धनगढी प्रिमियर लिगका एक महत्वपूर्ण खेलाडीलाई गोल्डेन बुट
काठमाडौं : चैत १७ गतेदेखि धनगढीमा सुरु हुने दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको ‘मोस्ट भ्यालुएवल प्लेयर’ ले गोल्डेन बुट (सुनको जुत्ता) पुरस्कार पाउने भएको छ। डीपीएलको मोस्ट भेलुएबल खेलाडीलाई किरण सुज म्यानुफ्याक्चर्सको मुख्य उत्पादन गोल्ड स्टार जुत्ताले गोल्डन बुट प्रदान गर्ने भएको हो। चाँदीमाथि सुनको लेपन लगाइएको गोल्डेन बुट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिने आयोजकले जनाएको छ।
म्यान अफ दी सिरिजका लागि भने छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। डीपीएलका लागि गोल्ड स्टार जुत्ताले प्रतियोगितामा सहप्रायोजनसमेत गरेको छ। प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा र डीपीएलका सञ्चालक सुवास शाहीले हस्ताक्षर गरे। सम्झौताअनुसार गोल्ड स्टारले डीपीएलका लागि १६ लाख रुपैयाँ सहयोग गर्नेछ। जसमा नौ लाख नगद र सात लाख रुपैयाँबराबरको जिन्सी हुने जानकारी निर्देशक विदुषीले दिइन्।
‘लोकप्रिय खेल क्रिकेटमा सहयोग गर्न पाउनु कम्पनीका लागि खुसीको कुरा हो’, विदुषीले भनिन्। वैशाख १ गतेसम्म सञ्चालन हुने डीपीएलमा विभिन्न ६ सहरका फ्रेन्जाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डन्सबीच प्रतिस्पर्धा हुनेछ। लिगको विजेता टोलीले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि १० हजार रुपैयाँ पुरस्कार पाउनेछ। म्यान अफ दी सिरिजलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ।