बम विस्फोट : ‘दुस्मनसँगै भिड्दा हुन्थ्यो’
सिरहा : बम विस्फोटमा गम्भीर घाइते भएका ७ वर्षीय सतीश यादव शनिबार दिउँसो लहानस्थित सप्तऋषि अस्पतालको बेडमा सुतिरहेका थिए। उनकी आमा देवकुमारी अर्को बेडमा ढल्किएकी थिइन्। त्यही बेला उनलाई भेट्न एक महिला पुगिन्। देवकुमारी उठ्न खोजिन् तर सकिनन्।
आफन्तले देवकुमारीसँग सोधिन्, ‘अहिले कस्तो छ ? ’ देवकुमारीले उत्तर दिइन्, ‘बिहानदेखि बल्ल सुन्न थालें। हिजो त कसले के बोल्यो, मलाई कसले यहाँ ल्यायो, केही थाहा भएन। मलाई खासै केही भएन, सतीशको बायाँ भाग पूरै जल्यो।’
उनी आफैं पनि विस्फोटमा घाइते भएकी हुन्, त्यहीमाथि छोराको अवस्था देखेर पटक–पटक बेहोस् हुन्छिन्। सतीश अझै बोल्न सकेका छैनन्।
देवकुमारीले केही महिनाअघि लहान–७ स्थित विकास ट्रेडर्समा छोराका लागि सुनको ‘हनुमानजी’ बनाएकी थिइन्। सतीशले मालामा हालेको ‘हनुमानजी’ सधैं गलामा लगाउँथे। त्यही सामान मर्मत गराउन उनी छोरा र पतिसहित सुन पसल पुगेकी थिइन्। माला मर्मतका लागि कालिगढ अर्को कोठा हिँडेलगत्तै बम विस्फोट भएको उनले बताइन्।
उनका अनुसार पसलमा सुन किन्नेको भीड थियो। त्यही बेला विस्फोट हुँदा आठ जना घाइते भए। घाइतेमध्ये ६ जना उपचारपछि घर फर्किसकेका छन् भने देवकुमारी र सतीश मात्र अस्पतालमै छन्। ‘म गेटमा उभिएको थिएँ, सतीस पसलभित्रै थियो। श्रीमान् पसलबाहिर’, देवकुमारीले भनिन्, ‘हामीलाई के थाहा कि बम पड्किन्छ ? ’
बम विस्फोटमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ। भनिन्, ‘मेरो छोरोको के गल्ती थियो ? कसको के बिगार गरेको थियो ? जोसँग दुस्मनी छ उहीसँग जुध्दा (लड्दा) हुन्थ्यो नि !’
उनले आफूसँग एक पैसा पनि नभएकाले उपचार खर्च कसरी तिर्ने भनेर चिन्ता लागेको बताइन्। भनिन्, ‘डेढ लाख ऋण लिएर श्रीमान् एक महिनाअघि कतार पुग्नुभयो। तर, त्यहाँ मेडिकलमा फेल भएपछि घर फर्किनुभएको छ।’ गरिबलाई भगवान्ले पनि साथ नदिएको उनको गुनासो छ।
अस्पतालका अनुसार उपचारमा २० हजार रुपैयाँको बिल बनेको छ। तर, उपचार जारी रहेकाले खर्च बढ्न सक्ने जनाइएको छ। देवकुमारीले खर्च रकम जुटाउन पहल गरिदिन आग्रह गरिन्। खाना पनि अस्पतालछेउको होटलमा उधारो खाने गरेको उनले बताइन्।
विरोधमा उत्रिए उद्योगी
सुन पसलमा बम विस्फोट भएको घटनाको विरोधमा शनिबार उद्योग वाणिज्य संघको आह्वानमा लहान बजार बन्द भएको छ। संघले माइकिङ गरी एक दिन बजार बन्द गर्न आह्वान गरेपछि शनिबार अधिकांश ठूला पसल खुलेनन्। चिया र पान पसल मात्र खुलेका थिए। सुनचाँदीका सबै पसल ठप्प रहे। अचानक पसल बन्द भएपछि किनमेल गर्न गाउँ–गाउँबाट लहान आएका हजारौं उपभोक्ता रित्तै फर्केका थिए।
संघका अध्यक्ष सुनील महतोले बम विस्फोटमा संलग्न दोषी पहिचान गरी कडा कारबाही र व्यापारीलाई सुरक्षा प्रत्याभूति गराउन स्थानीय प्रशासनसँग माग गरे। भने, ‘दिन–प्रतिदिन व्यापारी असुरक्षित बन्दै गएका छन्। प्रशासन व्यापारीको सुरक्षा प्रदान गर्न संवेदनशील हुनुपर्छ।’
लहानमा शृंखलाबद्ध बम विस्फोटका घटना हुन थालेपछि व्यापारीमा त्रास फैलिएको छ। चन्दा माग्ने र नदिएपछि बम विस्फोट गराउने गरेको व्यापारी बताउँछन्। तीन महिनाभित्र लहानका तीन ठाउँमा बम विस्फोटका घटना भएको छ। तर, प्रहरीले अहिलेसम्म बम विस्फोटका दोषी एक जना पनि पक्राउ गर्न सकेको छैन।