'गुट छाडौं पार्टी जोगाऊँ
काठमाडौं : कांग्रेस नेताहरूले नेतृत्व नै गुटबन्दीमा लाग्दा पार्टी कमजोर भएको भन्दै तीव्र आलोचना गरेका छन्। पार्टी जोगाउन मिलेर जानुको विकल्प नभएकाले गुट छाडेर विधानअनुसार अघि बढ्न उनीहरूले नेतृत्वलाई दबाब दिएका छन्।स्वास्थ्य समस्याका कारण लामो समयदेखि पार्टी गतिविधिमा नदेखिएका नेता नरहरि आचार्यले शनिबार केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै सभापति देउवालाई विधानअनुसार अघि बढ्न आग्रह गरे। आचार्यले पार्टी सुधारका लागि चारबुँदे प्रस्ताव राखेका थिए।
उनले विधानअनुसार विभाग र समिति गठन गरेर पार्टीलाई चलायमान बनाउन र महासमिति बैठक बोलाएर विधानमा समयसापेक्ष परिवर्तन गर्न आग्रह गरेका छन्। निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले वाम गठबन्धन बनाएपछि कांग्रेसले त्यसलाई चिर्ने गरी रणनीति बनाउन नसकेकै कारण निर्वाचनमा पराजित भएको दाबी पनि उनले गरे। ‘यो समय आपसमा लड्ने होइन, पार्टीलाई कसरी बनाउने भन्नेमा सबै गम्भीर हुनुपर्ने हो’, बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने।
नेता नवीन्द्रराज जोशीले आपसमै लड्नुभन्दा पार्टीलाई कसरी राम्ररी अघि बढाउने भन्नेमा सोच्न नेतृत्वलाई आग्रह गरे। सभापति देउवाले सबै पक्षलाई समेट्न नसकेकै कारण पार्टीमा गुटगत खेल मौलाउँदै गएको उनले बताए। ‘सभापतिले सबै पक्षलाई समेट्ने प्रयास गरेको भए संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी आउने नै थिएन’, उनले भने। पौडेल समूहमा चिनिएका जोशीले पछिल्लो समय युवाको साथमा कांग्रेस पुनर्जागरण अभियान चलाउने घोषणा गरेका छन्।
‘यो समय आपसमा लड्ने होइन, पार्टीलाई कसरी बनाउने भन्नेमा सबै गम्भीर हुनुपर्ने हो।’
- नरहरि आचार्य
शनिबार बोल्ने अन्य नेता हरिप्रसाद नेपाल, दिलेन्द्रप्रसाद बडू, कल्याण गुरुङ, जीवनबहादुर शाही, गुरुराज घिमिरे र भीमबहादुर बलायरले तत्काल महासमिति बैठक बोलाउन माग गरे। गुरुङले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे भने बडूसहितका नेताले पार्टी सुधारका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। गुरुङले सभापतिको एउटा गुटले विधानविपरीत पार्टी चलाइरहेको आरोप लगाए। गुरुराज घिमिरेले पार्टीमा अराजकता बढेकाले सभापतिकै तहबाट सुधारको पहल हुनुपर्नेमा जोड दिए। शनिबार बोल्ने सबैजसो नेताले गुटगत स्वार्थ हाबी भएका कारण पार्टीको अवस्था कमजोर बनेको टिप्पणी गरे।
बैठकमा शीर्ष नेताहरूको मर्यादाक्रमको विषयलाई लिएर केही समय हो-हल्ला मच्चिएको थियो। बैठक सुरु हुनै लाग्दा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै बसाउन ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेपछि विवाद भएको थियो। कार्कीले प्रस्ताव राखेलगत्तै नेताहरूले एक-एक जनाको भन्दा पनि सबै नेताको एकमुष्ट मर्यादाक्रम तोक्न नेतृत्वलाई आग्रह गरेका थिए।