नारीवादको प्रतिरोधी चरित्र समाप्त भइसक्यो

नारीवादको प्रतिरोधी चरित्र समाप्त भइसक्यो

कात्यायनी समकालीन भारतीय कवितामा प्रखर प्रतिरोधी कविका रूपमा स्थापित स्रष्टा हुन्। उनका 'सात भाइयों के बीच चम्पा', 'इस पौरुषपूर्ण समय में', 'जादु नहीं कविता', 'एक कुहरा पारभाषी'जस्ता कवितासंग्रह प्रकाशित छन्। 'दुर्गद्वार पर दस्तक' र 'कुछ जीवन्त कुछ ज्वलन्त' उनका प्रसिद्ध गद्य किताब हुन्। राजनीति र सांस्कृतिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील कात्यायनीसँग समकालीन लेखन र विमर्शमा केन्द्रित भएर सरिता तिवारीले कुराकानी गरेकी छन्-

. नेपालमा यहाँलाई स्वागत छ। अग्रज नेता शशिप्रकाश र लेखक सत्यमसहित आउनुभएको छ। भ्रमणको उद्देश्यबारे केही भन्दिनुस् न।

- धन्यवाद। नेपाली वाम राजनीतिसँग जोडिएका राजनीतिकर्मी र साहित्यकार मित्रसित हाम्रो सम्पर्क झन्डै चार दशक पुरानो हो। हामीले यहाँका राजनीतिक परिदृश्यबारे आफ्ना पत्रपत्रिकामा निरन्तर लेख्दै आएका छौं। आउन त नेपाल पहिले पनि आएकै हो तर ऊ बेला काठमाडौंकेन्द्रित भ्रमण भए। यसपालि नेपालगन्जबाट दाङ, चितवन हुँदै काठमाडौं, पोखरासम्मको यात्रा तय गरिएको छ। तर, घूमघाम र भेटघाट नै प्राथमिक उद्देश्य होइन, बदलिँदो परिस्थितिमा यहाँको वस्तुस्थितिको अलि मूर्त अध्ययन गरौं भन्ने हो। यहाँ राजनीति, कला साहित्य, संस्कृतिमा क्रियाशील साथीहरूसित संवाद गरौं भन्ने पनि उद्देश्य हो।

तपाईंका कविताले आजको भारतीय कवितामा राम्रो हस्तक्षेप गरेको छ। भारतीय कविताको परम्परा र समकालीन कवितामाथि तपाईंको मत कस्तो छ ?

- भारतभूमिको आधुनिक चेतना औपनिवेशिक सामाजिक-आर्थिक संरचनाभित्रबाट उपनिवेशविरोधी राष्ट्रिय चेतनासहित विकसित भएको हो। फलस्वरूपः कवितामा पनि साम्राज्यवाद विरोधी राष्ट्रिय जनवादी धाराका विविध रूप विकसित भए। यद्यपि भारतीय कविताको चेतना युरोपको मानववाद, जनवाद र आधुनिकताका मूल्यसहितको चेतनाका तुलनामा कमजोर थियो। छायावादलाई नै हेर्नुस्।

यसमा रहस्यवाद र अभिजात्य कृत्रिमता नै बढी थियो। छायावादी लहरका निराला मात्रै त्यस्ता कवि हुन् जसले वेदान्त दर्शनका सीमा नाघेर र्‍याडिकल, परम्पराभन्जकका रूपमा हिन्दी कवितालाई नयाँ दिशा दिए। प्रगतिवादी धारा पनि सुरुवातमा उति गतिलो होइन, 'नयी कविता' आन्दोलनबाट आएका मुक्तिबोधका कविताले नै हो माक्र्सवादी धारालाई उचाइ दिएको। उनी आजसम्मकै पहिलो र अन्तिम दार्शनिक माक्र्सवादी कवि हुन्। नयी कविताकै अज्ञेय प्रयोगवादी धारातिर लागे। उनको वैचारिक वंशजहरू शीतयुद्धकालीन अस्तित्ववाद, पतनशील रुग्ण प्यक्तिवाद हुँदै रूपवादका विभिन्न रंगमा अल्झिएका छन्।

