मंगलेश डबरालका तीन कविता
मिडिया विमर्श
उबेला देशमा नयाँ खालको विभाजन भइरहेको थियो
कालो झन् कालो र सेतो झन् सेतो भइरहेको थियो
एकातिर एकथरी मान्छे खानु-पिउनुलाई नै
जीवनको अन्तिम उद्देश्य मानिरहेका थिए
अर्कातिर भोकले तड्पिरहेका मान्छेहरूको भीड बढिरहेको थियो
उदारीकरणको आरम्भमा निजी सम्पत्ति र अग्ला भवनका निर्माता
राष्ट्र निर्माताको सम्मान पाइरहेका थिए
उता, गरिब जहाँ ओत लाग्थे, त्यहाँबाट लखेटिन्थे
देशको ठूलो र शक्तिशाली अखबारले तय गर्यो-
पहिलो पानामा केबल उनीहरूको समाचार छापिनेछ
जो खाने-पिउने वर्गमा पर्छन्
यस्ता स्वादिष्ट समाचार छापिनेछन्
जसले बिहानको चियालाई बनाउनेछैनन् खल्लो
यसरी अखबारको मुखपृष्ठमा
कार, जुत्ता, कपडा, कम्प्युटर, मोबाइल,
फेसन परेड, डिलर, डिजाइनर, मिडियामालिक, मदिरापति
अनि, चुट्की बजाएर धनाढ्य भएकाले प्रवेश गरे
एकजना उद्योगपतिले उद्घोष गर्यो-
‘धेरै भयो गरिबीको रुवाबासी
आउनुस्, अब समृद्धि बढाऔं’
विराट टेबलजसरी फैलिएको थियो देश
जहाँ जारी थियो अन्त्यहीन ककटेल पार्टी
समाजमा जो-जो थिए दुर्दशामा
उनीहरू फ्याँकिए अखबारका भित्री पानामा
रोग, शोक, दुर्घटना, बाढी, अनिकाल, भोकमरी,
विकलांगहरूको वृद्धि, रगतका टाटा
सबै-सबै मिल्काइए अखबारी रद्दी टोकरीमा
किसानहरू भित्री पानाको कुनै कुनामा आत्महत्या गर्थे
आदिवासीका घर उजाडिन्थे कुनै किनारामा
यस्तै उल्लासमय परिवेशमा
एक दिन अखबारको बूढो मालिकले
आफ्नो महलमा अन्तिम सास फेर्यो
ऊ थलिएको सूचना धेरै दिनदेखि
दबाएको थियो अखबारले
बूढो मालिकको मृत्युले
उसका छोराहरूलाई पनि उति दुःखी बनाएन
फेरि, एक युगको अन्त्य
नयाँ युगको आरम्भ पनि त हो
संकट यत्ति थियो- मृत्युको खबरलाई कहाँ कसरी छाप्ने ?
अन्ततः तय गरियो-
मालिकको स्वर्गवास पहिलो पृष्ठको प्रमुख समाचार हुनेछ
ग्राहकको बिहानको चियालाई तमतमाइलो बनाउनुबाहेक
थिएन अर्को विकल्प
यसरी एक दिन खुसीका सारा समाचार
भित्री पानामा पुगे
कपडा, जुत्ता, घडी, मोबाइल, फेसन परेड
सबै किनारामा धकेलिए
शोकले भरियो अखबार
नयाँ युगको आवारा पुँजीले तोड्यो आफ्नो परिपाटी
र, एक दिनका लागि
पुँजी र मुनाफामाथि
मृत्युको जीत भयो ।
छाला
सर्वत्र देखिन्छ छाला नै अचेल
छालामय शरीर छालामय सामान
छालाले बनेको सम्पूर्ण दुनियाँ
रातदिन टीभी देखाउँछ जसका चलायमान दृश्यहरू
छालाप्रति समर्पित सारा चिज
थरी-थरी लेप, प्रसाधन, फिँज, तौलिया झरिरहेछन् आकाशबाट
स्त्री-पुरुष सुन्दर छाला साटासाट गरिरहेका देखिन्छन्
प्रेमको एक पत्रको नाम हो प्रेम
अध्यात्मको खोलजस्तो अध्यात्म
सतह नै सतह प्रत्येक ठाउँमा फैलिएका छन्
यसका नयाँ-नयाँ चमत्कार
सुन्दर सतहमुनि सजिलै छोपिन्छ कुरूप विचार
दिव्य छाला ओढेर प्रकट हुन्छ मुकुटधारी भगवान्
यो अर्कै खालको छाला हो
जो जिउँदो-जाग्दो-धड्किँदो देहबाट
यसको सुन्दरता बनेर उब्जिँदैन
जो फेर्दैन सास
जसको रौं ठाडो हुँदैन
जसलाई महसुस हुँदैन पीडा
यो कबीरको ‘मुई खाल’ होइन
जसको गहिरो सासले फलामलाई भष्म गर्न सक्छ
