त्याग र समर्पणको प्रतीक

त्याग र समर्पणको प्रतीक

साहित्यकार एवं पत्रकार सबिन प्रियासनको पाँचौं उपन्यास 'सहनशीला' हालै बजारमा आएको छ। उपन्यासले पारिवारिक सुख कसरी प्राप्त गर्न सकिन्छ ? जीवनसाथीको मायालाई कसरी प्रगाढ बनाउन सकिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्दै घरपरिवारको महत्व दर्शाएको छ।

खासगरी उपन्यासको मुख्य पात्र सहनशीलाले १२ वर्षपछि श्रीमान्को माया पाएको प्रसँग छ। त्यसअघि श्रीमान् अरू नै केटीसँगको प्रेममा डुबेको, त्यस अवधिमा दुःखका पहाडहरू उनको जीवनमा आएको, जस्तोसुकै दुःख आउँदा पनि सबै खाले पीडा सहँदै घरबार धानेको कथावस्तुमा उपन्यास रुम्मलिएको छ।

त्याग, समर्पण, निष्ठा, विश्वास साँच्दा सुखको दिन एक दिन अवश्य आउँछ भन्ने कुरालाई पनि उपन्यासले सन्देशको रूपमा दिन खोजेको छ। सुदूरपूर्व माइत भएकी सहनशीलाको सुदूरपश्चिममा विवाह भएको हुन्छ। टाढा विवाह हुँदा झेल्नुपर्ने समस्याहरू पनि उपन्यासमा देखाइएको छ। अर्को मुख्य पात्र सार्थकले घरपरिवारको मायालाई लत्याउँदा झेल्नु परेका समस्या र परिवारभन्दा ठूलो कोही हुँदैन भन्ने कुरालाई बोध गरेको छ। गल्ती गर्नेहरूले पश्चात्ताप गर्दै सम्बन्धित व्यक्तिसँग माफी माग्नुपर्छ भन्ने तथ्य पनि उपन्यासमा उठाइएको छ।

सहनशीला र सार्थकको एउटा छोरा हुन्छ। बाबुआमाको झगडाले ऊ सधैं मानसिक तनावमा हुन्छ। राति उठ्दा बाबुलाई ओछ्यानमा नदेखेपछि 'बाबा आउनुभएन' भनेर दिनहुँ प्रश्न गर्छ। आमाले आफू अथवा बाबु दुईमध्ये एकलाई रोज्नु परेमा कोसँग बस्ने भन्ने प्रश्न बारम्बार गरेपछि छोराले अँध्यारो मुहार बनाउँदै हजुरसँग बस्छु भन्छ। उसको मनमा बाबुआमा अलग हुनुपर्छ भन्ने थिएन। सहनशीलाले एक ठाउँमा भनेकी छन्, 'सायद छोरा नभएको भए, मैले उहिल्यै अप्रिय कदम उठाइसक्ने थिएँ होला। तर, छोराको माया, जिन्दगीप्रतिको मोह र एक दिन सबै ठीक हुनेछ भन्ने विश्वासले सतिसालजस्तै भयानक आँधी, तुफानमा पनि म ठिंग उभिरहेँ।'

१२ वर्षमा खोला पनि फर्किन्छ भनेझैं श्रीमान् श्रीमतीको मिलन हुन्छ। यस बीचमा छोरा पनि किशोर भइसकेको हुन्छ। बजारमा भएको ऐतिहासिक मिलनका दिन छोराले भन्छ, 'अचम्म छ, बिछोडमा रोएको सधैं देख्थे। आज मिलनमा पनि रोएको देख्नुपर्‍यो। मलाई टेन्सन भइसक्यो, अहिले मान्छेहरूले देखे भने के भन्लान् ? महाशयहरू अब चुप लाग्नुहोस्। जति रुनु छ, घर गएर रुनुहोला।' यसरी पारिवारिक मिलनमा छोराछोरीको पनि हात हुन्छ भन्ने देखाइएको छ।

उपन्यास पठनीय र सन्देशमूलक छ। सहनशीलाले दिन खोजेको सन्देशलाई आत्मसात् गर्ने हो भने कसैको पनि घरबार लथालिंग हुनेछैन। उपन्यास ब्रदर बुक्स प्रकाशन प्रालि, काठमाडौंले प्रकाशन गरेको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.