अजब गजब स्कुल

अजब गजब स्कुल

बिहान ५ नबज्दै म मोहन सरको कोठामा पुगिसक्थेँ। त्यसका लागि कम्तीमा साढे ४ बजे निद्राबाट मलाई ब्यूँझाइन्थ्यो। नित्यकर्म इत्यादि सकेपछि स्टिलको सानो ग्लासमा तातो चिया दिइन्थ्यो। तिनताक लाल्टिन भनिने मट्टितेल हालेर जलाउने ल्यान्टर्नको उज्यालोमा मोहन सर मलाई पर्खिबसेका हुन्थे। उज्यालो भइनसकेकाले सडकपारि छिमेकमा बस्ने उनको कोठासम्म मलाई पुर्‍याउन आमा जानुहुन्थ्यो। किताबमा घोटाएर विद्वान् बनाउने आमाको धोको हुँदो हो। कुनै गनगन र गुनासोबिना म उहाँको पछि लाग्थेँ, मानौं मैले उहाँको 'सदिच्छा' बुझेको छु।

काठका खाँबामा उभ्याइएको घरमा बस्थे मोहन सर। बाँसका भाटा बुनेर बीचबीचमा साना बटम आदिले अड्याएर बनाइएको देवालमा बाहिरबाट भने सिमेन्टको लेपन हुन्थ्यो। झापा बाहुन्डाँगीको स्थानीय बोलीमा त्यस्ता घरलाई इक्रा सिमेन्टको टाँडे घर भन्थे। माथिल्लो तलाका केही कोठामध्ये एउटामा उनी बस्थे, भुइँतलाका कोठाहरूमा विद्यालय सञ्चालन गरिएको थियो। कहिले अंग्रेजी र कहिले नेपालीका वाक्य बनाउन सिकाउँथे, कहिले जोडघटाउ र गुणन-भागा गराउँथे। अक्सर के-के आउँदो पार्न लगाइरहन्थे। म रटेर आउँदो पार्थें र कापीमा नहेरी लेख्थेँ। बिहानको लगभग ८ बजेसम्म त्यसरी पढेपछि १० बजेको नियमित कक्षाको तयारीका लागि म घर फर्कन्थेँ।

लोअर किन्डर गार्टेन अर्थात् एलकेजीदेखि कक्षा १ पास नगर्दासम्म मेरो दैनिकी त्यसरी सुरु हुन्थ्यो। बेलुका घर फर्केपछि पनि दिनभर विद्यालयमा दिइएका गृहकार्य फत्ते गर्न हम्मे हुन्थ्यो। लाल्टिनको उज्यालोमा राति ८-९ बजेसम्म एक भारी किताबकापी फैलाएर बसेको हुन्थेँ। काम नसिध्याए भोलिपल्ट कक्षामा सजाय पाउने निश्चित थियो। साथीहरूका अगाडि चुटाइ वा गाली खाएको सम्झँदा मात्रै पनि कम्पन छुट्थ्यो। मभन्दा सानी बहिनीलाई भने विद्यालयले यसरी कैद गरिसकेको थिएन, ऊ मस्त निदाउँथी।

कक्षा २ मा उक्लेपछि मावली गाउँको अर्को सानो निजी विद्यालयमा भर्ना भएँ। सो विद्यालयले वरपर सुनाम कमाएकाले मलाई त्यहाँ लगिएको थियो। तर, त्यस बेलासम्म मेरा लागि जुनसुकै विद्यालय पनि निरस झन्झटको पर्याय बनिसकेको थियो। शिक्षकहरू प्रायः सबै डरलाग्दा देखिन थालेका थिए। हरेक दुईतीन दिनमा स्कुल नजाने बहाना खोज्न थालेँ। कहिले सन्चो नभएको नाटक गर्थें, कहिले कक्षा सुरु हुने समयसम्म झगडा गरेर समय गुजार्थें। लगातार तीनचार वर्ष बिहान ४ देखि बेलुकी ८ वा ९ बजेसम्म विद्यालयले गाँजेर हुरुक्क बनाएकाले हुनसक्छ, स्कुल नजानमा बढी आनन्दित हुन थालेँ।

अरू बेला पुल्पुल्याउने मावलका हजुरबा हजुरआमा मैले स्कुल जान नमानेकोमा दिक्क हुन्थे। पहिले फकाउन खोज्थे, ढिपि जारी राखे चड्कन लगाउँथे। कहिले भने ड्युटी हिँड्दै गरेका प्रहरी बोलाउँथे। लौरो बोकेका हबलदार वा सिपाही आएर थर्कमान पारेर विद्यालय पुर्‍याएका सम्झना अझै ताजै छन्। मावली गाउँ भएकाले सबै गाउँले तन्नेरीहरू मलाई भान्जा भन्थे। कहिले तिनै लाठे मामाहरूले च्याप्प दह्रोसँग समातेर काँधमा राखी मलाई विद्यालय पुर्‍याउँथे। मामाहरूको पक्राउमा परेपछि उम्कन सम्भव थिएन, तिनैका बलिया काँधमा मेरा साना मुड्की बज्रिन्थे। बेपर्वाह ती ठमठम हिँडेर मलाई स्कुल छोडेर फर्कन्थे।

त्यसरी स्कुल जान मन नगर्ने म मात्रै थिइनँ। अर्को एउटा साथी लगभग दुई किलोमिटर पैदल हिँडेर स्कुल आउँथ्यो तर हप्ताको दुई दिनजति ऊ बीच बाटोबाट अन्यत्रै कतै मोडिन्थ्यो, स्कुल पुग्दैन थियो। ऊ मेची खोलाको किनार वा नजिकैको जंगलतिर रूखका हाँगामा बसेर दिन बिताउँदो रहेछ। किताब बोक्ने झोलामा ग्याटिस भनिने गुलेली बोकेको उसले चरा मारेका कथा सुनाउँथ्यो। त्यसरी धेरैपटक गयल भएपछि, विद्यालयले उसको घरमा खबर पठायो। एक दिन पछ्याउँदै आएकी आमाले उसलाई पक्राउ गरिछन्। समातेर विद्यालय ल्याइन् र हामी सबैका अघिल्तिर उसका गाला चड्काइन्।

तिनले 'जंगबहादुर'का पुरुषार्थ र पराक्रमका कथा सुनाए। पछि बुझ्यौं, उनले भण्डारखाल, अलौ र कोत नामका जंगबहादुर राणाले शक्ति हत्याउन रचेका पर्वहरूलाई अंग्रेजीबाट उच्चारण गर्दा बान्डरखाल, आलु र कोट भनेका रहेछन्।

हरेक आइतबार बिहान भने स्कुल जान सहज लाग्थ्यो। कारण, कक्षा सुरु हुनुअघि स्कुलमै हिन्दी टेलिभिजन शृंखला 'चन्द्रकान्ता' देखाइन्थ्यो। शिक्षकहरू कसैलाई पनि सिरियल छुटाउन मन नलाग्ने र टेलिभिजन भएका घरका विद्यार्थी पनि 'चन्द्रकान्ता' हेर्न विद्यालय हाप्ने भएकाले त्यो जुक्ति निकालिएको थियो। विजयगढ र नौगढका राजारजौटाका कहानीमा डुबेर दिनभरि दिमागका पर्दामा त्यही रिल घुमाइरहन पाइन्थ्यो। त्यसअघि आइतबार बिहान दूरदर्शनमा 'महाभारत' शृंखला छुटेको थिएन।

आइतबारबाहेक अरू दिनका लागि म हरक्षण विद्यालय नजाने अनेक बहाना सोचेर बसेको हुन्थेँ। शुक्रबार आधा दिन मात्रै विद्यालय लाग्ने भएकाले खासै अल्छी लाग्दैन थियो। भोलिपल्ट शनिबारको बिदा र आधा दिनको फुर्सद सम्झेर बिहानैदेखि बरु खुसी लागिरहेको हुन्थ्यो। तर, फुर्सदको समयमा उछलकुद कमै गर्थें। दौंतरीहरूसँग लडभीड गर्ने र शारीरिक बल पर्ने खेलहरूमा खासै रमाइनँ। एक्लै टोलाउन, अरूले खेलेको हेर्न, खोलाको किनार किनार डुल्नमा फुर्सद व्यतीत हुन्थ्यो। विद्यालयमा पढ्नुपर्नेबाहेक केही किताब वा पत्रिका भेटियो भने नबुझी नबुझी पढेर वा नक्सा हेरेर समय बित्थ्यो। सामान पोको पारेर आएका हिन्दी र अंग्रेजी पत्रिकाका टुक्राटुक्रीले ध्यान तान्थ्यो। मावली घरमा भेटिएका शिवकुमार राईका कथा, भूपि शेरचनका कविता, गुणरत्नमाला, खप्तड बाबाका किताब पल्टाएको सम्झना छ।

