बिनादाइजो बिहे
वीरगन्ज : पकाहामैनपुर गाउँपालिका मधुवनीका त्रिलोकीप्रसाद पटेल र धोरेकी रिना मेहताको बिनादाइजो अन्तरजातीय विवाह भएको छ ।
वीरगन्जस्थित गीता मन्दिरमा शनिबार वरबधु दुवै पक्षका अभिभावकको उपस्थितिमा हिन्दु धार्मिक विधिअनुसार त्रिलोकी र रिनाको विवाह भएको हो । प्रमाणपत्र तह अध्ययनपछि अमेरिका पुगेका त्रिलोकी कोलोरिडास्थित फ्रन्ट रेन्ज कम्युनिटी कलेजमा स्नातक अध्ययनरत छन् । रिना भने स्नातक तहको अध्ययन सकाएर वीरगन्जको माईस्थान विद्यापीठ माविमा अध्यापन गर्छिन् ।
‘जब बिहेको कुरा घरमा राखें, बुवाआमाले मान्नुभएन । किनकि, हामी दुईको जात फरक थियो । त्यसमा पनि दाइजो नलिने भनेपछि त उहाँहरूले मेरो कुरै सुन्न चाहनुभएन’, त्रिलोकीले भने, ‘धेरै सम्झाइबुझाइ गरेपछि मात्र उहाँहरू हाम्रो बिहेका लागि राजी हुनुभएको हो ।’
केटा फरक जातको भएका कारण अभिभावकलाई रिझाउन निकै संघर्ष गर्नुपरेको रिनाले बताइन् ।
त्रिलोकीका बुवा रामधारी राउत कुर्मीले भने, ‘जेठोजस्तै माइलो छोराको पनि टन्नै दहेज लिएर धुमधाम बिहे गरिदिने धोको थियो तर छोराको खुसीलाई मैले नकार्न सकिनँ ।’ यसरी अन्तरजातीय बिहे गर्न दिएकोमा प्रशंसा भइरहेकाले आफूले लिएको निर्णय ठीक भएको अनुभूति भइरहेको उनले सुनाए ।
प्रदेशसभा सदस्य राजेश्वर साह तेली र पकाहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष किश्मतिया देवीले विवाहमण्डपमै आएर बेहुलाबेहुलीलाई शुभकामना तथा बधाई दिएका थिए । दाइजोबेगर बिहे गरेका त्रिलोकी र रिनालाई शनिबार विवाहमण्डपमै सम्मान पनि गरिएको छ । दाइजो तथा बाल विवाहविरुद्धको राष्ट्रिय अभियानले उनीहरूलाई सम्मान गरेको हो ।
वीरगन्जको गीता मन्दिरमा दाइजोबिना विवाह गरेका बेहुली रिना र बेहुला त्रिलोकी । क्रान्ति शाह