१९५० को दशकमा जनवादी कविहरूको व्यापक पंक्ति आयो। त्यसमा नागार्जुन, त्रिलोचन, शमशेर, केदारनाथ अग्रवाल आदि थिए। साठीको दशकमा 'अकविता' जस्ता विविध अराजकतावादी, सर्वनिशेधवादी आन्दोलनको वर्चस्व रह्यो। सन् ६७ को नक्सलबाडी किसान विद्रोहले प्रायः सबै भारतीय भाषाका कवितालाई गहिरो प्रभाव पार्‍यो। आज ख्याति कमाएका जति पनि शीर्षस्थ वामपन्थी कवि छन् उनीहरू यही पिँढीका हुन्। १९८० को दशकमा जनवादी धाराको अर्को सशक्त पिँढी आयो तीमध्ये केही नवरूपवाद, उत्तरआधुनिकतावाद, प्राच्यवाद र अस्मिता राजनीति (आइडेन्टिटी पोलिटिक्स) बाट प्रभावित भए। र केहीले नवउदारवादी अर्थनीति र साम्प्रदायिक फासीवादको राजनीतिविरुद्ध आज पनि प्रभावशाली लेख्दै छन्।

पछिल्लो एक-डेढ दशकमा वाम जनवादी धाराभित्र प्रकट अविनाश मि श्र, अरुण देव, अनुज लुगुन, शिरीष मौर्य, भाष्कर चौधुरी, शुभम् श्री, महेश बर्मालगायतको व्यापक पंक्ति छ जसको मौलिकता र सृजनशीलताले पाठक र आलोचकको ध्यान खिच्दै छ। पछिल्लो पिँढीमध्ये अधिकांश वैचारिक विभ्रमको भयावह सिकार भएको देख्छु तर यही पिँढीमा केही यस्ता कवि छन् जसमा छुट्टै बाटो र विशिष्ट पहिचान बनाउने क्षमता छ।

अलिकति व्यक्तिगत कुरा गरौं। नुक्कड, नाटक, पत्रकारिता, राजनीतिक मोर्चा हँदै सम्पादन र लेखन ! तपाईं लामो र विविध चरणबाट विकसित आन्दोलनकारी बौद्धिक महिला। आजका सांस्कृतिक संकटसित कसरी जुधिरहनुभएको छ ?

- क्रान्तिकारी वाम राजनीतिको सम्पर्कले म थिएटरमार्फत आएकी हुँ। विद्यार्थी राजनीतिमा पनि क्रियाशील भएँ। १९८६ देखि कविता र महिला विषयक वैचारिक लेखन थालेकी हुँ। १९८६ देखि १९९० सम्म पत्रकारिता पनि गरेँ। श्रमजीवी महिलाबीच निकै समय राजनीतिक काम गरियो। अहिले पनि लेखन, प्रकाशन इत्यादि गर्दागर्दै पनि म संगठन र आन्दोलनमै छु।

जुन लेखक आफ्नो सुविधापूर्ण अध्ययन कक्षमा बसेर कल्पनाका घोडा दौडाउँदै क्रान्तिकारी साहित्य रच्छन् ती 'ट्रोजेन हर्स' हुन्। गद्दार हुन्। म यी छद्म वामपन्थीलाई घृणा गर्छु।

यी काम गर्दा सडकमा गुन्डासँग भिडिएन कि ! पुलिससँग लडिएन कि ! गिरफ्तारी, भोक, अभाव र यातना त कति हो कति ! तर, यिनै कुराले मलाई राजनीतिक रूपले अनुभव सम्पन्न र साहित्य सिर्जनको ऊर्जा दिन्छन्। राजनीति र संस्कृतिको क्षेत्रमा निरन्तर जोडिएकाले आजको फासीवादी सांस्कृतिक संकटलाई मैले नजिकबाट अनुभव गरेकी छु। श्रमजीवी मजदूर, अल्पसंख्यक र महिला- अहिले यी तीन समुदायमाथि फासीवादले बर्बर धावा बोलिरहेको छ। यतिखेर हाम्रो मुख्य लडाइँ फासीवाद विरुद्ध नै केन्द्रित छ, त्यसको सांस्कृतिक वैचारिकी विरुद्ध।

लेखन र एक्टिभिज्म दुबै तरिकाले 'महिला' नै तपाईंको मूल सरोकार देखिन्छ। भारतमा नारी आन्दोलनको अवस्था कस्तो छ ? समस्या कस्ता छन्?