कक्षा ४ पुगेपछि फेरि मावलबाट घरतिर सरुवा भयो। दार्जिलिङको छिमेकी भएकाले त्यताका बोली, साहित्य, विद्यालयका ढाँचा इत्यादिले प्रभाव पार्नु सामान्य थियो। उता सेन्ट जोसेफ नर्थ प्वाइन्ट स्कुल चर्चित थियो। यताका हुनेखानेले छोराछोरी दार्जिलिङे नर्थप्वाइन्टमा पढाउँथे। राजा वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्मले त्यही विद्यालय पढेका किस्सा हामीले उही बेला सुनेका थियौं। एकताका खर्साङको गोथल्स स्कुलमा पढाउन के कति खर्च लाग्ने रहेछ भनेर घरमा चर्चा भएको थियो। यसै गफ गरेर बाले मुख मिठ्याएको थाहा पाउँदापाउँदै मैले गोथल्स पुगेको सपना देखेको थिएँ।

गोथल्स र सेन्ट जोसेफजस्ता ठूला पाथिभराहरू पुग्न नसक्नेलाई तल कुटी डाँडामा सानो पाथिभरा बनाएर तुष्टि दिएझैं काँकरभिट्टामा नर्थ प्वाइन्ट नामको विद्यालय खुल्यो। विद्यालय भवन राजमार्गको उत्तरपट्टि भएकाले नर्थ प्वाइन्ट उति नसुहाउने नाम भने थिएन। उता सुरम्य पहाडको होइन, यता घरनजिकै मैदानको नर्थ प्वाइन्टमा म र बहिनी भर्ना भयौं। 'नक्कली नै सही, सुन त सुनै हो', पारामा मैदानी नर्थ प्वाइन्टको विद्यार्थी भएकोमा गर्वले ढक्क फुलियो।

त्यसमाथि कम्प्युटरको पढाइ सञ्चालन गरिने विज्ञापनले औधी लोभ्याएको थियो। नभन्दै उबेलाको फ्लपी चल्ने पेन्टियम वान वा त्यस्तै कुनै कम्प्युटर एउटा अँध्यारो कोठामा ट्युबलाइट बालेर सजाइएको थियो। जीवनमा पहिलोपटक कम्प्युटर देख्न र छुन पाएकाले दार्जिलिङे विद्यार्थीजत्तिकै भाग्यमानी भएको आभास भो। डेस्कटपमा आफ्नै हातले टाइप गरेर आफ्नो नाम लेखेको दिनको खुसी सम्भवतः सबैभन्दा गहिरो खुसी थियो। त्यो खुसीको सम्झना अझै गाढा छ। ठूला पसलहरूमा बिल प्रिन्ट गर्नेजस्तो कागजमा धमिला अक्षरहरूमा पहिलोपटक आफ्नै नाम छाप्दाको आनन्द कसरी बिर्सनु र ! केही समयसम्म कम्प्युटरको सम्मोहन नै विद्यालयसम्म पुग्ने ऊर्जा बन्यो। तर, विद्यालयमा रहुन्जेल कम्प्युटर चलाउन सिकिएन बरु सीपीयू र मोनिटरका परिभाषा आउँदो पारियो। अहिले पनि एकदुई वाक्य परिभाषाहरू कण्ठ छन्।

