सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ सार्वजनिक
काठमाडौं : सरस्वती ज्ञवालीको आत्मकथामा आधारित ‘लालटिनको उज्यालोमा’ पुस्तक शनिबार सार्वजनिक भएको छ ।
राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त यशोदा तिमिल्सिना, समालोचक प्राध्यापक डा. कृष्णचन्द्र शर्मा, नेकपा एमालेका सांसद बिन्दा पाण्डेले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे ।
अक्षर क्रिएसन्स् नेपालद्वारा प्रकाशित सो पुस्तक दुई सय ४४ पृष्ठको छ । तीन २० रुपैयाँ मूल्य राखिएको पुस्तकमा २८ वटा विभिन्न उपशीर्षक छन् र तिनमा फरक प्रसंग, भोगाइ र अनुभूति समेटिएको छ ।
घरमै बसेर अध्ययन गर्ने वातावरण समेत नपाएकी एउटी नारीले आफ्नो अध्ययनपछि शिक्षिका र राजनीतिकर्मीका रुपमा समाज परिवर्तनका लागि गरेको संघर्षका कथालाई यस पुस्तकमा समेटिएको छ ।
शिक्षा र चेतनाको अभाव रहेका नेपालका पश्चिम पहाडी विकट गाउँमा महिलाको अवस्था र उनीहरुले आफ्नो शिक्षा तथा आधारभूत अधिकार प्राप्तिका लागि गर्नुपरेका संघर्षपूर्ण कठिन परिस्थितिलाई पुस्तकमा उल्लेख गरिएको छ ।
पाल्पाको मदनपोखरामा जन्मिएकी लेखिका ज्ञवालीले २०४० को दशक र त्यसपछिको पाल्पा, गुल्मीसहित त्यस क्षेत्रका नारीको अवस्था र आफैले त्यस समयमा भोग्नुपरेका जागिरे र राजनीतिकर्मीको जीवनका यथार्थ भोगाइलाई पुस्तकमा आत्मकथाका रुपमा उतारिएको छ ।
एकजना राजनीतिक कार्यकर्ताका रुपमा सरस्वतीले एकातिर बुहार्तन र अर्कातर्फ जागिरका साथै संगठन निर्माणको कार्यका अनेक कठिन भोगाइ पुस्तकमा उतारेकी छन् । त्यसमा उनले गुल्मी जिल्लामा महिला संघको गठन र आफू अध्यक्ष भएर संगठन हाँक्नुपर्दाका अप्ठेरालाई पनि समेटेकी छन् ।
त्यस्तै उनले आफ्नो जीवनमा करिब एक दर्जन कार्यालयमा जागिर खाएको तर राजनीतिक पूर्वाग्रहका कारण कहिल्यै स्थायी हुन नसकेको यथार्थलाई पनि आत्मकथाका रुपमा पुस्तकमा लेखेकी छन् ।
लेखिका सरस्वतीले एउटी श्रीमतीका रुपमा आफ्ना राजनीतिकर्मी श्रीमानको सफलता र प्रगतिका लागि आफ्नो जागिर र आकांक्षालाई पनि बिर्सिदिनेगरी निर्वाह गरेको भूमिकालाई पनि आत्मकथाका रुपमा वर्णन गरिएको छ ।
पुस्तकको शीर्षक ‘लालटिनको उज्यालोमा’ लेखिकाले आफ्नो शिक्षिकाको जागिरसँग जोडेर लालटिनकै भएपनि उज्यालोतर्फको यात्राको बिम्बका रुपमा प्रस्तुत गरेकी हुन् ।
पुस्तकको अन्त्यतिर मस्तिष्क पक्षघात भएकी २८ वर्षीया छोरीको जीवनलाई पनि उज्यालोकै रुपमा व्ख्या गरेकी छन् ।
यसरी छोरी, बुहारी, पत्नी, आमाका साथै समाजका अनेक भूमिकासँग एउटी नारी कसरी कामगर्न सक्छे भन्ने बारेमा पुस्तकमा लेखिकाले बयान गरेकी छन् ।
त्यसैगरी एउटी महिलाले घर परिवारसँगै राजनीतिक कार्यकर्ताको उत्तरदायित्वको बहन गर्नेकार्य कसरी सम्भव हुनसक्छ भन्ने अनेक पाटोको प्रस्तुती पनि यस पुस्तकमा निकै रोमाञ्चक रुपमा समेटिएको छ । रासस