- वामपन्थी कोणबाट हेर्दा भारतमा नारी आन्दोलन सुरुबाटै उति बलियो थिएन। कम्युनिस्ट आन्दोलनले जसरी जाति, धर्म र लिंगजनित रुढीविरुद्ध महिलाको पहलकदमीमा ध्यान दिनुपथ्र्यो, त्यसरी कामै गरेनन्। तेलांगनादेखि नक्सलबाडीसम्मका आन्दोलनमा महिलाहरू वर्गचेतनासहित उत्रिए तर तिनलाई विशिष्ट रूपले संगठित गर्नेतर्फ चासो नै दिइएन। स्त्री प्रश्नमाथिका सैद्धान्तिक काम साह्रै कम भए। बुर्जुवा नारीवादविरुद्ध लेखिएका माक्र्सवादी विमर्शको त कुरै नगरौं, वाम संगठनहरूले माक्र्स, ऐंगेल्स, लेनिनका स्त्री विषयक लेखनसम्म पढ्ने पढाउने काम गरेनन्।

१९८० र ९० ताका नारीवादी आन्दोलनका वैश्विक लहर आए तर तिनलाई एनजीओ-राजनीतिको नेटवर्कले खर्लप्पै निलिदियो। आज पनि कतिपय संशोधनवादी वाम पार्टीका महिला संगठन छन् तर अकर्मक 'डिपार्टमेन्ट'का रूपमा मात्र। क्रान्तिकारी वामधाराले पनि विचार र सामथ्र्य दुवैै तहमा महिलालाई संगठित गर्ने मोडल तयार गर्न सकेको छैन। बुर्जुवा नारीवाद, उत्तर माक्र्सवादी नारीवाद, आइडेन्टिटी पोलिटिक्सविरुद्ध माक्र्सवादी लेखन अत्यन्तै न्यून मात्रै भएको छ। हामीले संगठनात्मक र विमर्शात्मक तहमा केही प्रयत्न गरिरहेका छौं।

लेखनमा पक्षधरताको विरोधका स्वरहरू पनि छन्। लेखकीय एकान्तको विषय पनि उत्तिकै उठ्छ। यसबारे के भन्नुहुन्छ ? तपाईं त हरेक स्त्री लेखक 'पोलिटिकल एक्टिभिस्ट' हुनुपर्छ भन्नुहुन्छ। मुखर एक्टिभिज्म र सामथ्र्यपूर्ण लेखन एकैसाथ कसरी सम्भव छ ?

- कुनै पनि लेखक राजनीतिक पक्षधरताभन्दा बाहिर हुनै सक्दैन। सचेतन नभए अचेतनकै रूपमा किन नहोस् लेखकको वर्गीय अवस्थिति र पक्षधरता हुन्छ। चिन्तन र सिर्जनको समयमा त निश्चित रूपमा एकान्त र शान्ति चाहिन्छ तर त्यसका लागि कच्चा माल कहाँबाट आउँछ ? दैनन्दिनको राप र सामाजिक-राजनीतिक सक्रियताबाट होइन ? लु सुन, नाजिम हिक्मत,