हो, भारतको दार्जिलिङे विद्यालयभन्दा कम थिएन हाम्रो नर्थ प्वाइन्ट। अंग्रेजी माध्यममा पढाइ हुन्थ्यो, नेपाली भाषालाई 'सेकेन्ड ल्यांग्वेज' भनिन्थ्यो। हरेक परीक्षापछि पाइने मार्कसिटमा नेपाली विषयका लागि 'सेकेन्ड ल्यांग्वेज' शीर्षकमा अंक पाइन्थ्यो। अर्थात्, हाम्रो स्कुलको पहिलो भाषा अंग्रेजी थियो। साँच्चै अंग्रेजी भाषा जानेर पढाउने वा बोल्ने कति थिए भन्ने बेग्लै बहसको विषय होला।

भुटानबाट शरणार्थीका रूपमा यता आएका थुप्रै नेपालीभाषी शिक्षकले हामीलाई पढाए। अहिले सम्झँदा लाग्छ, भारतका राम्रा विद्यालय र विश्वविद्यालय पढ्न पाएका केही भुटानीले साँच्चै राम्रो पढाएछन्। भुटानमा सामान्य सरकारी विद्यालयमा जेनतेन प्लस टुसम्म सकेकाहरूले भने बडो दुःखले पढाएका रहेछन्। दार्जिलिङ नै पढेको हुँ भन्ने भारतीय नेपालीभाषीहरू पढाउनभन्दा खेलकुद र नाचगान आदिमा बढ्ता पारंगत थिए। कोही उही बेला 'मिस्टर कालिम्पोङ' भइसकेको गफ गर्थे भने कोही नेपालको मायाले भारत छोडेर आएको भावुक कथा सुनाउँथे। यथार्थ के हो, उनै जानून् !

दार्जिलिङमा अंग्रेजी पढेको ध्वाँसकै कारण हाम्राजस्ता विद्यालयहरूमा ढुक्कले जागिर खाने नेपालीभाषी भारतीय यथेष्ट थिए उबेला। दार्जिलिङे अंग्रेजी र नजानी ब्रिटिस उच्चारण (एक्सेन्ट) छाँटेर फुर्ती लडाउनेहरू अहिले पनि इलाम र झापाका निजी विद्यालयहरूमा भेटिन्छन्। एकजना उतै अंग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गरेको दाबी गर्ने विद्वान्ले 'स्याम्पेन' नामको रक्सीलाई चम्पाग्ने उच्चारण गर्न सिकाएको सम्झँदा रमाइलो लाग्छ। यद्यपि एउटा शब्दको उच्चारण नै बौद्धिकताको मापक हुन सक्दैन।

धेरै भुटानीमध्येका एकजनालाई कक्षा ७ मा इतिहास पढाउने जिम्मा लगाइयो। नेपालको इतिहास कहिल्यै नपढेका, अंग्रेजी भाषा सामान्यतया पढ्न सक्ने तर दक्षता नभएका र सम्भवतः प्लस टुसम्म पास गरेका ती शिक्षकले अंग्रेजी माध्यमबाट नेपाली इतिहास पढाउन बेहोरेको दुःख सानो छैन। उनले 'जंगबहादुर'लाई 'जुंगबहादुर' भनेको सुन्दा हामी घरैमा 'जंगे'का कथाकहानी थाहा पाएकाहरू खितखित हाँस्थ्यौं। सबैभन्दा छुचो भनेर चिनिएका ती शिक्षकलाई सच्याउने हाम्रो हुति भएन।

अर्को एक दिन छडी उज्याउँदै भने, 'आज म तिमारलाई तीन्टा खतरा घटना सुनाउँछु हो। अन्त त्यो तीन्टा घटनालाई बान्डरखाल पर्व, आलु पर्व र कोट पर्व भन्छ हो। राम्रोसँग सुन् है, खतरा छ। त्यो जुंगबहादुरको कुरा हो क्या।' आफ्ना कल्पनासमेत अलिअलि मिसाएर तिनले 'जुंगबहादुर'का पुरुषार्थ र पराक्रमका कथा सुनाए। पछि बुझ्यौं, उनले भन्डारखाल, अलौ र कोत नामका जंगबहादुर राणाले शक्ति हत्याउन रचेका पर्वहरूलाई अंग्रेजीबाट उच्चारण गर्दा बान्डरखाल, आलु र कोट भनेका रहेछन्। मेरा एक सहपाठीका बा, जो इतिहासका विद्यार्थी र निजामती कर्मचारी थिए, हाम्रो इतिहास गुरुका यस्ता उच्चारण सुनेर खुब झोकिए। उनले आफूले पढेको नेपाली भाषामा लेखिएको इतिहासको टेक्स्टबुक निकालेर हामीलाई सही उच्चारणमा यी घटनाहरू वाचन गरेर सुनाए।

