वासु शशी सम्झेर
...भरमार रक्सी पिएर ढुन्मुनिँदै
तिमी भन्थ्यौ
जिन्दगी बल्ल सोचेजस्तो भो,
तर तिमी नै त हौ
रक्सी पिउनुअघि सधैं-सधैं आफू
आफ्नै जिन्दगीसँग हारिरहेका कुरा गथ्र्यौ ।...
वासु शशीको निधनपश्चात् उनको जीवन-चरित्रलाई कुनै दिन यी शब्दहरूमार्पmत मैले यो कवितामा उतार्ने कोसिस गरेको थिएँ ।
चैतको यो महिना, त्यसै पनि उराठलाग्दो ! त्यसमाथि, उनै वासु शशीको निधन भएको महिना । संयोग ! उनको जन्म पनि चैतमै भएको थियो, १९९३ सालमा । जम्माजम्मी ५६ वर्षको आयुसम्म भोग गरे यस लोकलाई वासु शशीले ।
...
‘खोसे, मेरो आनन्द खोसे... ।’
वासु शशी बेला-बेला भनिरहन्थे ।
जब-जब केही चिन्तन गर्दागर्दै उनीभित्रको मान्छे उकुसमुकुस हुन्थ्यो-छटपटिन्थ्यो, त्यतिखेर उनको तृष्णा आकासिन्थ्यो । र, त्यो तृष्णा मेट्ने हतियार; भन्नेले-देख्नेले बहानाबाजी भने पनि— रक्सी नै हुन्थ्यो ।
त्यस्तो स्थितिमा कदाचित् उनले पिउन पाएनन् भने, अर्थात् उनीबाट उनको गिलास थुतियो भने उनी चिच्याउँथे, ‘खोसे, मेरो आनन्द खोसे... ।’
‘आजको मितिसम्म आइपुग्दा समयले धेरै पल्टनबाजी खाइसकेको छ । वासु शशीले यो दुनियाँ छाडेकै २५ वर्ष भइसक्यो ।’ शशीका परम दोस्त कवि हेम हमाल अहिले पनि सम्झन्छन्, ‘पिउने मामिलामा हामी कोहीभन्दा कोही कम थिएनौं ।’
धेरैपटक दुई कविबीच प्रतिस्पर्धा नै हुन्थ्यो— हेरौं, आज रक्सीको सिसीले मलाई लडाउँछ कि मैले रक्सीको सिसी लडाउँछु ?
स्वयं हेम हमाल केही वर्षअघिको मिर्गौला प्रत्यारोपणपश्चात् आज पक्षाघातबाट पीडित छन् ।
...
गजबको व्यक्तित्व थियो वासु शशीको !
उनको बोल्ने शैली व्यवहारतः औपचारिक मात्रजस्तो लाग्थ्यो मलाई । तर, त्यो बोलीमा कुनै न कुनै प्रकारको दर्शन मिसिएको अनुभूत गर्ने गर्थें म । संवादको क्रममा उनले एउटा गहिरो वाक्य बोलेका थिए एकपटक—
‘पुग्छु भनेर गएको ठाउँ
पाइलैपिच्छे प...र सर्छ ।’
एक प्रकारको निराशा व्यक्तिन्थ्यो उनको त्यो भनाइमा । तर, कस्तो कटु सत्य ! मानवीय इच्छा-आकांक्षाको तीतो तस्बिरमा आफ्ना शब्दहरूलाई उतारेका थिए !