पाब्लो नेरुदा, तो हु, ब्रतोल्त ब्रेख्त, वाल्टर बेन्जामिन, लोर्का, पौल रब्सन, क्रिस्टोफर कडवेल, रोखे दाल्तोन, न्गुगी वा थ्योंगो आदि एसिया, युरोप, अफ्रिका, अमेरिका। सबै महाद्विपका कैयौं कवि लेखकको जीवन र कृतित्वलाई हेर्नुस्। हाम्रै पिँढीको कुरा गरौं, हामीले एउटा विस्फोटक सामाजिक-राजनीतिक संकटको समयले लेखनकर्म थालेका हौं। नवउदारवाद र फासीवादको त्यो उदाउँदो समय ! बाबरी मस्जिद ध्वंस, गोधरा, गुजरात २००२ र अहिले आएर मोदी शासन ! तपाईं आफैं भन्नुस् यस्ता अवस्थामा एउटा सच्चा लेखक सुविधाजनक ढंगले लेख्न सक्छ ? यस्तो समयले लेखकसित पोलिटिकल एक्टिभिस्ट बन्ने माग गर्छ। यतिखेर फासीवादविरुद्ध यदि हामी सडकमै निस्केर आन्दोलित हँदैनौं भने हामीले लेखक हुनुका दायित्व कसरी निर्वाह गर्न सक्छौं र ?

नारीवादी आन्दोलन र यसका धाराहरूबारे केही कुरा गरौं। हाम्रातिर कतिपय माक्र्सवादी समालोचकहरू नारीवादले महिला मुक्ति आन्दोलनलाई खण्डित गर्छ भन्ने तर्क गर्नुहुन्छ। तपाईंलाई पनि यस्तै लाग्छ ? तपाईंको विचारमा यी दुई सहगामी हुन सक्छन् कि सक्दैनन् ?

- २०औं शताब्दीको पूर्वाद्र्धसम्म बुर्जुवा नारीवादी आन्दोलनको एउटा सकारात्मक भूमिका थियो जतिखेर यसले महिलाको मताधिकारलगायतका राजनीतिक प्रश्न उठाएको थियो। १९६० को दशकमा आइपुग्दा पनि भियतनाम युद्धविरोधी आन्दोलन, अश्वेत अधिकार आन्दोलन र विद्यार्थी आन्दोलनसँग पश्चिममा उठेका नारीवादी आन्दोलनहरू जोडिएका थिए। आज हेर्नुस् यसको प्रतिरोधी चरित्र समाप्त भइसकेको छ। एनजीओ सुधारवादले यसलाई नराम्ररी खाइदिएको छ। बुर्जुवा नारीवादका नयाँ पुराना सबै धाराहरूले महिलाको प्रश्नलाई ऐतिहासिक पृष्ठभूमि र वर्गीय परिप्रेक्ष्यदेखि भिन्दै रूपमा हेर्छन्। पुरुष स्वामित्ववादलाई समाजको वर्गीय ढाँचासँग गाँसेर हेर्नुपर्नेमा मुद्दालाई महिला भर्सेस पुरुषका रूपमा अपव्याख्या गरिदिन्छन्।

घरेलु दासता, प्रजनन र यौनसम्बन्धमा महिलाको भूमिकालाई मुख्य सरोकार बनाएर बाँकी एजेन्डा छोडिदिन्छन्। नारीवादको एजेन्डामा श्रमजीवी महिला कतै उपस्थित देखिन्नन्। यी सीमा हुँदाहुँदै पनि म नारीवादलाई महिलामुक्ति आन्दोलनको विरोधी मान्दिनँ र सँगसँगै यी दुई सहगामी हुन सक्छन् भन्ने पनि मलाई लाग्दैन। नारीमाथि दासताको सुरुवात निजी स्वामित्व, वर्ग समाज र राज्यसत्ताको उद्भवसँगै भएको हो। यी संरचनालाई समाप्त गर्न महिला मुक्तिको प्रश्नलाई अहम् स्थान दिएर बलियो सामाजिक, राजनीतिक क्रान्तिको निरन्तरता चाहिन्छ भन्ने मान्छु।

भारतीय समाजका कतिपय अनुदारता भित्रैबाट उत्पादन भएको एउटा चिन्तक पनि हो, तपाईं। एउटी नारीको 'विचारक' व्यक्तित्व निर्माणको लडाइँ कस्तो हुँदो रहेछ ?