हामी अलि माथिल्लो कक्षामा पुगेका बेला अर्का एक भारतीय शिक्षकले बेहोरेका यस्तै दुःख सम्झनलायक छ। उनले 'सोसल स्टडिज' भनिने सामाजिक शिक्षा पढाउन जिम्मा पाएका थिए। नेपाली समाजबारे कुनै ज्ञान नभएको, नेपाली इतिहास वा भूगोलबारे केही समझ नभएको, नेपाली वा नेपालमा बोलिने अरू भाषासमेत नजान्ने उनलाई सामाजिक शिक्षा किन दिइयो, बुझिनसक्नु छ। करोडौं बेरोजगारको भीडबाट थोरैतिनो कमाइ खाने मनसुवाले छिमेकी भारतीय सहर बागडोगराबाट यता आएकालाई जे पढाऊ भनियो, त्यही पढाइदिए। बल्लतल्ल हात लागेको रोजगारी जोगाउन नाइँनास्ती गर्नु उचित थिएन, उनले गरेनन्। बस्, टेक्स्टबुकमा लेखिएका कुरा पढे र जति र जसरी बुझे, त्यति र त्यसरी नै विद्यार्थीलाई सुनाइदिए।

उनले परीक्षामा एउटा रमाइलो प्रश्न सोधेछन्। प्रश्न यस्तो थियो, 'तल उल्लेख गरिएका धार्मिक स्थलका नामहरू यहाँ दिइएको नेपालको नक्सामा अंकित गर।' अञ्चल र जिल्ला छुट्याइएको नेपालको नक्सामा राख्नुपर्ने ठाउँका नामहरू यस्ता थिए— जनकपुरधाम, पशुपतिनाथ, विन्द्यवासिनी, बूढासुब्बा र तारानाथ रानाभाट। भारतका बद्रीनाथ र केदारनाथजस्ता चर्चित धार्मिक स्थलबारे जानकार ती भारतीय गुरुले यताका हाम्रा तारानाथलाई समेत तीर्थस्थल सम्झेछन्। रानाभाट थर गरेका तारानाथ भन्ने मानिस हाम्रा चर्चित कांग्रेसी नेता हुन् भन्ने ती गुरुले के थाहा पाऊन् !

नयाँ खुलेको हाम्रो स्कुल सम्भवतः बैंकको ऋणबाट सञ्चालित थियो। खुलेको छोटो समयमा त्यो भेगको सबैभन्दा राम्रो विद्यालयमा दरिएपछि विद्यार्थीको संख्या पनि विस्तारै बढ्न थाल्यो। गाउँले जीवनका सबै चरित्रलाई सँगालेर सहर बन्न खोज्दै गरेको काँकरभिट्टामा अभिभावकले उधारोमा छोराछोरी पढाउन खोज्थे। धेरैजसो शुल्क तिर्न नसक्ने साना व्यापारी वा वारिपारि गर्ने क्यारियर थिए भने कतिपयले जेसुकै उधारोमा चलाउने रीत बसाएका थिए। विद्यालय सञ्चालक पनि विद्यार्थी अन्यत्र लैजालान् भन्ने भयले मासिक शुल्क ६ महिनासम्म नतिरे पनि खासै केही भन्न सक्दैनथे। कतिपयले कहिल्यै शुल्क नतिरेरै पढे होलान्। समयमा शुल्क नउठेकाले एवं विद्यालय सञ्चालक ऋणमा भएकाले शिक्षकले समयमा तलब पाउँदैनथे। त्यसो त शुल्क उठाउने र हिसाबकिताब राख्ने कुनै चुस्त प्रणाली पनि थिएन। एउटै मान्छे विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षक र लेखापाल थिए। के के पो भ्याउन् !

