दश घर एक पोखरी निर्माण
सन्धिखर्क : अर्घाखाँचीका युवाहरूले दश घर एक पोखरी अभियान सुरु गरेका छन् । पोखरी मासिएका कारण दिनप्रतिदिन पानीका मुहान सुक्दै गइरहेकाले अभियान चालिएको हो । पोखरीहरू मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिञ्चित हुन नपाएका कारण पानीका मुहानहरू सुक्दै गएपछि प्रकृति संरक्षणको लागि अभियान सुरु गरिएको अभियानकर्मी युवा व्यवसायी कृष्णप्रसाद भुसालले बताए ।
जिल्लामा मोटरबाटो निर्माण गर्ने क्रममा तथा अन्य विकासका कार्यले भएका पोखरी पुरिँदै गएर पानीका मुहान सुकेका हुन् । नगरपालिका र गाउँपालिकाहरूमा पानीका मुहान सुक्न थालेपछि स्थानीय खानेपानीको जोहो गर्न निकै समस्या भोगिरहेका छन् । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि स्थानीयमा खानेपानी हाहाकार भएको छ ।
पानीका मुहान सुक्न थालेपछि स्थानिय पानीका लागि घण्टौं टाढाका पुराना पानीका मुहान धाउन थालेका छन्् । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन्् ।
विद्यालय, सडक, प्रतीक्षालयजस्ता संरचना निर्माण गर्दा पोखरीहरू मासिँदै गएको र यसका कारण मानवजीवनमै प्रत्यक्ष प्रभाव पर्ने खतरा कम गर्न अभियान सुरु गरिएको अर्का अभियानकर्मी, युवा व्यवसायी एवं नयाँ एफएमका स्टेसन म्यानेजर हरिप्रसाद भुसालको भनाइ छ ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गरी पाँच सय पोखरी निर्माण गर्ने लक्ष्य लिएको अभियानले एक सातामा करिब १५ वटा पोखरी निर्माण गरिसकेको छ । यो पोखरी तथा कुवा कहीँ कतैबाट रकम आएर बनाएको नभइ स्थानीय युवाहरूले त्यहाँका बासिन्दालाई पोखरीको महŒव बुझाएर पोखरी बनाउन लगाएका हुन् ।
अभियानलाई निश्चित घेराभित्र मात्र सीमित नगरी देशैभर सञ्चालन गर्नुपर्नेमा अभियानले जोड दिएको छ । जिल्लामा युवाहरूले सञ्चालन गरेको यस अभियानलाइ महŒवका साथ हेरिएको छ ।