- यो सामाजिक ढपमा बाँचेर विचार, सिर्जन र आन्दोलनको संसारमा सक्रिय भूमिका निर्वाह गर्न एउटी महिलाले पुरुषभन्दा दस गुणा बढी मेहनत गर्नुपर्छ। दस गुणा बढी चुनौती र समस्याको सामना गर्नुपर्छ। दस गुणा बढी बलिदान गर्नुपर्छ। परिवार र समाजको संरचनाभित्र प्रत्यक्ष-परोक्ष, सूक्ष्म-स्थुल अवरोध सिर्जना गर्ने पितृसत्तात्मक मूल्यहरू छन्। अध्ययन र चिन्तनको लागि उसले अलग्गै समय निकाल्ने कुरो त आन्दोलनहरूमा हिँड्ने कुराभन्दा पनि अझ गाह्रो छ।

घरेलु रुटिनका कामको बोझबाट दिमागलाई मुक्त गराउन सजिलो छैन। र, फेरी समस्या के पनि हो भने उसका विचारहरू सहजै स्वीकृत पनि हुँदैनन्। कैयौंपल्ट उसले पूर्वाग्रह र अनावश्यक हमलाको सिकार हुनुपर्छ। मर्दवादको खतरनाक विषाणु बाहिर मात्रै कहाँ छ र ? कम्युनिस्ट पंक्तिमा पनि खाँदीखाँदी भरिएको छ। यी सबै कुरासित लामो, शतत् सांस्कृतिक लडाईंले मात्रै सुल्झाउन सकिन्छ।

तपाईंका कतिपय निबन्ध र कवितामा वाम बुद्धिजीवी र लेखकप्रति तिखो कटाक्ष पाइन्छ। लेखकीय दायित्वलाई 'सिजनल' प्रतिरोधमा सीमित गर्ने र वक्तव्यबाजी गर्ने प्रवृत्तिमाथि तपाईंको रोष अलि कडै खाले छ। तर, उनीहरूले आफ्ना सीमाका बाबजुद केही न केही त गरेकै छन्। होइन र ?

- मेरो विचार के हो भने जुन लेखक र बुद्धिजीवी आफ्नो सुविधापूर्ण अध्ययन कक्षमा बसेर कल्पनाका घोडा दौडाउँदै क्रान्तिकारी साहित्य रच्छन् र सँगसँगै सत्ता-प्रतिष्ठान वरिपरि प्रदक्षिणा पनि गरिरहन्छन्, पद-पीठ-पुरस्कारको दौडमा सहभागी पनि छन् ती 'ट्रोजेन हर्स' हुन्। गद्दार हुन्। म यी छद्म वामपन्थीलाई घृणा गर्छु। यिनका घोषित विचार र व्यवहारमा छेउ-टुप्पो केही मिल्दैन।

यसले जनसाधारणको नजरमा समग्र वामपन्थ र वामपन्थी साहित्यलाई बदनाम बनाएको छ। जनजीवनसितको दूरीका कारण यिनले लेखेको साहित्यमा पनि कुनै वजन भेटिन्न। आम पाठक भने यस्तै साहित्य नै प्रगतिशील साहित्य हो भन्ने भ्रममा हुन्छन्। यिनै कुराले प्रगतिशील साहित्यको छवि धमिल्याइदिएको छ। यो प्रजातिका प्राणीले वामपन्थी, प्रगतिशील, जनवादी साहित्य कला संस्कृतिको आन्दोलनमा कुनै योगदान दिएका छैनन्, हानि मात्रै पुर्‍याएका छन्।

संस्थापन संरक्षित 'लिट् फेस्ट कल्चर' विरुद्ध उभिने आह्वान गर्दै केही महिनाअघि प्रगतिशील लेखक संघ राजस्थानले समानान्तर साहित्य उत्सव गरेको थियो जसमा तपाईं पनि आमन्त्रित हुनुहुन्थ्यो। त्यहाँ एकै समयमा जेएलएफ (जयपुर लिटरेचर फेस्टिभल) र पीएलएफ (प्यारलल लिटरेचर फेस्टिभल) को टकरावजस्तै दृश्य देखियो। तर, कतिपय सन्दर्भमा वामपन्थी लेखकमा अलि बढ्तै रक्षात्मक मनोविज्ञान पनि देखियो। यसबारे के भन्नुहुन्छ ?