उनको जीवनकालमा उनीसँग मैले धेरै भेटघाट गर्न पाइनँ, जम्माजम्मी तीनचोटि प्राप्त गरेको भेट्ने अवसर सम्झन्छु । पहिलोपटक, २०४७ जेठ १० गते गणेशमान सिंहद्वारा विमोचन गरिएको हाम्रो संयुक्त किताब ‘जिन्दावाद मुर्दावाद’को मञ्चमा । दोस्रोपटक, त्यही वर्ष उनको निवासस्थानमा, एउटा भेटवार्ताको सन्दर्भमा । तेस्रो र अन्तिमपटक, २०४९ सालमा उनी बिरामी परेर स्वास्थ्य-उपचारार्थ भारत जानुअघि ।
ती, प्रत्येक भेटघाटमा उनको व्यक्तित्वसँग म अत्यन्तै प्रभावित रहेँ । देख्नेले सन्काहा प्रवृत्तिको पनि देख्थे उनको व्यक्तित्वलाई । यथार्थमै, जगबागेश्वरीस्थित आफ्नो टोलको नामकरण नै गरी एक दिन उनले सडकमा ‘वासु शशी मार्ग’को साइनबोर्ड झुन्ड्याएका थिए । त्यस समय उनको त्यो कार्यकलाप देखेर टोलवासीले ‘वासु बौलाए’सम्म भन्न बाँकी राखेनन् ।
तर, कसले आपूmलाई के भनोस् ? मनमौजी थिए उनी । जे सोच्थे, गरिहाल्थे । जे सोच्थे, लेखिहाल्थे । कसैको स्वीकृति लिन केको खाँचो उनलाई ? ?
एकताका ‘सञ्चय’ डाइजेस्ट चलाउँथे उनी । तर केही अंकपश्चात् बन्द भयो त्यो । बन्द रहेकोप्रति उनको जाँगर भने सदैव जुर्मुराइरहन्थ्यो, ‘अब फेरि चाँडै निकाल्दै छु ।’
...
कवि पूर्ण वैद्य वासु शशीसँगको संगतलाई सम्झन्छन्, ‘कतै कसैको कविता पढ्दा मन पर्यो भने उनी त्यो कविलाई घरमै बोलाउँथे र कविकै मुखबाट त्यो कविता सुन्ने गर्थे ।’
स्वयं पूर्ण वैद्य सो प्रयोजनका लागि वासु शशीद्वारा उनको घरमा पटकपटक निम्त्याइएका थिए ।
‘वासु शशी आपसी सम्बन्धमा पुस्ताको सीमारेखा कोर्दैनथे । न राजनीति न त सामाजिक भेदभाव थियो । अघिल्ला पुस्ताका भवानी भिक्षु, बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, युगकवि सिद्धिचरणदेखि समकालीन रमेश विकल, भूपि शेरचन, दौलतविक्रम विष्ट, बच्चुकैलाश, हेम हमाल हुँदै आफ्ना छोराछोरीसरहका कैलाश भण्डारी, प्रद्युम्न जोशीसम्म सँग पनि उनको त्यत्तिकै सद्भाव र आत्मीयता थियो । उनी सबै वर्ग, समुदाय र पुस्तासँग रमाउने प्रतीक-पात्र थिए ।’ वरिष्ठ संगीतकार-गायक गणेश रसिक बताउँछन् ।
वरिष्ठ कथाकार परशु प्रधानको दृष्टिकोण पनि समान छ, ‘धेरै युवा स्रष्टाको साझा चौतारी वा ‘गोष्ठी-घर’ वासु शशीको घर थियो । ...वासु शशी हाम्रा प्रिय र आदरणीय कवि मात्र होइन; अति संवेदनशील, हामी सबैका दुःखसुखका मिलनसार र सहयोगी मित्र पनि हुनुहुन्थ्यो ।’
उनको मित्रता त टोले केटाकेटीहरूसँग पनि उत्तिकै थियो । ती केटाकेटीहरूलाई चकलेट बाँड्नु उनको दिनचर्याजस्तै थियो । रमाइलो त के भने चकलेट बाँडिनुको सट्टामा बाहिरबाट रक्सी ल्याइमगाउन तिनैको सहयोग लिन्थे उनी । तर, पछिल्लो चरणमा रक्सीभन्दा चुरोटका अम्मली बनेका थिए वासु शशी । रक्सीभन्दा अझ बढी बिँडीको । सम्भवतः पातमा सुर्ती बेरिएको बिँडीमा उनी बढी नशा भेट्थे । विडम्बना ! जति बढी नशामा हुन्थे त्यति जै ऊर्जाशील बन्थे । मलाई लाग्छ— यसरी कवित्वमा परिभाषित हुनेहरू दुनियाँमा विरलै भेटिन्छन् । कवि-तत्व बढी नै थियो उनमा । अन्यथा जीवन बाँच्ने क्रमको अन्तिम क्षणमा नशाको अत्यधिक प्रयोगसँगसँगै उनीबाट अद्भुत सिर्जनाहरूको रचना कसरी हुन्थ्यो !
