सडक बालबालिकाको विश्वकप यात्रा

सडक बालबालिकाको विश्वकप यात्रा

सातदोबाटोस्थित एन्फा मैदानमा साँझ फुटबल खेलमा व्यस्त रहन्छन् विभिन्न संस्थामा आश्रित बालबालिका। गएको शुक्रबार अभ्यास खेलका बेला नेपाली फुटबलका पूर्वकप्तान हरि खड्कालाई आफूसामु पाउँदा बालबालिका हर्षले गद्गद् भए।

ramkala-copyआगामी मे १० देखि रसियाको मस्कोमा 'सडक बालबालिकाका लागि विश्वकप खेल' आयोजना हँदैछ। त्यसमा सहभागी हुने नेपाली टोलीमाझ हरि खड्काको उपस्थितिले उनीहरूमा जोश थपियो। तालिम अवधिभर खेल मैदानमा बसेर बालबालिकामा जितको आत्मविश्वास जगाएका नेपाली फुटबल स्टार खड्काले यी खेलाडी विश्वकपको ट्रफी घर भित्याउन सक्षम रहेकासमेत प्रतिक्रिया दिएका थिए।

लेफ्ट डिफेन्सबाट खेल्दै आएका १६ वर्षीय विकास तिमल्सिना हाल सांग्रिला अर्फनेज होम चापागाउँमा बस्छन्। स्थायी घर जुम्ला भएका उनको घरमा फुपू र काकाहरू मात्रै छन्। दिनहँ एन्फा मैदानमा हुने तालिम नछुटाउने उनले विश्वकप प्रतियोतिगामा जित्ने लक्ष्यका साथ हाल कडा मेहनत गरिरहेका छन्।

विङ्सबाट खेल्ने गरेका १५ वर्षीय रमेश साहलाई फुटबल खेलाडी विमल घर्तीमगर असाध्यै मन पर्छ। विमललाई भेट्ने रमेशको ठूलो धोको भए पनि त्यो अवसर अहिलेसम्म जुरेको छैन। उनी तीन वर्षको हुँदा नै सिफलस्थित बाल संरक्षण गृहमा ल्याइएका हुन्। पहिले उनका आमाबुवा दुवै जेलमा थिए। अहिले आमा घरमा छिन् तर बाबुको बारेमा उनलाई थाहा छैन। बाल व्यवसाय माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने उनले भूकम्पपछि मात्रै फुटबल सिक्न थालेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली लगायतले उत्कृष्ट खेल प्रदर्शन गरी देशको नाम राख्न बालबालिकालाई हौस्याएका छन्।

उनलाई नेमार असाध्यै मन पर्छ। नेमारजस्तै खेल्ने चाहना उनको छ। आफ्नो समूहले निकै कडा मेहनत गरेकाले जित्छौं भन्नेमा उनी पूर्ण ढुक्क पनि छन्। रमेशकै साथी सन्तोष खत्रीको भने मेसीजस्तै बन्ने सपना छ। बालमन्दिरमा बसेर काभ्रेस्थित पाँचखाल भ्याली स्कुलमा कक्षा ८ मा पढ्ने उनी मिड फिल्डमा खेल्छन्।

कहालीलाग्दो जीवनकथा

हरेक बालबालिकाको फुटबलसँग जोडिएका सपना भिन्न भएझैं उनीहरूको जीवनकथा पनि बेग्लै छ। पोखरास्थित थ्री एन्जल संस्थामा बस्दै आएका १६ वर्षीय सचिन विकको घनघोडास्थित घरको आर्थिक अवस्था दयनीय छ। घरमा बूढाबूढी आमाबाबु मात्रै छन्। उनी थ्री एन्जल इन्टरनेसनल मिसन स्कुलमा ९ कक्षामा पढ्छन्। प्रतियोगिताका लागि पढाइ छाडेर काठमाडौंमा बस्नुपर्दा उनलाई केही दुःख त लागेको छ तर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने यति ठूलो अवसर जोकोहीले नपाउने हुनाले उनी निकै हर्षित छन्। मिड फिल्डबाट खेल्ने गरेका उनले दैनिक खेल अभ्यासका साथै साथीहरूसँग कसरी बस्ने र एकापसमा कसरी सहयोग गर्ने भन्नेसमेत सिकेका छन्।

थ्री एन्जलकै अर्का खेलाडी विशाल बादीका घरमा बाजेबज्यै र आमाबाबु सबै छन्। तर, उनीहरूलाई फुटबलबारे थाहा नभएकाले खेल्दा हातखुट्टा भाँचिएला भनेर उनीहरूले धेरै पीर मान्ने गरेका छन्। १४ वर्षीय विशालको पनि घरको अवस्था राम्रो छैन। खान, लाउन समस्या छ। सुकुमबासी बस्तीमा भएकाले घर पनि राम्रो छैन। थ्री एन्जलमा आएपछि आफूले सबै सुविधा पाएको बताउने विशाल पनि विमल र नेमारका फ्यान हुन्। संस्थाका प्रमुख राजेन्द्र गौतमले उनलाई राम्रो फुटबल खेलाडी बनाउँछु भनेको उनले बिर्सेका छैनन्।