यो अर्कै छाला हो, जो कसैको पुकार सुन्दैन
जसलाई छुँदा उफ्रिँदैन रगत, पग्लिँदैन हृदय
सतहमै रहन्छ दुःख
मुजाहरूको समुद्रमा विलीन भइरहेको मोटो छालाको नदी
आफूसँगै बगाएर लैजान्छ सुगन्धित प्रसाधन, तौलिया, लेप
यही हो हाम्रो छालामय समय
यही हो हाम्रो निवास
यसैमा नाच्छन् हाम्रा विचार
हेर, रोग-शोक-वृद्धावस्था-मृत्युहीन एउटा कविताको दशा
जो यहाँ छाला जसरी सुक्दै गइरहेको छ ।
पागल आइमाई
लगभग तय थियो-
त्यो आइमाई पागल हो
उसको जीर्ण-शीर्ण हुलिया
फिँजिएका झाँक्रा र रिसाहा अनुहार
पर्याप्त थिए उसको पहिचान तय गर्न
तर बुझ्न कठिन थियो- के बेहोरेकी थिई उसले
चोकको पसलअगाडि उभिएकी थिई ऊ
जहाँ बिहानै वरिपरिका झुपडीका गरिब बच्चाहरू
बहुराष्ट्रिय कम्पनीका चिप्सका प्याकेट किन्न आउँथे
त्यो आइमाईको पछि लागेर आएका थिए
केही भुस्याहा कुकुर
मानौं, उसका शब्द बुझ्न प्रयत्नरत थिए
बुझ्दै नबुझिने भाषामा निरन्तर बर्बराइरहेकी थिई ऊ
कसैले भन्यो- बंगाली हो कि
अर्काेले भन्यो- होइन, मद्रासतिरकी होली
त्यसैले त उसका कुरा बुझिँदैन
एकजनाले भन्यो- हिन्दीभाषी नै हो
तर उसले आफ्नो भाषा बिर्सिसकी
कसैलाई उसले केही पञ्जाबी शब्द बोलेजस्तो लाग्यो
उसलाई के चाहिएको थियो, बुझ्न गाह्रो थियो
ऊ चियातिर इशारा गर्थी
तर, जब हामी उसलाई चिया दिन्थ्यौं
बिस्कुटको पुरियातिर हेर्थी ऊ
बिस्कुट दियो, चिप्सको प्याकेटमा नजर पुर्याउँथी
चिप्स दियो, उसको औंला चियातिर सोझिन्थ्यो
यसरी कैयन् चिजतिर संकेत गर्थी
सडक, हावा, रूख, आकाशतिर हेर्दै बोलिरहन्थी
कहिले लाग्थ्यो- ऊ हावाबाट कुनै चिज खिँचेर
आफूभित्र लिइरहेकी छे
कहिले लाग्थ्यो- उसले आफ्नो कुराको जवाफ पनि सुनेकी छे
र, प्रत्युत्तरमा कसैलाई सरापिरहेकी छे
हामीले सोध्यौं, ‘ए आमा, निरन्तर बोलिरहेकी छौ,
तर केही पनि भनिरहेकी छैनौ
तिमीलाई के चाहिएको छ ? ’
र, यो हाम्रा लागि खेलजस्तो भएको थियो
त्यो बौलाही केही क्षणपछि केही पनि नलिईकन गई
बुझ्न सकेनौं हामीले
यो संसारमा आखिर के थियो उसको संसार
बस् यत्ति कि
ऊ आफ्नो पागलपन जोगाएर राख्न चाहन्थी
तर, उसले आफ्ना क्रुद्ध शब्द गह्रुँगा पत्थरझैं
वरिपरि छोडेर गई
उसका दुर्बोध सरापहरू
चिलसरी हामीमाथि मडारिन थाले
तय हुन सकेन- आखिर ऊ कहाँकी हो
तर, उसका शब्द हाम्रा मनबाट हटेका थिएनन्
सायद ऊ कुनै एक ठाउँकी मात्रै थिइन
सारा ठाउँ र सिंगो देशकी थिई
र, उसको वर्णमाला ती सारा भाषाका
ती शब्दबाट बनेका थिए
जसलाई पागलहरू प्रयोग गर्छन्
ती शब्दमा श्राप दिन्छन्
आफ्नो मानवता व्यक्त गर्छन्
जसलाई हामी जस्ता गैरपागल
कहिल्यै बुझ्न सक्दैनौं ।
(प्रसिद्ध भारतीय कवि मंगलेश डबराल (जन्म सन् १९४८) का कविताका मूल विशेषता प्रतिरोध, सूक्ष्म सौन्दर्यबोध र सरल भाषा हुन् । उनका ‘पहाड पर लालटेन’, ‘घर का रास्ता’, ‘हम जो देखते हैं’, ‘आवाज भी एक जगह है’ कवितासंग्रह प्रकाशित छन् । साहित्य अकादमी पुरस्कारबाट सम्मानित डबराल सिनेमा, मिडिया र संस्कृति विषयमा पनि नियमित कलम चलाउँछन् । )
अनुवाद : विनोदविक्रम केसी