उनले लेखेका केही गहन वाक्यहरू—
- संसारमा कुनै पनि मानिसका सट्टा-भर्ना गर्न सकिँदैन ।...
- पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ ।...
- हाम्रोजस्तो कामको शब्दकोषमा कष्ट अथवा भय भन्ने शब्द हुँदैन ।...
वासु शशीले ‘बीसौं शताब्दीका गीत’ लेखे । ‘बाँसुरीमा नअटाएका धुनहरू’ लेखे । ‘बुद्ध’जस्तो बौद्धिक सिनेनाटक लेखे ।
वर्तमान स्थिति हेरौं !
आफ्नो सिर्जनालाई चर्चा गराउन आजका स्वघोषित लेखकहरू स्वयंको व्यक्तित्वलाई प्रयोग गर्छन् । कोही कपाल लट्टा पारेर ‘लट्टेबाबा’को पहिचानमा आफ्नो लेखनलाई विनिमय गर्छन् । कोही रुद्राक्षको माला भिरेर ‘आत्मज्ञानी’ भएका शब्दरूपी पाखण्ड बेच्छन् ।
ठोकुवा गर्न सक्छु म— वासु शशीको व्यक्तित्व जस्तो थियो उनको लेखन पनि उस्तै थियो । असल लेखनलाई नै उनी आफ्नो ध्येय मान्थे । तसर्थ चर्चा हुनुप्रति उनको कुनै लगाव थिएन । आजको जस्तो चर्चा हुनु वा गरिनुलाई नै लोकप्रियताको कसी मानिने भ्रमबाट उनी मुक्त थिए ।
...
वासु शशीजस्ता असाधारण प्रतिभालाई समयले चिनेन । नेपाली लेखकका ‘जमात’भित्रका कसैले पनि उनको प्रतिभालाई पहिल्याउने खाँचो सम्झेनन् । अपवादस्वरूप उनकै नाममा स्थापित ‘वासु शशी स्मृति परिषद्’ एक्लैले उनको नाम र उनको कामलाई संरक्षण गर्ने कर्तव्यबोध गरिरहेछ । यत्ति मात्रै पनि नहुँदो हो त आजको विकृतपूर्ण कृतघ्न साहित्य समाजले वासु शशीको निधनसँगै उनको कृतित्वलाई जलाएर फ्याँकिसक्थे ।
सायद, उनीप्रतिको वर्तमान व्यवहार देखेरै यी पंक्तिहरू मेरो अन्तस्करणमा आएका हुन सक्छन्—
फकाएर÷फुल्याएर मनलाई
जिन्दगीमाथि
विजेता बन्न कसले सकेको छ र वासुदाइ ?
स्वयंमा जिन्दगी पराजय हो एउटा,
रक्सी पिएरै
अथवा नपिएरै पिएको बहानामा
हामी जतिसुकै झुक्याऊँ छक्याऊँ आपूmलाई
वासुदाइ !
बाँचुन्जेल मात्रै हो मान्छे बाँच्ने
मान्छेका लागि
केवल ‘मृत्यु’ नै हो कि अन्तिम सत्य ?