लोग्ने !
रातको ११ बजे। चकमन्न अँध्यारो। टाढाटाढा कुकुर भुकिरहेको आवाज। निदाउने तर्खरमा थिएँ। एउटा अपरिचित फोनले झस्कायो। उठाएँ। उताबाट एउटा मलिनो पुरुष आवाज आयोे, 'दाइ मलाई आपत् पर्यो। श्रीमती हराएको चार दिन भयो। सामान्य ठाकठुक भएको थियो। आज बेलुकी पोखराबाट फोन गरिन्। फेवातालपारि एउटा घरमा थुनेर राखेको छ रे। खै कताबाट लुकेर अर्कैको मोबाइलबाट फोन गरेकी थिइन्।'
फोन काटियो। मैले गरेँ। उसले फेरि भन्यो, 'मकवानपुर माइती जान हिँडेकी थिइन् रे। कलंकीमा ४ जना केटीहरूसँग भेट भएछ। उनीहरूले पोखरामा राम्रो काम पाइन्छ भनेर फकाएर लगेछन्।' उसले मलाई रुँदै 'छिट्टो लिन आउनु, मलाई जे पनि गर्न सक्छन्। डर लागिरहेको छ' भनेकी छन्। 'लौन दाइ, मलाई सहयोग गर्नुपर्यो। चार दिनदेखि खोज्दाखोज्दै भएको पैसा सबै सकियो। पोखरासम्म जाने खर्च पनि छैन।'
सामान्य चिनजान थियो ऊसँग। ऊ मजदुरी गथ्र्यो। श्रीमती पनि मजदुरी गर्थिन्। दुई बालबच्चा थिए, साथमा। उसको कुरा सुनेपछि निद्रा हरायो। छटपटी भयो। तर, के गर्ने अब ? पोखरातिरका साथीहरू सम्झिएँ। व्यथा पोख्ने तहमा कोहीसँग घनिष्ठता थिएन। एनटीसीको कल सेन्टरमा फोन गरेर कास्की जिल्ला प्रहरीको नम्बर मागेँ। नम्बर त पाइयो तर लागेन। फेरि महानगरपालिकाको प्रहरीको नम्बर मागेँ, त्यो पनि लागेन। एनटीसीमा फोन गर्दागर्दा ब्यालेन्स सकियो। ब्यालेन्ससँगै उपायहरू सकिए। त्यो भाइको फोन लगातार आइरह्यो।
अब उपाय लगाउने पालो श्रीमती (अनिता)को। उनले पनि अनेक उपाय लगाइन्। फेसबुकमा साथीहरू खोज्न थालिन्। एकजना फेसबुके साथीले बारामा कार्यरत इन्स्पेक्टरको नम्बर उपलब्ध गरायो। उनलाई फोन गरेर घटनाको बेलिविस्तार लगाएँ। एकछिनपछि इन्स्पेक्टरले पोखराका इन्स्पेक्टरको नम्बर दियो र भोलि गएर उनलाई भेट्न लगाउनु भने।
उसलाई बिहानै चाबहिल बोलाएँ। पोखराका इन्स्पेक्टरको नम्बरसँगै १५ सय रुपैयाँ हातमा थमाएँ। उसले बीचबीचमा फोन गर्ने कबुल गर्यो अनि हतारिँदै पोखराका लागि बिदा भयो।
दिनभरि फोन आएन। साँझ पनि आएन। रात झमक्क पर्यो अहँ फोन आएन। मनमा खुल्दुली लागिरह्यो। रातको १० बजेतिर आफैंले फोन गरेँ। उसले मन्द स्वरमा भन्यो, 'दाइ, एकजना आफन्तले तिम्रो बूढी बिहे गरेर गएको हुन सक्छ, तिमीलाई मार्न पोखरा बोलाएको पनि हुन सक्छ भन्यो। मलाई त डर लाग्यो। म त पोखरा गइनँ दाइ।' झस्किएँ, केही बोलिनँ। उसले हेलो हेलो भन्दै थियो। मैले फोन काटेँ।
सामाजिक आडम्बरमा शासन गरिरहेको मजस्ता लोग्नेहरूलाई धिक्कार छ। मजस्ता लाचार लोग्नेहरू उत्पादन गर्ने यो सामाजिक व्यवस्थालाई धिक्कार छ।
फोन त काटेँ, तर अब मन स्थिर रहेन। माथिंगल घुम्न थाल्यो। दिमागमा खेल्न थाल्यो अनेक प्रश्न। उसकी श्रीमती पोइल नै गई होलिन् त ? अर्कैसँग गएकी भए श्रीमान्लाई किन रुँदै उद्धारका लागि भन्थिन् ? उसलाई मार्न किन पोखरा नै बोलाउँथिन् ? यस्तो पनि सोचेँ, त्यो भाइले १५ सय पैसा लिन नाटक गर्यो ! होइन। यस्तो हुनै सक्दैन। मनमनै निष्कर्षमा पुग्छु। घटना सत्य हो। ती निरक्षर युवती विपत्मा परेको पनि सत्य हो। उनी पक्कै प्रलोभनमा परिन्। पछि मानव तस्करको जालमा परिन्। उनलाई सहयोगको खाँचो छ। उनलाई उद्धार गरिनुपर्छ। तर के गर्ने अब ?
