाबच्ची ? '

'सात।'

'सात !'

ट्वाल्ल परी हेरिरहेको बेला भनिन्, 'चार छोरा र तीन छोरी।'

थाहा भयो, ४५ लागेकी उनका जेठो छोरोका दुई छोरा छन्।

पहिलो सन्तान पाउँदा उनी १५ को घरमा पस्दै थिइन्। ६ सन्तान जन्मेपछि उनका पति 'माथि' लागे।

अडेसिएर घरि आमालाई त घरि चाउचाउलाई हेर्ने बालकचाहिँ दोस्रो पतिबाट जन्मेका रहेछन्।

सानै उमेरमा बिहे र आधा दर्जन जति बच्चाबच्ची ! सुदूर गाउँमा अनौठो थिएन।

भित्तोमा अडेसिएर घरि आमालाई त घरि चाउचाउलाई हेर्ने बालक दोस्रो पतिबाट जन्मेका रहेछन्। सानै उमेरमा बिहे र आधा दर्जन जति बच्चाबच्ची ! सुदूर गाउँमा अनौठो थिएन।

चाउचाउसँगै डोल्पालीले जुरेली कथा पकाउन थाले। कतिखेर जुरेलीले असहमति जनाउन थालिन् भने कतिखेर डोल्पालीका कुरामा सही थाप्न।

पति मरेपछि उनी छोराछोरी सम्हालेर बसिन्।

त्यसै बेला एक दिन कोही आए। भने, माया गर्छु। त्यतिमै रोकिएनन्। भने, बिहे गर्छु।

ती मान्छे चिनजानका मात्र थिएनन्, आफ्नै गाउँका पनि थिए।

उनलाई 'हो' न 'हो' लाग्यो। त्यसपछि ? मन दिइन्। तन पनि दिइन्।

'तेरो घर लग' भनेँ। आज लग्छु भोलि लग्छु भन्यो। तर, लगेन। गर्भास्थीको तीन महिनापछि त भागेर कालापार (भारत) गयो। उतैबाट मलेसिया उडेछ', दोस्रो पति अर्थात् आँखाले नै चाउचाउ मागिरहेका बच्चाका बाबारे जानकारी गराउँदै ताप्केमा उम्लिरहेको चाउचाउलाई डाडुले चलाइन्।

'एकछिनका लागि भुल्लिगो। आज पछुताएर के गर्नु !'

त्यस बेला सहरमा कांग्रेस सरकार थियो भने गाउँमा माओवादी सरकार। उनलाई सरकारले 'कसको भुँडी' हो भनेर 'सांस्कृतिक कारबाही'स्वरूप कुट्यो।

पतिको घरको ढोका खुलेन।

शान्तिकाल आयो।

तैपनि दोस्रो पतिको घरको ढोका खुलेन।

दोस्रो पतिको घरको ढोका नखुल्नुका धेरै कारणमध्ये एक थियो, बोलवाला परिवार हुनु। उनका जेठाजु गाउँका शक्तिशाली थिए। राजनीति पनि गर्थे। व्यापार पनि गर्थे। गाउँका सबलाई उनले ठीक पारिहाल्थे।

'जान्नेभान्ने उनै छन्। कसले मलाई न्याय देओस्', उनले भनिन्।

कुराको पोयो फुक्दै जाँदा थाहा भयो कि झन्डै दुईघन्टे बाटो हामीसितै काटेका स्थानीय नेता उनकै जेठाजु परेछन्। तिनैले सिस्नेको राजनीति र समाजबारे जानकारी गराएका थिए। गाउँ पुग्नुभन्दा परै खोलाबाट अर्को गाउँ जानु छ भन्दै तिनी मास्तिर उकालिएका थिए।

जुरेलीले हिँड्नलाई कुनै बाटो देखिनन्। त्यसैले पर्खिइन्। पाँच वर्षसम्म कुरिन्। पाँच वर्ष कम्ती हो र ? जुग हो नि। तर, पति होइन, 'पोइल नजाँदासम्म नेपाल नफर्कने' पति-खबर पो आयो।

पुलिसचौकी र उनको गाउँबीचको झन्डै एक दिनको पैदल दूरी थियो। पुलिसचौकी थियो, अर्को गाविस (प्वाङ) को नायगाडमा। स्थानीय सरकार थिएन। सरकार भनेकै तिनै पुलिस न थिए। पुलिस पनि उनको पहुँचमा थिएनन्। जेठाजुकै मान्छे न थिए। किनकि 'अन्याय' त गाउँका सबले देखेका थिए। तर, कोही बोलेका थिएनन्।

jureli2

आफू बाटो नलागेसम्म पति मलेसियाबाट नआउने भएपछि पर्खनुको अर्थ देखिनन्। बग्दै गएको समयसँगै 'पर्खने' उनको मनले हार्न थाल्यो। त्यसै बेला कोही आए, उनलाई माया गर्न।

उनलाई पनि लाग्यो- धोकेबाजलाई बदला लिने मौका यै हो।

त्यसपछि ?