समयमा तलब नपाएका शिक्षकले आफ्नै विद्यार्थीलाई विद्यालयको समय सकिएपछि अर्थात ४ बजेपछि 'ट्युसन' पढाउँथे। अभिभावकबाट छुट्टै एक वा डेढ सय लिएर पढाइने त्यस्तो कक्षालाई ट्युसन भनिन्थ्यो। विद्यालय समय सकिएपछि घर गएका केटाकेटीले झिँझो लगाउँछन् भनेर केही अभिभावक ट्युसन पठाउन राजी हुन्थे। विस्तारै ट्युसन पढेका विद्यार्थीले जाँचमा राम्रो अंक ल्याउन थाले। तेस्रो, चौथो हुने वा फेल हुनेहरू अब विस्तारै दोस्रो, पहिलो र सहजै पास हुन थाले। प्रायः राम्रो ल्याउने र अक्सर कक्षामा पहिलो हुने म जस्ता विद्यार्थीलाई समेत ट्युसन पढ्नुपर्ने बाध्यता आइलाग्यो। आफ्नो पहिलो स्थान गुम्ला र दोस्रो हुनेले उछिन्ला भन्ने पीरले सताउन थाल्यो। पहिलो भइरहने दोस्रो वा तेस्रोमा झरेपछि शिक्षक र सहपाठीका नजरमा गिर्ने डर हुन्थ्यो। आफूले पाइरहेको इज्जत र अतिरिक्त महत्व घट्ने सम्भावना हुन्थ्यो। त्यसैले घरमा कर गरेपछि ट्युसन पढ्ने निधो भयो।

मसँग प्रतिस्पर्धा गर्ने दोस्रो र तेस्रो हुनेहरूले रोजेको शिक्षकलाई नरोजेर मैले अर्को विषय पढाउने शिक्षक रोजेँ। ट्युसन भन्नु के थियो र ? विद्यालयको समय सकिएपछि एउटा कुनै कक्षा कोठामा भेला हुने, नियमित कक्षामा दिइएका गृहकार्य गर्ने, केही नबुझेको भए ट्युसन पढाउने गुरुलाई सोध्ने। उनले पढाउनेभन्दा फरक विषयका प्रश्न सोधे, गुरु अन्कनाउन थाल्थे। कहिलेकाहीँ जे मनमा आयो, त्यही लेख्न लगाउँथे।

परीक्षा नजिक आएपछि मात्रै ट्युसनमा विद्यार्थीको भीड बढ्न थाल्नुको रहस्य खुल्यो। परीक्षा सुरु हुन केही दिन बाँकी हुँदा मेरा ट्युसन गुरुले उनले पढाउने विषयको प्रश्न खुरुखुरु मलाई कापीमा टिपाए। जाँचमा त्यति पढेर आए पुग्छ भने। अर्को एउटा विषयको पनि प्रश्न हेर्न भ्याएका गुरुले ती प्रश्नहरू पनि टिपाए। म खुसी हुँदै तिनै प्रश्न मात्रै पढेर जाँच दिन गएँ। अरू विषयमा पहिले जसरी पढ्थेँ, त्यसरी नै पढेँ। नतिजा आयो, मैले सबैभन्दा राम्रो अंक तिनै दुई विषयमा ल्याएँ। मेरो पहिलो स्थान कायम रह्यो।

कतिसम्म हुन्थ्यो भने, हामीभन्दा दुई ब्याच माथिल्लो कक्षाको एउटा विद्यार्थी तीनचार महिनाको ट्युसन शुल्क बोकेर एकैचोटि परीक्षाको दुईतीन दिनअगाडि आउँथ्यो र प्रश्न टिपाइमागेर घर जान्थ्यो। अरू बेला ऊ कहिल्यै देखा पर्दैनथ्यो, विद्यालय समय सकेर ऊ खेल्न दौडिन्थ्यो। अभिभावकले यो थाहा नपाएका थिएनन् तर छोरो पास भए तिनलाई पुग्थ्यो।

