ट्विटरमा फेक न्युज
'परिणामपछि म निकै आश्चर्यमा परेँ,' सिनन एरलले सीएननलाई भने, 'सत्यभन्दा झुटा खबर छिटो फैलन्छ भन्ने थाहा पाएर होइन, कुन परिमाणमा फैलन्छन् भन्ने जानकारी पाएर।' सोरोस भोसोउघी र डेब रोयसँग मिलेर अध्ययन÷अनुसन्धान गर्नेमध्यकै एक हुन्, सिनन।
एरलले माथि भनेका कुरा अनुसन्धान गर्न झन्डै दुई वर्ष लाग्यो। अध्ययनबाट के पत्ता लाग्यो भने एउटा साँचो समाचार १५ सय ट्विटर प्रयोगकर्तामाझ पुग्न झुटो समाचार फैलिनभन्दा ६ गुणा बेसी समय लाग्छ। अर्थात्, अनुसन्धानले भन्छ- एउटा झुटो समाचार सही सूचनाभन्दा छिटो गतिमा प्रसारण हुन्छ।
'परिणाम अलि निराशाजनक छ,' एरलले भने, 'समाजमा सामाजिक सञ्जालले पारेको प्रभावमाथि उनले १० वर्षदेखि अध्ययन गरिरहेका छन्। 'हाम्रो समाजको सिर्जनशीलता जति सबै नचाहिँदो काममा खर्च भइरहेको छ। झुटमा अल्झिरहेका छौं। आतंकवाद, महामारीमाथि प्रतिक्रिया दिँदा त्यसले राष्ट्रिय अर्थतन्त्र माथि नै प्रभाव पार्छ। हाम्रो क्षमता, योग्यता नकारात्मक क्षेत्रमा खर्च भइरहेको तथ्य सत्य हो।'
अनुसन्धादाताले २००६ देखि २०१७ सम्म ट्विटरमा छरिएका हजारौं समाचार र करोडौं ट्विटलाई अध्ययन गरेका थिए। ट्विटरमा आएका ती समाचार कति साँचो÷झुटो हुन् भन्ने थाहा पाउन 'फ्याक्ट चेकिङ' संस्थामा भर परेका थिए। अनुसन्धान्दाताहरू ट्विटरमा मात्र सीमित भए। एरलले भने कि यसको परिणाम सामाजिक सञ्जालका अन्य रूपहरूमा पनि विस्तार हुन्छ।
राजनीतिक क्षेत्रका गलत समाचार अन्य क्षेत्रका भन्दा छिटो र चारैतिर फैलने बताउँछन् अनुसन्धानदाता। अध्ययनले देखाउँछ कि राजनीतिक सूचना अन्य क्षेत्रका भन्दा भाइरल हुने गर्छ। अन्य क्षेत्रका गलत समाचारभन्दा राजनीतिक क्षेत्रका गलत समाचार चौतर्फी रूपमा द्रुत गतिमा फैलन्छ। यस्ता गलत समाचार २० हजार मान्छेको पुग्न अरू समाचार १० हजार मान्छेको पुग्नभन्दा तीन गुणा छिटो भयो।
अचम्मलाग्दो त के छ भने यस्ता गलत समाचारहरू सत्यकै रूपमा फैलने रहेछन्। 'सत्य समाचार झुटाभन्दा छिटो फैलन्छन्। किनकि मान्छेहरू त्यसैमा रमाइलो मान्छन्। गलत हल्लाहरू फैलाउन चाहन्छन्। यो दुईवटा आश्चर्यजनक परिणाम आयो,' एरलले भने। यस्तै, गलत सूचनाहरू दु्रत गतिमा फैलन्छन् भन्ने अर्काे तथ्य पत्ता लाग्यो।
यस्ता गलत सूचना फैलाउनेमा हाइप्रोफाइल ट्विटर प्रयोगकर्ता भने पर्दैनन्। अनुसन्धानदाताले भनेका छन् त्यस्ता गलत सूचना फैलाउनेको फलोअर कम छन् र त्यस्तालाई ट्विटरले साँचो समाचार फैलाउनेलाई भन्दा कमैलाई भेरिफाइड गरेको छ।
एरलले सीएनएनलाई भनेका छन्- व्यावहारिक रूपमै जुध्नु नै यस्ता फेक न्युजलाई हटाउने उपाय हो। समाचारका स्रोतहरू कतिको आधिकारिक छन् भनेर छुट्याउनुपर्छ। त्यसपछि मात्र यस्ता गलत समाचारको फैलावटलाई घटाउन सकिन्छ। त्यस्तै, गलत समाचार प्रकाशित गर्नेलाई आर्थिक रूपमा प्रोत्साहन पनि गर्न हुँदैन। फेसबुकले यसको सुरुवात गरेको छ। यो सहयोगी बन्न सक्छ। समाधानका उपाय जे हुन्, अनुसन्धानदाताहरू यस्ता खाले समस्याको समाधान गर्नुपर्छ भन्नेमा छन्।
'गलत समाचार कसरी फैलन्छ भनेर थाहा पाउनु नै यसभित्र पस्ने पहिलो पाइलो हो,' तीन अनुसन्धानदाताले आफ्नो रिपोर्टमा लेखेका छन्, 'हामी आशा राख्छौं कि हाम्रो कामले अरू ठूला अनुसन्धानलाई पनि सहयोग गर्छ। गलत समाचारहरू छिटो फैलनुको कारण र अवस्थाबारे थाहा पाउन सजिलो हुन्छ र समाधान गर्न पनि सहयोग पुर्याउन सक्छ।'
(सीएनएनबाट)