एक दिन छोरो बोकेर उनैको साथ लागिन्। उनैसित बुटवलमा छाप्रे होटल थापिन्।

तेस्रा पति सोचेभन्दा फरक निक्ले।

'राँरी (विधवा)लाई यसरी धोका दिने भनेर चोटैचोटले बिहे गरेँ। तर, बिहे गरेको मान्छे लफंगा परेछ— रक्सी खाने र तरुनीको पछि लाग्ने', माइती गाउँ फर्कनुको कारण खोतल्दै ब्याउले भैंसीले जसरी सास फेरिन्, 'लफंगा केटोसित होटल गरी बसेँ। नेपालगन्जदेखि उताको भन्थ्यो। ...सात वर्षसम्म झेलेँ। पहिले पनि राँरीखुरी हो, अहिले पनि राँरी भई आएँ।'

गएको असोजमा मात्र उनी बुटवलबाट फर्केकी थिइन्, आफू जन्मेको गाउँ।

जुरेलीले स्कुलको आँगन टेक्ने अवसर पाइनन्।

सिस्ने (सिंगो गाविस, अहिले सिस्ने गाउँपालिकाको एउटा वडा)मा प्लस टु पास गर्ने संख्या १० पुगेको थियो। भङ, भट्टेचौर, डम्मारा, पाखापानी, लाम्पाखा र ठूलो सिस्ने गरी साविकको सिस्ने गाविसमा मतदाता आठ सयको हाराहारीमा थिए।

प्लस टु पास गर्ने १० जनामा ६ जनाचाहिँ महिला थिए। महिला संख्या बढी हुनुको कारण रहेछ, एसईई पास हुनेबित्तिकै लोग्नेमान्छेचाहिँ साउदी÷मलेसिया उडिहाल्थे।

सिंगो सिस्नेमा पाँच घर दलित थिए भने बाँकी बुढा। सुदूरपश्चिम र भेरी-कर्णालीको धामी संस्कृति पछ्याउने बुढा।

सिस्नेवासीलाई आफ्नो गाउँपालिका केन्द्र रुकुमकोट पुग्न तर्केर डेढ दिन हिँड्नु पथ्र्यो। सिंगै एउटा गाविस (प्वाङ) काटेर बल्ल पुगिन्थ्यो। भलै राज्य पुनर्संरचना भने सर्वसाधारणका जीवनशैली सहज बनाउनलाई गरिएको हो, भनिएको थियो।

मोटर पुगेको थिएन। यातायातको साधन नै खच्चर थिए। स्थानीय उत्पादनले पुग्दैन। सिस्ने हिमाल जाने बाटो भए पनि न टे«किङ रुट खुलेको थियो न त पर्यटक आउने माहोल नै।

पुरुषप्रधान नेपाली समाजमा जुरेली नौलो थिइनन्। भलै सहरमा भए, जुरेली कुनै विकासे महिला अधिकारकर्मीका आँखामा पर्न सक्थिन्। नपर्न पनि।

रुकुमको पनि अति दुर्गम सिस्नेकी उनलाई कसले सुन्नु ?

यति हुँदाहुँदै पनि जुरेली आम महिलाभन्दा फरक थिइन्।

एक, रोएरै भए पनि दोस्रो पतिको ढोका कुरिनन्।

दुई, धोकाको बदला लिन तेस्रो बिहे गर्ने 'साहस' गरिन्। भलै ती पति गतिला भएनन्। तीन, एक्लै हिँड्न कस्सिएर फर्किइन्, माइती गाउँ।

आफू जन्मेको गाउँमै फर्केकी जुरेलीको एउटै जपना थियो, छोरालाई बाउको जिम्मा लगाउने।

'छोरो लग्ला। होइन भने बाबु को हो देखाइदेला', छोरा जिम्मा लगाउने धोको सुनाइन्।

छोरा गाउँकै (भट्टेचौर) स्कुलमा पढ्थे।

बाँकी जिन्दगी बिताउन उनीसित बनिबनाउ कुनै योजना थिएन। र, थिएन त्यस्तो योजना पनि कि अर्को घरजम गरूँ !

उनका तीन बहिनी र एक भाइ। भाइ बिते। गाउँमै बिहे गरेकी कान्छी बहिनी घरज्वाइँ बसेकी थिइन्।

उनलाई गाउँका मास्टरले बस्ने बास दिएका थिए, जहाँ चिया पसल थापेकी थिइन्।

न्याय कसले दिन्छ ? कसरी पाइन्छ ? कहिले पाइन्छ ? अनभिज्ञ थिइन्। र, न्याय दिने राज्यका निकाय बिराना।

चाउचाउ र जुरेली कथा सँगसँगै पाके। भोकले लखतरान मनमा जुरेली कथा र पेटमा चाउचाउ पसेपछि तन भारी भयो। ठूला सिस्ने हिँडेका पाइला जति पर पुगे उति एउटा प्रश्न एम्बुस थापिए- के न्याय नपाई जुरेलीले बाँकी जिन्दगी पनि यसरी बिताउने हुन् ?

सिस्ने हिमालमुन्तिर ठूला सिस्नेतिर पाइला जति नजिकियो मन झन खसखसायो, 'जुरेली कहिले सहभागी होलिन् न्याय खोज्ने जुलुसमा? '


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.