म राधा चौधरी
म राधा चौधरी
कसरी दिऊँ मेरो परिचय !
तपाईंको र मेरो क्यालेन्डर नै मिल्दैन ।
तपाईंको क्यालेन्डरमा एक्काईंसैाँ शताब्दी चल्दै छ ।
त्यसमा केही शताब्दी घटाइदिनुस्
मेरो जीवन बुझ्न ।
म राधा चौधरी
उल्लेख गर्न लायक मेरो आफन्त कोही छैन ः
न नेता
न गुन्डा
न शिक्षक
न व्यापारी
न तस्कर
न पत्रकार
न कर्मचारी
... ... ...
... ... ...
कोही नै छैन,
कुनै पहुँचवालासँग मेरो नाता पर्दैन ।
त्यसैले त
मलाई दिएको यातना
रमिता मानेर हेर्छ समाज ।
पुलिसले
मैले दिएको जाहेरी लिन मान्दैन ।
मेयरको प्राथमिकतामा
मलाई दिने न्याय पर्दैन ।
म राधा चौधरी
गरिबी हो मेरो परिचय
यस्तो परिचय
जसका कारण एउटा बाउ
आफ्नै छोरीमाथि भएको अत्याचार
टुलुटुलु हेर्न विवश हुन्छ,
केही बोल्न सक्तैन
बोले उसको करङ सद्दे रहँदैन ।
किनारा हो मेरो चिनारी
यस्तो चिनारी
जसका कारण
सजिलै सकिन्छ मलाई लाञ्छना लाउन,
बोक्सी भन्न,
यातना दिन ।
म राधा चौधरी
गाउँ फर्कन चाहन्न ।
तर
सहरमा पनि मेरो परिचय उही हो ।
तुरुन्तै बदलिने होइन ।
के गरुँ म ?
कहाँ जाऊँ म ?
लाग्छ,
म समयभन्दा छिटै जन्मिएँ
मजस्ता गरिब र किनारामा परेकाले
यो देशमा जन्मिने बेला यो होइन ।