ट्युसनको रहस्य बुझेपछि हाम्रा अभिभावकले म र बहिनीलाई त्यहाँबाट निकाले। बरु अर्कै एक ट्युसन पढाउन नरुचाउने शिक्षकलाई अनुनय गरे। उनी मानेका थिएनन् तर उनीसँगको पारिवारिक मित्रता राम्रो भएकाले सधैं नाइँ भनेर पन्छाउन पनि सकेनन्। सबैभन्दा राम्रो पढाउने भनेर ख्याति कमाएका यी गुरुले हामी दुईतीन जनालाई मात्रै पढाउन राजी भए। अरूले जस्तो तीसचालीस विद्यार्थी राखेर 'ट्युसन खेती' गरेनन्। सम्भवतः उनलाई आवश्यकता पनि थिएन। उनले नबुझेका कुरा सुल्झाएर आफैं पढ्न छोडिदिन्थे। त्यसरी पढाएको शुल्क पनि लिएनन्।

केही समयपछि उनलाई विद्यालय सञ्चालनको मुख्य भूमिका दिइयो। उनले ट्युसन खेतीको रहस्य बुझिसकेका थिए तर समयमा तलब नपाउने शिक्षकले त्यस्तो खेतीबाट घर चलाएको देखेर उनले यो बेथितिलाई नदेखेको झैं गरिदिए। त्यसो त प्रधानाध्यापकलगायत अरू सबैलाई यस्तो ट्युसन धन्दा चलेको थाहा नभएको होइन। आफूले समयमा र उचित तलब दिन नसकेकाले त्यस्तो धन्दा निषेध गर्न उनीहरूले कुनै तत्परता देखाएनन्। न अभिभावकले कुनै उजुरी नै गरे। कक्षा १० मा पुग्दासम्म पनि विद्यार्थीको नियमित कक्षाका अतिरिक्त ट्युसन पढाइ अनवरत रहन्थ्यो। ठूला कक्षामा भने खासगरी गणितको आतंकले आत्तिएर त्यही विषयका ट्युसन धाउँथे।

विद्यालयको नियमित आठ घन्टा समयमा अतिरिक्त समय थपेर घोटाइनुपर्ने के थियो होला त्यो विद्यालयको कोर्समा ? अहिले सम्झँदा, भरभराउँदो सिर्जनात्मक समय पाठ्यसामग्रीका अररा साँचोमा कैद भएर बितेछ जस्तो लाग्छ। ज्ञानको उद्यमप्रति उदासीन शिक्षकहरूका बफादार विद्यार्थी भएर जीवनको ठूलो उर्वर समय बितेको छ। तर, त्यसो हुनुमा जीविकोपार्जनका लागि शिक्षाकर्मको टेको बल्लतल्ल समाउन पुगेका ती शिक्षकहरू मात्र दोषी होइनन्। तिनलाई त्यस्ता शिक्षक बन्न बाध्य बनाउने व्यवस्था र स्तरोन्नति गर्ने मौका नदिने शिक्षाप्रणाली बढी दोषी छ।

त्यसो त त्यत्तिका शिक्षक पनि नपाउने, जीवनभर विद्यालय जान नपाउने, विद्यालय पुगेर पनि भाषाका कारण वा आर्थिक अवस्थाका कारण पढाइ पूरा गर्न नपाउने हजारौं मेरा दौंतरीको तुलनामा मैले पाएको सुविधा धेरै हो। अनुभवका आधारमा हाम्रो शिक्षाप्रणालीबारे यति भन्नु मेरा ती तमाम शिक्षक र विद्यालयप्रति असम्मान होइन।

मेरो सानो छोरा सोध्छ— म गणित सिकौं ?

के अर्थ छ ? मलाई यसो भन्न मन लाग्छ,

तैंले सिक्ने जम्मै हिसाबभन्दा दुई टुक्रा रोटी ज्यादा हुन्छ।

....

मेरो सानो छोरा सोध्छ— के म इतिहास पढौं ?

के काम छ ? मलाई यसो भन्न मन लाग्छ।

धर्तीमा आफ्नो टाउको जोत्न सिक्,

त्यसरी पनि तँ बाँचेकै हुनेछस्।

हो, गणित सिक्, म उसलाई भन्छु,

तेरो फ्रेन्च सिक् र पढ् तेरो इतिहास।

- बर्तोल्त ब्रेख्त


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.