बलिया टोलीका सहज जित
लन्डन : रुस विश्वकपको पूर्वतयारीस्वरूप शुक्रबार खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बलिया टोलीले सहज जित निकाल्दा साविक विजेता जर्मनी पूर्वविजेता स्पेनसँग बराबरीमा रोकिएको छ। ब्राजिल, अर्जेन्टिना, इङ्ल्यान्ड, पोर्चुगललगायत टोलीले जित निकालेका छन्। फ्रान्सले भने पराजय बेहोरेको छ।
अर्जेन्टिनाले विश्वकपमा छनोट हुन असफल भएको इटालीलाई २-० गोलले पराजित गर्यो। इङ्ल्यान्डको म्यानचेस्टरमा भएको खेलमा सामान्य चोट बोकेका मुख्य खेलाडी लियोनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिनाले इटालीविरुद्ध सहज जित निकाल्यो। अर्जेन्टिनालाई विजयी बनाउन इभर बनेगा र मान्युइल लान्जिनीले एक÷एक गोल गरे। मेसीको अनुपस्थितिमा अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओलीले पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यावसायिक फुटबल खेल्दै आइरहेका जियोभानी लो गेल्सोलाई मुख्य स्ट्राइकरका रूपमा उतारेको थियो।
अर्जेन्टिनालाई खेलको ७५औं मिनेटमा बनेगाले डी बक्सनजिक तीन विपक्षी रक्षकको बीचबाट गोल गर्दै १-० ले अघि बढाएका थिए। त्यसको १० मिनेटपछि नै लान्जिनीले दुई रक्षकको बीचबाट सशक्त प्रहारमा गोल गर्दै अर्जेन्टिनाले २-० को जित पक्का बनाएको थियो।
रक्षा पंक्तिमा कमजोर प्रदर्शन गरेको फ्रान्स भने कोलम्बियासँग ३-२ गोलले पराजित हुन पुग्यो। फ्रान्स कोलम्बियासँग दुई गोलको सुरुआती अग्रता बनाएर पनि पराजय भएको हो। पेरिसमा भएको खेलमा ओलिभर गिरोड र थोमस लेमारले गोल गरेपछि फ्रान्सले खेलको २६औं मिनेटभित्रै २-० को अग्रता बनाएको थियो। यद्यपि फ्रान्सका रक्षकहरूले कमजोर प्रदर्शन गर्दा त्यसपछि लगातार तीन गोल बेहोर्दै युरोकपको उपविजेता टोली फ्रान्स पराजय बेहोर्न पुग्यो।
ब्राजिलले विश्वकपको आयोजक टोली रुसलाई ३-०, इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १-० तथा पोर्चुगलले इजिप्टलाई २-१ गोलले पराजित गर्यो। रुसमा भएको खेलमा चोटग्रस्त नेमारबिना उत्रिएको ब्राजिलले घरेलु टोलीविरुद्ध सहजै जित निकाल्यो। ब्राजिलका लागि जोएओ मिरान्डा, फिलिप कउटिन्हो र पउलिन्होले एक÷एक गोल गरेका थिए। नेदरल्यान्ड्समा भएको खेलमा भने जेसे लिन्गार्डको एक मात्र गोलमा इङ्ल्यान्डले घरेलु टोलीविरुद्ध सहज जित हात पारेको हो। यो विश्वकपमा नेदरल्यान्ड्स पनि छनोट हुन असफल भएको छ।
स्विट्जरल्यान्डमा मोहम्मद सलाहको टोली इजिप्टविरुद्ध एक गोलले पछि परेको अवस्थाबाट फर्कंदै क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले जित आत्मसात् गरेको हो। खेलमा अग्रता इजिप्टले लिएको थियो। खेलको ५६ औं मिनेटमा गोल गर्दै सलाहले इजिप्टलाई खेलमा १-० ले अघि बढाएका थिए। यद्यपि फिफा वर्ष खेलाडी घोषित रोनाल्डोले खेलको इन्जुरी समयमा लगातार दुई गोल गर्दै पोर्चुगलको जित २-१ ले पक्का बनाए। पोर्चुगलका लागि रोनाल्डोले अन्तिम दुई मिनेटमा दुई गोल गरेका थिए।
घरेलु मैदानमा भएको खेलमा विश्व च्याम्पियन जर्मनीले एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै १-१ को बराबरी खेलेको हो। खेलमा रोड्रिगोको गोलमार्फत स्पेन छैटौं मिनेटमै १-० ले अघि बढेको थियो। त्यसपछि खेलको ३५औं मिनेटमा थोमस मुलरले गोल गरेपछि जर्मनी पहिलो हाफमै १-१ को बराबरीमा फर्किएको थियो। यद्यपि त्यसपछिको समयमा थप गोल गर्न नसक्दा जित भने हात पार्न सकेन।