मैदानमा उत्रिएका बालखेलाडीमध्येका १५ वर्षीय मनवीर घिसिङलाई यसरी खेल्दाखेल्दै कुनै दिन राजदूतसँग भेट होला भन्ने लागेको थिएन। हेटौंडा घर भई हाल बानेश्वरस्थित 'खुसी नेपाल'मा बस्दै आएका उनी एक दिन मैदानमै नेपालका लागि कतारका राजदूतलाई देखेर चकित भए। घरको आर्थिक अवस्था निकै कमजोर भएपछि दुई वर्षअगाडि मात्रै काठमाडौं आएका उनी आफू सक्षम बनेर गाउँ नै फर्कन चाहन्छन्। डिफेन्समा खेलिरहेका मनवीर यस खेलले फुटबलका नियममात्रै नभई टिमवर्क पनि सिकाएको अनुभूत गर्छन्। कतारका राजदूत आफूहरूसँगै खेल्न मैदानमा उत्रिएपछि आफूहरूमा भएको टिमवर्कको भावनामा थप बल पुगेको उनले बताए।

फिफा सी कोचिङ प्रमाणपत्रसमेत पाएका राजदूत युसिफ विन एमडी अल हेलले खेललाई अझै सुधार गर्न दिएका टिप्स निकै उपयोगी रहेको एक्सन लभ नेपालमा बस्दै आएका पवन शाहीले बताए। पवन अहिले ललितपुर एकेडेमी, ढोलाहिटीमा कक्षा १० मा पढ्छन्। कर्णालीमा गाडी खसेर बाबु बितेपछि उनलाई आफन्तले ल्याएर संस्थामा छाडेका हुन्। होस्टेलमा आमाबुवाझैं माया गर्ने शिक्षकशिक्षिका पाएपछि उनका दिन रमाइलोसँग बित्दै छन्। स्ट्राइकरमा खेल्ने उनले अभ्यासका क्रममा पनि धेरै गोल हानिसकेका छन्। यही वर्ष एसईई परीक्षा पनि दिनुपर्ने भएकाले उनी दिउँसो पढ्छन्, अनि साँझ फुटबल तालिममा आउँछन्।

खेल मैदानमा उत्रिएका सबै खेलाडीभन्दा अझै संवेदनशील जिम्मेवारी हुन्छ गोलकिपरको। सिन्धुपाल्चोकका एरोन कार्की यही भूमिकामा उत्रिएका छन्। उनकी आमा बितिसकिन् भने बाबा विदेशमा छन्। एरोन कक्षा १० का छात्र भए पनि फुटबलमा बढी समय दिन परेकाले पढाइमा ध्यान दिन भ्याएका छैनन्। त्यसैले एसईई समेत अर्को वर्ष मात्रै दिने उनको योजना छ। यद्यपि यस वर्ष विश्वकप जितेर यसको भरपाई गर्ने उनको ठूलो धोको छ।

लेभल, स्पिड राम्रो

मस्कोमा हुने विश्वकपका लागि यी खेलाडीहरूलाई प्रशिक्षण दिने काम गरिरहेका छन्, प्रमुख प्रशिक्षक राजन न्यौपानले। उनलाई एसिस्टेन्ट कोच नवीन महर्जनले सहयोग गरिरहेका छन्। आफूहरूले लामो समय तालिम गराइसकेकाले बालबालिकाको लेभल, स्पिड र अन्य टेक्निकल पाटो पनि राम्रै रहेको उनको भनाइ छ। उनीहरू तालिमका लागि समयमै आउने, कोचले भनेको मान्ने र अन्य अनुशासन पनि पालना गर्ने भएकाले विश्वकपमा उत्कृष्ट प्रस्तुति दिनेमा उनी ढुक्क छन्।

तालिमकै बीचमा उनीहरूलाई एन्फाकै 'अन्डर १४ टिम'सँग पनि मैत्रीपूर्ण म्याच खेलाइएको छ। यसको अनुभवले पनि बालबालिकालाई निखारेको उनले बताए। विश्वकपअगाडि नै कतारमा एक महिना क्लोज क्याम्प गरी उनीहरूलाई प्रशिक्षण दिने आयोजकको सोच छ। यत्ति गर्न नसकिए पनि सबै खेलाडीलाई एउटै होटेलमा राखेर तालिम गराउने आफूहरूले सोचेको प्रशिक्षक न्यौपानेले बताए।

विश्वकप प्रतियोगितामा बालबालिकालाई सहभागी गराउन आफूहरूले विगत पाँच वर्षदेखि प्रयास गर्दै आएको आ श्रय नेपालकी अध्यक्ष खुश्वु ओलीले बताइन्। खेलमार्फत बालबालिकाको क्षमता प्रदर्शन गरेर उनीहरूलाई सशक्तीकरण गर्नुका साथै नयाँ प्लेटफर्म प्रदान गर्ने उद्देश्यले आफ्नो संस्थाले बालबालिकालाई विश्वकपसम्म जोड्न खोजेको उनको भनाइ छ।

बालबालिकाको छनोटका लागि आ श्रय नेपालले दसैंअगाडि नै एउटा नेसनल लिग आयोजना गरेको थियो। प्रतियोगितामा सहभागी विभिन्न संघसंस्थाका एक सय २३ बालबालिकाबाट २६ जना छनोट गरी क्लोज क्याम्पमा राखिएको हो। ती खेलाडीलाई सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा प्रशिक्षण गराएर तिनबाट पनि उत्कृष्ट १२ जना छानिएको थियो।

यूके च्यारिटी स्ट्रिट चाइल्ड युनाइटेडले आयोजन गर्ने उक्त विश्वकप टुर्नामेन्टमा नेपाललगायत अन्य २२ राष्ट्रका २४ वटा टिमले सहभागिता जनाउँदै छन्। विश्वकपमा सहभागी हुने बालबालिकाको मनोबल बढाउन विभिन्न बैंकका टिमले पनि उनीहरूसँग मैत्रीपूर्ण म्याच खेलिसकेका छन्। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका व्यक्तित्वले पनि उनीहरूसँगको भेटमा उत्कृष्ट खेल प्रदर्शन गरी देशको नाम राख्न हौस्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.