धौलागिरि फन्को
रघुगंगा (गण्डकी) नदी माथिको अजिंगर भीर नब्बे डिग्री उकालोमा छ। स्थानीयवासीले बीचबाट पहरा फोरेर बनाएको बाटो पार गर्दा चुनौतीपूर्ण भए पनि पैदलयात्रा अविस्मरणीय हुन्छ। चट्टान फुटाएर बनाएको साँघुरो बाटो पार गरेर अन्नपूर्ण आधार शिविरसम्म आइपुग्दाको आनन्द बखान गरेर सकिँदैन।
मगर र छन्त्याल जातिको मौलिक संस्कृति, रहनसहन र खानाले पर्यटक मख्ख हुन्छन्। बेलायती पर्यटक रोवर्ट अन्थोनी गिव्वोन्स भीर पार गर्दा निकै डराए। तर, झी गाउँको होमस्टेमा रमाउन पाउँदा हर्षित भए। जाँदा झी गाउँ हँदै गए पनि फर्किदा अजिंगर भीर हँदै फर्कनुपर्छ।
दुई हजार मिटरमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका-५ झी गाउँ, चिमखोला, घाँसीखर्क र राईखोर गाउँलेको स्वागतले धौलागिरि आधार शिविर सम्मको पैदल यादै हुँदैन। हिमाल नजिक देखिन्छ, ससलधारादेखि ओडार कामोसम्मको हाइकिङ पुगेर फर्किने झन् आनन्दित हुन्छन्। भिरालो जमिनमा खचाखच बनेका घर अनि भीरमुनि बसेका खतरनाक बस्तीहरू पदयात्रीका लागि हेरिरहूँजस्तो लाग्छ। धौलागिरि हिमालले नजिकको झी गाउँसम्म पुगेको सडकले पदयात्रालाई झन् छोट्याएको छ। ढुंगाले छाइएका घर, बारीमा रोपिएका नगदे बाली र स्थानीयवासीको ओहोरदोहोरले पनि पर्यटकलाई आनन्दित बनाउँछ।
बेनीदेखि झी गाउँसम्म गाडीको सुविधा छ। झी गाउँदेखि राईखोर, छारी, फेदी, ससलधारा, छारी, चिमखोला गाउँमा क्रमशः क्याम्प राखेर काठमाडौंदेखि सातौं दिनमा आधार शिविर पुगिन्छ। यो रुट बेलायती पर्यटक मिसेस सिन प्रितचर्ड जोन्सको पहिलो पदयात्रा थियो।
झी गाउँको होमस्टेमाथि रहेको तोप्के डाँडादेखि अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«े हिमाल प्रत्यक्ष नियाल्न पाइने भएकाले यो पदयात्रा रुट सबैको रोजाइमा परेको छ। हिमालसँगै बाटामा देखिने पानीको झरना, छाँगा र खोलाले झन् सौन्दर्य थप्छन्।