काठमाडौंको दुई रूप उपन्यासमा
काठमाडौं : संगीतकार अम्बर गुरुङका चेला थिए। गितार राम्रै फिट्थे। सन् १९६० को दशकमा दार्जिलिङमा चर्चित ब्यान्ड ‘रक एन रोल’का नाइके नै थिए। आख्यानकार इन्द्रबहादुर राईकै पथमा थिए। राईले जसरी नै नेपालीमै लेख्थे। फरक कोणबाट सोच्थे, बुझ्थे। उनले लेखेको पहिलो उपन्यास ‘प्रत्येक ठाउँ ः प्रत्येक मान्छे’ले नेपाली साहित्यमा उल्लेखनीय स्थान बनायो। साझा पुरस्कार पनि पायो। समयक्रममा संगीत छोडे। आईबी राईको बाटो पनि छोडे। हालै दिवंगत भएका राई र श्रेष्ठको स्मरण गर्दै उनले छोडिएका बाटाहरू सम्झिए, ‘संगीत पनि छोडियो, आईबी राईको बाटो पनि छोडियो।’ तर, लेखन छोडेनन् अथवा लेखनले उनलाई छोडेन।
शनिबार अंग्रेजी भाषामा लेखिएको आफ्नो उपन्यास ‘काठमान्ड्रुइड्स’को विमोचनमा हिँडिसकेको जीवन सम्झिँदै थिए, पिटर जे. कार्थक।करिब १० वर्ष लाग्यो उनलाई यो उपन्यास लेखिसक्न। सन् २००७ मा एउटा सानो कथा लेखेका थिए, अंग्रेजीमै। प्रकाशित पनि भयो त्यो। त्यसैलाई लम्ब्याउँदा लम्ब्याउँदा एउटा उपन्यासिका नै तयार भयो। तर, त्यो कथा थियो आधुनिक बन्दै गरेको काठमाडौंको जहाँ केवल विघटित हुँदै गरेका मूल्यमान्यताका तस्बिरहरू मात्र थिए। ‘मलाई काठमाडौंको त्यो दृश्यमात्र मन परेन।
यो नेपाल मण्डलको इतिहास, यसको सभ्यता, यहाँका मिथकहरू पनि लेखिनुपर्छ भन्ने लाग्यो’, कार्थक सम्झन्छन्। त्यही बोधले अर्को उपन्यासिका तयार भयो नेपाल मण्डलको ऐतिहासिकता बयान गरेर। यी दुवै कथाको संयोजन हो— काठमान्ड्रुइड्स। लेखककै शब्दमा ‘दुई नदीको कथा जुन अन्ततः एकै संगममा भेट हुन्छन्।’
शनिबार आयोजित विमोचन समारोहमा कार्थकको लेखनशिल्प र कथावस्तुबारे लामो चर्चा गरे लेखक सीके लालले। भने, ‘उपन्यासमा काठमाडौंका दुई थरी सम्भ्रान्तको कथा छ।’ एउटा, सम्भ्रान्त वंशजको निरन्तरता कायम राखिरहन चाहेको र अर्को, निम्नमध्यम वर्गबाट सम्भ्रान्त बन्न कोसिस गरिरहेको, जोसँग पैसा र शक्ति छ तर सम्भ्रान्त संस्कृति छैन। यो दुईथरी सम्भ्रान्त वर्गको कथासँगै काठमाडौंकै दुई कथा उपन्यासमा समेटिएको लालले बताए। उपन्यास लेखनमा तथ्य र अनुभूति दुवैलाई सँगसँगै लैजान खोज्दा केही जटिल बनेको पनि उनले टिप्पणी गरे।
त्यस्तै टिप्पणी थियो, द काठमान्डु पोस्ट्का सम्पादक अखिलेश उपाध्यायको। ‘यो महत्वाकांक्षी परियोजना हो’, उपाध्यायले टिप्पणी गरे। काठमाडौंलाई स्वर्णीय भूमि र पतीत भूमि दुवै हिसाबले हेरिएको उनले बताए। उपाध्यायको ठम्याइमा उपन्यासको कथा सरल छैन। हरेक कथा थुप्रै उपकथाहरूसहित जेलिएर आउँछन्। र, उपाध्यायको बुझाइमा ‘यही नै उपन्यासको सौन्दर्य हो।’
निबन्धकार शेखर खरेल भने कार्थकको काठमाडौं बुझाइलाई पर्गेल्न खोज्दै थिए। कार्थक सन् १९६० को मध्यतिर काठमाडौं आए। नारायणगोपाल, शंकर लामिछाने, भूपि शेरचनजस्ता त्यो बेलाका भेट्रानसँग संगत गरे। यहाँका स्कुल, कलेजमा पढाए। टुरिस्ट गाइड बने। ‘द हिमालयन टाइम्स’, ‘द काठमान्डु पोस्ट’ र ‘रिपब्लिका’को सम्पादन टिममा बसेर काम गरे। ‘पिटर काठमाडौंका इनसाइडर र आउटसाइडर दुवै हो।
उहाँले काठमाडौंको मर्फोलोजी र एनाटोमी दुवै बुझ्नुभएको छ’, बाहिरबाट आएका र यहीँ रहेबसेका कारण होला, खरेलले निचोड निकाले। उपन्यासमा कार्थकले काठमाडौंका र काठमाडौं बारेका मिथकहरूको पुनर्संरचना गरेको खरेलको टिप्पणी थियो।
उपन्यासकार कार्थक, सम्पादक उपाध्याय, निबन्धकार खरेल र लेखक लालले संयुक्त रूपमा विमोचन गरेको उपन्यास बुक हिलले प्रकाशन गरेको हो।