अब मस्तिष्कमा घुम्न थाल्यो, बिहान १५ सय रुपैयाँ लिने निरीह लोग्नेको ख्याउटे अनुहार। कति कायर, कति लाचार, कति डरपोक त्यो लोग्ने। एकमनले सोचेँ, त्यस्ता लाछीको श्रीमती हुनुभन्दा अर्कैसँग पोइल गएकै ठीक। अर्को मनले सोचेँ, त्यो लोग्ने त्यत्तिकै बनेको होइन। उसको पछाडि उसको इतिहास छ। ऊ बाँचेको सामाजिक संरचना छ। हो, उसलाई यही समाजले यस्तो बनाएको हो। यही सामाजिकीकरणको प्रक्रियासँगै हुर्किएको हो ऊ पनि। ऊजस्तै लोग्नेले शासन गरेको समाज हो यो। तर, यो समाजको एउटा हिस्सा म पनि त हुँ, ऊजस्तै एउटा लोग्ने। ठ्याक्कै ऊजस्तै लिंगधारी लोग्ने।
अब सोच्न थालेँ, यो समाजमा ऊ र मजस्तो लोग्ने कति होलान् ? जसले जुगजुगदेखि शासन गरिरहेको छ। घरको मूली लोग्ने। मेरो कोठाको मूली म लोग्ने। मेरो अफिसको हाकिम लोग्ने, मेरो वडाको अध्यक्ष लोग्ने। स्कुलको शिक्षकदेखि विश्वविद्यालयको प्राध्यापकसम्म लोग्ने। जिल्लाको सिडियो लोग्ने, देशको प्रधानमन्त्री लोग्ने। अमेरिकाको राष्ट्रपति, भारतको प्रधानमन्त्री र चीनको राष्ट्रपति पनि लोग्ने। रसियादेखि सिरियासम्मका राष्ट्रप्रमुख लोग्ने। यो लोग्ने नै लोग्नेले भरिएको संसार।
यस्तै लोग्नेहरूका दासतामुनि इतिहासमा कति थिचिए होलान् हजुरआमाहरू ? कति लुटिएका होलान् दिदीहरू ? लोग्नेद्वारा निर्मित सामाजिक पिँजडामा कति थुनिएका होलान् दिदीबहिनीहरू ? निरीह तर सामाजिक आडम्बरमा शासन गरिरहेको मजस्ता लोग्नेहरूलाई धिक्कार छ। मजस्ता लाचार लोग्नेहरू उत्पादन गर्ने यो सामाजिक व्यवस्थालाई धिक्कार छ।
दिमागमा घुम्न थाल्यो ती महिलाको तस्बिर। मजदुरी गरेर जीविकोपाजर्न गर्ने ती निरक्षर महिला अहिले के गर्दै होलिन् ? पक्कै आफ्नो लोग्ने आएर उद्धार गर्ने प्रतीक्षामा होलिन्। फिल्ममा हिरोले जसरी दर्जनौं खलनायकलाई परास्त गरेर नाडीमा समाएर लिएर जाने कल्पनामा होलिन् !
झस्किन्छु बेलाबेलामा। कतै बम्बईको कोठीमा पुर्याइसक्यो कि ! कतै खाडी पो पुर्यायो कि ! भोलि बिहान फेयर एन्ड लब्लीको विज्ञापनमुनि 'सामूहिक बलात्कारपछि हत्या' भन्ने समाचार पो पढ्नुपर्ने हो कि ! झस्किन्छु। उनको लोग्ने सम्झन्छु अनि मनमनै भन्छु, बहिनी ! अब आउँदैन तिम्रो राम बाँदरको लावालस्कर लिएर तिमीलाई लिन। यहाँ त घरघरमा हरेक राम धुनी बालेर बसेका छन् तिम्रो अग्निपरीक्षा लिन। अब चार दिवार फोरेर आफैं निस्क बाहिर।
आज एक साता बित्यो। त्यो 'लोग्ने' भनाउँदोले त्यसपछि मलाई फोन गरेको छैन। मैले पनि उसलाई फोन गरेको छैन। अनिताजीले के भयो भनेर सोधिरहनुभएको छ। म निरुत्तरित छु। एउटा लोग्नेको उत्तर हराएको छ। म उत्तरको खोजीमा छु।