एन्फा निर्वाचन स्थगित
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १४ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि निर्वाचन स्थगित भएको जनाएको छ ।
बिहीबार ललितपुर उच्च अदालतले निर्वाचन तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरेको एन्फाले उल्लेख गरेको छ । जिल्ला निर्वाचन र प्रतिनिधिका विषयमा भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले आदेश दिएको थियो ।
भक्तपुर र मकवानपुरले आफूहरूलाई निर्वाचनमा सहभागी गराइनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । एन्फाले गतिरोध अन्त्यका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को निगरानी र सहयोग तथा अदालतको समेत सम्मान हुनेगरी निर्वाचन गर्ने पनि जनाएको छ ।
अदालतले निर्वाचन गर्न रोकेपछि फिफाले शुक्रबार मात्र तोकिएको समयमा निर्वाचन नगरे एन्फालाई गाह्रो हुने बेहोराको पत्र पठाएको थियो । एन्फाको पछिल्लो अवस्थाबारे बुझ्नका लागि एएफसीका प्रतिनिधि पनि सोमबार नेपाल आउने बताइएको छ । निर्वाचन गराउन आउन लागेको प्रतिनिधिले नेपाली फुटबलको पछिल्लो अवस्थाबारे बुझेर फर्कने एन्फाका प्रवक्ता सञ्जीव मि श्रले बताए ।