लोप हुँदै चैतलो
बैतडी : हातमा लिएको हुड्को डमडम बज्छ, अनि बैतडीको सुर्नया गाउँपालिकाका जैमल दमाई र उनकी श्रीमती मानमति दमाई सुरिलो भाकामा चैतलो गाउन सुरु गर्छन्। शान्त रहेको वातावरण एकैछिनमा चैतलो र हुड्काको आवाजले गुञ्जायमान हुन्छ, गाउँलेहरु चैतलो सुन्नका लागि एकाग्र हुन्छन्।
चैत महिनाको शुरुवात भएसंगै जैमल दम्पत्ती दिनभरी चैतलो सुनाउनमै व्यस्त रहेका छन्। उनीहरु सुर्नया गाउँपालिकाको रौलेश्वर र शंकरपुरका धेरैजसो घरधुरीमा पुगेर चैतलो सुनाउने गर्दछन्। जैमल भन्छन् ‘पूर्खाहरुको पालादेखि हामीले चैत महिनामा चैतलो सुनाउने चलन छ तर अहिले लोप हुन थालेको छ। म मात्रै चैतलो सुनाउने गर्छु। अरुले चैतलो नै गाउन छोडीसके।’
चैत महिनामा वसन्त ऋतुको बखान, दाजुभाईले दिदी बहिनीहरुलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा चैतलो मार्फत सुनाउने गरिन्छ। बिशेष गरेर सुदूरका बैतडी र दार्चुलामा चैतको महिना चैतलो सुनाउने चलन रही आएको छ।
हुड्को बजाउँदै चैतलो गाउन थालेपछि धेरै जसोको आँखा समेत रसाउँछन्। जैमल दम्पत्तीले चैतलो मार्फत भाईले बहिनीलाई भेट्न नपाएको र कसैको भाई अथवा बहिनी नभएको प्रसंग सुरिलो स्वरमार्फत पस्किने गरेका छन्।
जब हुड्कोको आवाज अनि जैमल दम्पत्तीले न्याउली चरीलाई नबोल्न, चैतको महिना नै नआइदिए माइतीको याद आउने थिएन, माइतीबाट टाढा रहँदा छोरीले भोग्नुपरे पीडा चैतलो मार्फत सुरिलो स्वरमा गाउँदा स्थानीयबासी भावुक बन्ने गरेको सुर्नया ६ शंकरपुरका मुरलीप्रसाद अवस्थीले बताए।
सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारकी जयन्ती अवस्थीले भनिन् ‘चैतलोमा गाइने गीतले माइतीको याद मात्रै दिलाउँदैन माइतसंग छुटिएको पीडा प्रष्ट झल्काउँछ। त्यसमा पनि गीत मार्फत माइतीको याद दिलायो भने आँसु नआउने कुरै भएन।’
चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बाजासंगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चैतलो हो। जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपैया र अन्य वस्तुहरु दिने चलन रही आएको छ। खास गरेर दमाइहरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएकाले लोप हुन थालेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए। उनले भने ‘हामीले चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको बारेमा महत्व नै दिन सकेका छैनौं। फलस्वरुप चैतलो लोप हुने अवस्थामा पुगेको छ।’
चैतलोमा बिशेष गरेर कालीनाग र उसकी पत्नीसंग जोडिएको कथा भन्ने गरिएको जैमल दमाइले बताए। उनले भने ‘परापूर्व कालमा रानादेउ नामका राजाकी छोरीको विवाह कालीनागसंग गरिएको र कालीनागको डरले छोरीलाई भेट्न माइतबाट कोही जान नसक्ने तर उनलाई माइतीको धैरे याद आउने कुरा समेटिने गर्दछ।’
त्यति मात्रै नभएर रानादेउका छोरा साधुवालाले आफ्नी दीदीको बारेमा थाहा नपाउँदा साथीहरुले बिना दिदीबहिनीको भाई भनेर गिज्याउँदा सहनु परेको पीडा पनि चैतलोमा गीत मार्फत भन्ने गरिन्छ। त्यसैबेलादेखि चैतको महिना दाजुभाईले दीदीबहीनलाई भेट्ने चलन चलेको जैमल दमाइले बताए। ‘यो अलिखित इतिहास हो। तर यो इतिहास जोगाउन कसैले ध्यान दिन सकेका छैनन्। चैतलोमा समेटिएको इतिहास अब लगभग लोप भइसकेको छ। यूवा पिंढीले यसको संरक्षणमा ध्यान दिएको छैन्।’उनले भने, ‘यस्ता संस्कृति जोगाउन सरकारको पनि ध्यान जानुपर्छ। न त यो किताबमा छ न कुनै अन्य ग्रन्थमा, यो हाम्रो मुखमा छ। तर यसको जगेर्ना गर्न राज्यले केही न केही पहल गर्नुपर्छ ? ’
पहिला पहिला चैतको महिनामा गाउँगाउँमा चैतलोको रौनक हुन्थ्यो। गाउँगाउँमा हुड्कोको आवाज र चैतलो गीतले गाउँ नै गुञ्जायमान हुन्थ्यो तर पछिल्लो समयमा चैतलो सुन्न खोजी खोजी जानुपर्छ। शंकरपुरका नवराज अवस्थीले भने, ‘अहिले हाम्रो गाउँमा जैमल दम्पत्तीले मात्रै चैतलो गाउने गर्दछन्।’
बैतडी र दार्चुलाका धेरै ठाउँमा गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको दार्चुलाको बोहरीगाउँका गंगासागर जोशीले बताए। उनले भने ‘पहिला पहिला सूदुरका डेउडा गीतमा चैतको महिनामा गाउँमा हुड्का बज्छन् भन्ने कुरा समेटिन्थ्यो तर अहिले गीतमा राखिएका शब्द विपरीत हुड्को बाजा र चैतलो लोप हुँदै गएको छ।’