- मैले धेरै पहिलेदेखि नै भन्दै आएकी छु, आजको परिस्थितिमा संस्थापनको सांस्कृतिक आक्रमणको प्रतिकार यस प्रकारका प्रतिकात्मक अनुष्ठान या आत्मरक्षात्मक हर्कतबाट सम्भव छैन। भारतको कुरा गर्दा फासीवाद भुइँतहका समुदायदेखि संगठित मध्यमवर्गसम्म पुगेर भिजेको प्रतिक्रियावादी परियोजना हो। यसले संस्कृतिको क्षेत्रलाई नै आफ्नो मुख्य रणक्षेत्र बनाउँछ। यसलाई परास्त गर्न भुइँ तहका श्रमजीवी समुदाय र मध्यमवर्गभित्रका र्‍याडिकल प्रगतिशील हिस्सासँग मिलेर सामाजिक आन्दोलन निर्माण गर्नुपर्ने हुन्छ।

साथसाथै श्रमजीवी वर्गका बीचमा पुगेर सांस्कृतिक काम गर्नुपर्छ। यति मात्रै होइन, संस्कृतिकर्मीहरू फासीवादविरोधी राजनीतिक आन्दोलनमै सहभागी बन्नुपर्छ। यो समय कुलीन संस्कृति-कर्मको अनुकरणको होइन, जुझारु सामाजिक-सांस्कृतिक प्रतिरोधका कार्यक्रमको हो। समानान्तर साहित्य उत्सव या यस्ता अन्य कार्यक्रममा मेरो सहभागिताको एकमात्र उद्देश्य आफ्ना यी विचार वाममार्गी लेखक र संस्कृतिकर्मीसम्म पुर्‍याउनु हो।

 जे सोचेर लेखन कर्ममा आउनुभएको थियो, ती पूरा हुँदैछन् ? तपाईंका संकल्प र प्रयत्नका परिणाम आइरहेका छन् भन्ने लाग्छ ?

- हेर्नुस्, जस्तो समयमा हामी बाँचिरहेका छौं, यो अवश्य पनि सजिलो समय होइन। यसरी सोच्दा म आफ्नो लेखनकर्मका परिणामबाट धेरै हदसम्म सापेक्षिक सीमासहित सन्तुष्ट छु। तर, पूर्णरूपले ढुक्क र सन्तोष चाहिँ छैन। यस्तो सन्तोषले लेखकको रचनात्मक अवसान गराउँछ। असन्तोषले नै हो केही नौलो काम गर्न ऊर्जा दिने हो। म लेखनलाई आफ्नो अनिवार्य र आधारभूत कर्म मान्छु। किनभने जस्तै परिस्थितिमा पनि म यो काम गर्न सक्छु। तर, कविता मात्र लेख्दै थपक्क बस्ने कुराले मलाई सकस दिन्छ। मैले अझै धेरै सांस्कृतिक र प्रतिरोधात्मक काम गर्नु छ।

नेपाली पाठकहरू पुरानो समयका भारतीय लेखकसँग त लगभग परिचित छन्। युवा पुस्ताका कविको नाम सिफारिस गर्नुपर्दा कुन-कुन नाम लिनुहुन्छ ?

- स्थापित हुँदै गरेको पिँढीबारे बोल्न अलि गाह्रो के। कारण यिनले आफ्नो पहिचान र शैली बनाइसकेका छैनन्। अर्को कुरा के पनि हो भने युवा पुस्ताका कविहरू कि त बिल्कुलै अराजनीतिक छन् कि राजनीतिक रूपले अधकल्चा। केही रूपवादी भड्काउका सिकार पनि भइरहेका छन्। सिफारिस नै गर्नुपर्दा अविनाश मि श्र, भाष्कर चौधुरी, आत्मारञ्जन, आर चेतनक्रान्ति, अमिताभ चौधरी आदिको नाम लिन्छु। प्रभावको कुरा गर्ने हो भने अहिले पनि अघिल्लो पिँढीकै क्रियाशीलता र नेतृत्व छ। तिनीहरूमध्ये मंगलेश डबराल, मनमोहन, असद जैदी, विष्णु नागर, निर्मला गर्ग, देवीप्रसाद मि श्र, सविता सिंह, अजन्ता देवलगायतलाई सम्झन्छु।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.